राष्ट्रिय सभामा मन्त्रीहरूले जवाफ दिने, विनियोजन र नागरिकता विधेयकमाथि छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ असार १७ मंगलबार
2k
Shares
काठमाडौँ। राष्ट्रिय सभाको बैठक आज दिउँसो १२ः१५ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा विभिन्न महत्त्वपूर्ण एजेन्डाहरूमा छलफल हुने कार्यसूची तय भएको छ।
आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ। विशेषगरी, सातवटा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, र राष्ट्रिय योजना आयोगको सचिवालयका विनियोजन शीर्षकहरूमाथि बहस हुनेछ।
यसैगरी, यसअघि ११ वटा मन्त्रालयको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘नागरिकता विधेयक–२०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन्। साथै, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पनि पारित गरिनेछ। सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रका बारेमा सदनलाई जानकारी गराइने पनि संसद् सचिवालयले जनाएको छ।