राष्ट्रिय सभामा सांसदहरूका मागः मल, जेष्ठ नागरिक भत्ता र कारागार सुधार
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
2.2k
Shares
काठमाडौँ। राष्ट्रिय सभाको शून्य समयमा सांसदहरूले किसानलाई तत्काल मल उपलब्ध गराउनुपर्ने, जेष्ठ नागरिकलाई भत्ता वितरण सहज बनाउनुपर्ने, र कारागारहरूको अवस्था सुधार गर्नुपर्ने लगायतका मागहरू राखेका छन्।
सांसद गोपीबहादुर सार्की अछामीले वार्षिक १५ लाख मेट्रिक टन मल आवश्यक भए पनि तीन लाख मेट्रिक टन मात्र उपलब्ध भएको र पाँच लाख मेट्रिक टन अवैध रूपमा भित्रिने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए। सांसद सुमित्रा विसीले पनि रोपाइँ नसकिँदै किसानले मल नपाएको गुनासो गर्दै यस समस्याको स्थायी समाधान खोज्न आग्रह गरिन्।
यसैगरी, सांसद इन्दिरादेवी गौतमले बेरोजगारीका कारण युवाहरूमा मानसिक समस्या बढिरहेकोले मानसिक स्वास्थ्य उपचारमा ध्यान दिन आग्रह गरिन्।
अन्य सांसदहरूमा, जगप्रसाद शर्माले आयुर्वेद शिक्षण अस्पतालमा दरबन्दी नहुँदा सेवा दिन समस्या भएको भन्दै सरकारले यसतर्फ ध्यान दिनुपर्ने माग गरे। तुलसाकुमारी दाहालले मधेस प्रदेशमा दाइजो प्रथा र बालविवाहको समस्या हटाउनुपर्नेमा जोड दिइन्। मायाप्रसाद शर्माले जेष्ठ नागरिकले आफू बस्ने ठाउँबाटै सहज रूपमा भत्ता पाउन सक्ने वातावरण बनाउनुपर्ने माग गरे। शारदादेवी भट्टले कैलाली कारागारको घटनाप्रति खेद व्यक्त गर्दै क्षमताभन्दा बढी कैदी राखिएकोले देशभरका सबै जेलहरूको स्तरोन्नति गर्नुपर्ने बताइन्।