arrow

अनुमति बिना असी प्रतिशत आइभीएफको काम

अवैध सञ्चालित वात्सल्य बुटवल क्लिनिकले समाचार हटाउन पठायो खण्डन पत्र

logo
नारायण वली,
प्रकाशित २०८२ असार २१ शनिबार
vatsalya-ivf clinic-4.jpg

लुम्बिनी । बुटवल उपमहानगरपालिकाबाट सामान्य परामर्श र ओपिडी सेवा अनुमतिको व्यवसाय दर्ता गरेको वात्सल्य बुटवल क्लिनिकले आईभीएफ सम्बन्धी सेवा सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयबाट लिनुपर्ने  सञ्चालन अनुमति पत्र नलिएर गैरकानूनी तरिकाले चलाएको विषयमा लेखिएको समाचार हटाउन आग्रह गर्दै खण्डन पत्र जारी गरेको छ । 

उपमहानगरबाट सामान्य परामर्शको अनुमति लिएर विशिष्टकृतको आईभीएफ र आईवाई सम्बन्धी सेवाहरु दिँदै आएको क्लिनिकसँगै संघीय स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमति नलिई बुटवलमा अन्य आइभीएफहरु सञ्चालन भएको समाचार असार २० गते बिहान हाम्राकुरा डटकममा 'स्वास्थ्यमाथि गम्भीर खेलबाडः बुटवलमा अनुमति बिनाका आईभीएफ सञ्चालनमा, प्रशासन बेखबर कि मौन ?' भन्ने शीर्षकमा छापिएको समाचारप्रति वात्सल्यले एक खण्डन पत्र पठाएर समाचार सच्याउन वा हटाउन आग्रह गरेको हो ।    

बुटवल उपमहानगरपालिका वडा ८ श्रवन पथमा रहेको क्लिनिकमा आईभीएफ सम्बन्धी ८० प्रतिशत कार्यहरु गरिँदै आएको तथ्य हाम्राकुरासँग सुरक्षित छन् । खण्डनमा काठमाडौंस्थित वात्सल्य र बुटवलको वात्सल्य दुई फरक कानूनी संस्था भएको उल्लेख गरिएकोमा सोही खण्डन पत्रमा काठमाडौंकै वात्सल्यको बेबसाइट हालिएको छ । यतिमात्रै होइन, दुई फरक संस्था हुन् भन्ने दाबी भनाईलाई चिर्नसक्ने कल सेन्टर टेलिफोन डाइबर्ड, बेबसाइट र कुराकानी गरिएको रेकर्ड तथ्यहरु छन् । 

बुटवल उपमहानगरपालिका वडा न-८ श्रवन पथमा रहेको क्लिनिकमा सेवा लिएर बाहिरीएकालाई सोधपुछ गर्दा संस्थाले सेवाका बारेमा कुनै पनि कुराहरु बाहिर नबोल्न भनेको बताउँदै आफूहरुले त्यहीबाट सेवा लिइरहेकाले पछि अप्ठ्यारो पर्नसक्ने भन्दै बोल्न चाहेनन् ।

जनस्वास्थ्य सेवा नियमावली २०७७, जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६३ ले प्रदान गरेको अधिकारको नियम १२ को उपनियम (२) सँग सम्बन्धित स्वास्थ्य संस्थालाई इजाजत दिने निकायबाट अनुमति तथा नवीकरण गर्नुपर्ने व्यवस्था स्पष्ट उल्लेख गरेको छ । यस विषयमा वात्सल्य बुटवल क्लिनिकका मार्केटिङ बताउने नवीन विष्टले आफूहरुले बुटवल उपमहानगरपालिकामा दर्ता गरी अनुमति लिएको बताएका छन् ।

हाम्राकुराडटकममा प्रकाशित समाचारप्रति खण्डन पठाउने आफू भएको बताउने मार्केटिङ विष्टले पत्रमा सामान्य परामर्श, प्रारभ्मिक परीक्षण र विशेषज्ञ चिकित्सकहरुसँगको भेटघाट गरिने भएकाले समाचार पूर्णरुपमा झुटो र भ्रामकको संज्ञा दिएको विषयको जवाफसवालका क्रममा हाम्राकुराकर्मीले विशेषज्ञ सेवा सञ्चालन गर्न, तपाईहरुले चलाई रहेको आईभीएफ र आइवाईका सेवा विस्तार गर्न कुन निकायबाट अनुमति लिनुभएको छ र ? भन्ने जिज्ञासामा बुटवल उपमहानगरमा दर्ता गरेको र अन्य निकायबाट अनुमति नलिएको जवाफ दिए । 

