इजरायल र इरानमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ असार ५ बिहिबार
1.9k
Shares
काठमाडौं। नेकपा (एमाले) की राष्ट्रिय सभा संसदीय दलकी नेता भगवती न्यौपानेले इजरायल र इरानबीच चर्किएको द्वन्द्वका कारण त्यहाँ रहेका नेपालीहरूको सुरक्षामा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी छन्। बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले उक्त आग्रह गरेकी हुन्।
सांसद न्यौपानेले इजरायलमा करिब सात हजार र इरानमा एक दर्जन नेपाली रहेको तथ्यांक सार्वजनिक भएको जानकारी दिइन्। उनले सरकारले नेपालीहरूको सुरक्षाका लागि केही पहलकदमी र चासो देखाएको, श्रम मन्त्रालयको आयोजनामा सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूको बैठक बसेको र तेलअभिवस्थित नेपाली दूतावासले नेपालीहरूको विवरण संकलन गरिरहेकोमा सकारात्मक रहेको बताइन्।
"म जोड दिएर भन्न चाहन्छु, नेपाल सरकारले नेपालीहरूको सुरक्षामा ध्यान देओस्," न्यौपानेले भनिन्, "आउन चाहने नेपालीहरूलाई ल्याउने व्यवस्था गरियोस्, त्यहाँ रहनेहरूको लागि सुरक्षाको व्यवस्था होस् भन्ने कुरामा म जोड दिन चाहन्छु।"
उनले मानव स्वास्थ्यलाई ध्यान नदिई मानव पुँजीमा विकास गर्न नसकिने भन्दै नागरिकको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्न पनि सरकारको ध्यानाकर्षण गराइन्।