बन्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि पूर्वाधार निर्माण जारी: उपप्रधानमन्त्री सिंह
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
2k
Shares
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि बन्चरेडाँडामा आवश्यक पूर्वाधार निर्माण कार्य भइरहेको बताएका छन्।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा मौखिक प्रश्नको जवाफ दिँदै उनले फोहोर व्यवस्थापनका लागि निर्माण गरिएको ल्याण्डफिल साइटसहितको पूर्वाधार काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिएको जानकारी दिए। शहरी विकास तथा भवन निर्माण विभागमार्फत करिब ४० मिटर अग्लो बारमध्ये २५ मिटर उचाइको बार निर्माण सम्पन्न भई सञ्चालनका लागि महानगरपालिकालाई उपलब्ध गराइएको छ। बाँकी उचाइ बढाउनका लागि खरिद प्रक्रिया अघि बढिसकेको उनको भनाइ छ।
सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रयोगमा रहेका सिसडोल र बन्चरेडाँडा ल्याण्डफिल साइटका विकल्पहरूको अध्ययन गर्न, सिसडोल क्षेत्रमा देखिएका समस्या समाधान गर्न र स्थानीय मागहरू सम्बोधन गर्न मन्त्रालय निरन्तर सक्रिय रहेको दाबी गरे।
उनले बन्चरेडाँडामा फोहोर व्यवस्थापनलाई वैज्ञानिक ढंगले अघि बढाउन महानगरपालिकासँग सहकार्य भइरहेको बताए। फोहोरबाट उत्पन्न ब्याक्टेरियाको नियन्त्रण, कुहिने र नकुहिने फोहोरको वर्गीकरण, बिजुली उत्पादन, कम्पोस्ट मल निर्माण र कच्चा पदार्थ प्रशोधन केन्द्र स्थापना गर्ने काम पनि योजनाबद्ध ढंगले अघि बढाइएको उनले जानकारी दिए।
सिंहले स्वस्थ र सफा सहर निर्माणका लागि सबै तहका सरकारसँगको समन्वयमा काम भइरहेको बताए।