भूमिहीनको तथ्यांक संकलन अन्तिम चरणमाः मन्त्री अधिकारी
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १७ मंगलबार
1.2k
Shares
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन कार्य अन्तिम चरणमा पुगेको बताएका छन्। उनले मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सो जानकारी दिएका हुन्।
मन्त्री अधिकारीका अनुसार, अहिलेसम्म करिब ११ लाख भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीको विवरण संकलन भइसकेको छ। सबै स्थानीय तहबाट विवरण प्राप्त भएपछि यो संख्या १५ लाखसम्म पुग्न सक्ने उनको अनुमान छ।
जग्गाको वर्गीकरण र विवरण संकलनको जिम्मा स्थानीय तहलाई दिइएको छ। देशभरका ७५३ स्थानीय तहमध्ये ७५० वटाले भूमि समस्या समाधान आयोगसँग सम्झौता गरिसकेका छन्।
मन्त्री अधिकारीले विधेयकमाथि छलफलका क्रममा कतिपय सांसदहरूले विधेयकमा नभएका विषयहरू उठाएकोमा असन्तुष्टि व्यक्त गरे। उनले भने, "विधेयकमा नयाँ ठाउँमा जग्गा दिने कुरा गरिएको छैन। बसोबास गर्दै आएकै ठाउँमा जग्गा दिने भनिएको छ। तर, भूमिहीनहरूले बसोबास गरेको जमिन जोखिमपूर्ण भएमा उनीहरूलाई अन्यत्र पनि स्थानान्तरण गर्न सकिने व्यवस्था छ।"
तथ्यांक संकलनपछि भूमिसम्बन्धी अधिकांश काम स्थानीय तहबाटै हुने उनले बताए।