राष्ट्रिय सभाको बैठक बस्दै, निजामती विधेयक प्रतिवेदन पेश हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
1.7k
Shares
काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज दिउँसो ३:१५ बजे सङ्घीय संसद भवन, नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल हुने कार्यसूची रहेको छ।
बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्र पढेर सुनाउनेछन्। साथै, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यक्रम छ।
त्यस्तै, राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्नेछन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले 'वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१' माथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछन्।
आजै बिहान ११:३० बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक पनि बस्नेछ। कृषि समितिमा 'नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२' माथि छलफल हुनेछ भने विधायन समितिमा 'सङ्घीय निजामती विधेयक, २०८०' को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ।