मधेसको खानेपानी र सिँचाइ समस्यामा सरकार पन्छिन मिल्दैन: सांसद सुवेदी
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ११ आइतबार
1.8k
Shares
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले मधेसको खानेपानी तथा सिँचाइको समस्या समाधानका लागि सरकारले कागजी घोषणा गरेर मात्र पन्छिन नमिल्ने बताएका छन्। राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै उनले मधेसको खडेरी समस्या समाधान गर्न सरकारले प्याकेजसहितको कार्यक्रम ल्याउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए।
सांसद सुवेदीले सरकारले एक वर्षमा जनहितका केही उपलब्धि प्राप्त गर्न नसकेको आरोप लगाए। उनले सरकार गठनका बेला भएको सात बुँदे सहमति कार्यान्वयन नभएको र हुन नसक्ने टिप्पणी पनि गरे। जनताको आधारभूत सेवा र सुविधा सुनिश्चित गर्न राज्य पूर्णतः असफल भएको उनको आरोप छ।
सुवेदीले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने, "सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईं जस्तो दुई तिहाइको प्रधानमन्त्रीले रोजगारीको अवसर सिर्जना गरेर गरिबी न्यूनीकरण गरेको खोई? सक्रिय जनशक्ति पलायन हुनबाट किन रोक्न सक्नुभएन?"
उनले थपे, "मधेसका नागरिकहरूलाई खानेपानी तथा सिँचाइका लागि पानी उपलब्ध गराउने कागजी घोषणाले मात्रै सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन। सरकारले ठोस राहत प्याकेजको व्यवस्था गर्न सम्माननीय अध्यक्षज्यूमार्फत नेपाल सरकारलाई आग्रह गर्दछु। लागू नभएका र नहुने सरकारका सात बुँदाको म यहाँ चर्चा गर्न चाहन्न। जनताले के खोजेका थिए र यो एक वर्षमा के भयो? नेपाली जनताले अर्थतन्त्रमा सुधार खोजेका थिए तर सरकारले सुधार गर्न सकेन। रोजगारीको माग गरे सरकारले वास्ता गरेन। निःशुल्क औषधोपचार पाउने गरी जनताको इच्छा समेत पूरा भएन। दलालबाट मुक्ति खोजेका जनताले त्यो पनि पाएनन्। राज्यले तोकेको सेवा जनताले उपभोग गर्न पाएनन्।"
सांसद सुवेदीले मुलुकमा सुशासन कायम गर्दै आर्थिक समृद्धि र रोजगारी सिर्जनामा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए।