बैतडी। अविरल वर्षासँगै खसेको पहिरोले बैतडी र बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ। सिगास गाउँपालिका–९, रमिलापुरमा सडकमा ठूलो पहिरो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयका अनुसार, राजमार्ग अवरुद्ध हुँदा सवारी साधनहरू र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।
बेलाबेलामा पहिरो खस्ने भएकाले यो राजमार्गमा यातायात अवरुद्ध हुनु सामान्य जस्तै भएको छ। अहिले अवरुद्ध राजमार्ग खुलाउनका लागि प्रयास भइरहेको प्रवक्ता पाण्डेयले जानकारी दिएका छन्।