मार्केटिङ बिष्टसँग भएको टेलिफोन संवादमा आईवाइ सम्बन्धि काम सबैले गर्दै आएको बताउँदै घुमाउरो रुपमा आफुहरुले पनि गर्दै आएको रहस्य खुलाए । खण्डन पत्रमा सामान्य परामर्श गर्ने र अन्य सेवाका लागि काठमाडौँस्थित वात्सल्य नेचुरल आईभीएफ केन्द्रमा रिफर गरिने पत्रमा उल्लेख गरे पनि २० प्रतिशत उपचार सेवाका लागि काठमाडौं पठाइने खुलेको छ । 

समाचारमा व्यवसाय दर्ता नगरेर आईभीएफ सेन्टरहरु सञ्चालन गरेको भन्ने आशय नभई आईभीएफ सञ्चालनका लागि संघीय स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमति लिनुपर्नेमा नलिएर सञ्चालन हुँदै आएको बिषयलाई उठाइएको छ । तर वात्साल्यले पठाएको खण्डनमा सञ्चालन अनुमतिको विषयलाई बङ्गाएर व्यवसाय दर्ता नगरेर चलाएको भन्ने गलत शब्दलाई विषयान्तर गर्न खोजिएको छ । 

वात्सल्यले आईभीएफ सम्बन्धि सेवा अन्तर्गत पुरुष (श्रीमान) को शुक्रकिट निकालेर महिला (श्रीमती) को डिम्बासयमा मिलाएर राख्ने वाइवाइ सेवा र भ्रुण राख्नुपूर्व महिलालाई लगाईने इन्जेक्सन लगायत ८० प्रतिशत कार्य क्लिनिकबाटै गरिने र बाँकी २० प्रतिशत अण्डा पिकअप गर्न र भ्रुण ट्रान्सफर गर्नलाई काठमाडौँस्थित वात्सल्यमा पठाउने गरेको काठमाडौँ र बुटवल क्लिनिकमा कार्यरत दुई छुट्टाछुट्टै कर्मचारीसँग गरिएको कुराकानीको रेकर्ड हाम्राकुरासँग छ । 

यसरी आइभीएफ सञ्चालनको लागि संघीय स्वास्थ्य मन्त्रालयमा दर्ता गरेर मात्रै सञ्चालन गर्नुपर्ने प्रावधान रहेको बेला वात्सल्यले आफूले गर्दै आएको गल्तीहरु ढाकछोप गर्ने उद्देश्यले समाचारलाई गलत ब्याख्या गरेको पाइएको छ । खण्डनमा काठमाण्डौंस्थित वात्सल्य र बुटवलस्थित वात्सल्य क्लिनिक दुईवटा फरक कानुनी संस्था भएको लेखिएकोमा हामीसँग भएको प्रमाणले दुई संस्था एउटै भएको जनाइएको छ । 

बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख युवराज पाण्डे भन्छन्, 'वात्सल्य आईभीएफ लगायत धेरै आउनु भएको थियो । हामीले यो विशिष्टकृतको सेवा भएकाले संघीय स्वास्थ्य मन्त्रालयबाट अनुमति लिनुपर्ने सुझाव दिएर पठाएका हौँ । उपमहानगरले परामर्श र ओपिडी सेवा मात्रै सञ्चालन गर्न दर्तासँगै अनुमति दिएको हो ।' उनले उपमहानगरले डी र सी स्तरको प्रगोगशाला सञ्चालन गर्न अनुमति दिने तर एबीसीस्तरको प्रयोगशाला सञ्चालन अनुमति संघीय मन्त्रालयबाट दिनुपर्ने प्रष्ट पारे । 

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रोशनलाल चौधरीले वात्सल्य बुटवल क्लिनिकले विशेषज्ञ सेवा सञ्चालनका लागि निर्देशनालयमा दर्ता वा कुनै अनुमति नलिएको जिकिर गरे । 

यता आईभीएफ सञ्चालनका लागि जनस्वास्थ्य सेवा ऐनका उल्लेखित नीति, नियम अन्तर्गत संघीय स्वास्थ्यबाट सञ्चालनबाट अनुमति नलिएर चलाउन नपाइने मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले बताएका छन् ।

डा. केसीले आईभीएफ सञ्चालनका लागि सम्बन्धित निकायबाट मान्यता नपाउँदासम्म खोल्न नहुने बताउँदै शाखा खोल्दा पनि शाखाले दिने सेवाहरुको पहिचान गरी अनुमति लिनुपर्छ । पालिकामा दर्ता गरेर मात्रै आईभीएफका अन्य सेवाहरु चलाउनु गैरकानूनी मानिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