उनको ओँठमा मधुरो मुस्कान र आँखा अलि रसिलो थियो, अनि उनले आफ्नो अनुहारतिर औँलाले देखाउँदै भने, "हेर्नुस् भाइ, (ओँठ देखाउँदै) यो चाहिँ मैले गरेको क्रान्तिको निशानी, अनि (कान पछाडिको भाग देखाउँदै) यो चाहिँ मैले भोगेको विद्रोहको निशानी।"
सायद २०८५ को गर्मी महिना थियो । म मोटरसाइकल यात्रा गर्दै डडेलधुरा पुगेको थिएँ। त्यहाँ मैले चिनेको दाईको घरमा बास बसेको थिएँ । लगभग ४-५ वर्षअघि पनि उनको घरमा बास बसेको थिएँ । हेर भाइ, ऊ त्यो घर चाहिँ देउवाजीको भनेर वनले मलाई माथि कौसीबाट देखाएको मलाई याद छ। मैले त्यही घरतिर फेरि हेरेँ, तर यसपालिको दृश्य अलि फरक थियो। यसपालि त्यो घरमा धेरै चहलपहल थियो र परबाट चिनेजस्तो मान्छे देखेजस्तो लाग्यो। पछाडिबाट आवाज आयो, "शेरबहादुर देउवा देख्यौ भाइ ?" उनले बोकेर ल्याएको दुई कप चिया मध्येको एउटा मलाई दिए ।
"आजकल बूढा मान्छे यतै छन्, दुई वर्ष जस्तो भयो", उनले थपे, "बेलाबेला जान्छु उहाँलाई भेट्न, उहाँको गफ सुन्न मजा आउँछ। बरु चिया खाएर त्यतै जाऊँ, तपाईंलाई भेटाउँछु। तपाईं कथा लेख्ने मान्छे, सायद रमाइलो अनुभव हुन्छ होला।"
हामी केही बेरमै त्यो परको घर पुग्यौँ, गेट खुलै थियो। दाइले अगुवाई लिए र आँगनमा कुर्सीमा बसेर , नाकको टुप्पोमा चश्मा लगाएर, पुस्तक पढेर बसेको देउवालाई ढोगे । "ओहो, बस यता बस। ओ भानु, भतिजाहरूलाई पानी र चिया भनिदेउ त !"
यतिमै मसँग गएको दाइले हाम्रो परिचय गरिदिए । मैले टीभीमा धेरै देखेको मान्छे तर व्यक्तिगत रुपमा देउवाजीलाई भेटेको थिइन। गजबको व्यक्तित्व रहेछ उनको । हाइट त गजबै रहेछ। उनले मेरो बारेमा सोधे र म एउटा घुमन्ते भन्ने थाहा पाएपछि, मेरा यात्रा र मेरा अनुभवको बारेमा सोधे । त्यतिको मान्छेले मेरा कुरा चाख दिएर सुनेको देखेर म अचम्मित थिएँ। त्यत्तिकैमा चिया नि आइपुग्यो। म पुगेका केही ठाउँका बारेमा उनले ३०-४० वर्ष अगाडिका अनुभव र कथा सुनाए । मानौँ एकैछिनमा नेपालका पाँच पटक प्रधानमन्त्री भएका उनी र म निकै राम्रो साथी भएका थियौँ।
सायद त्यही आत्मीयताले गर्दा होला, एउटा बेग्लै हिसाबको आत्मविश्वास विकास भइसकेको थियो मभित्र। विशेष गरी २०८२ का घटनाहरूलाई लिएर मनभित्र धेरै उत्सुकता थियो । त्यस वर्ष देउवा निकै चर्चामा थिए । एकचोटी जेन-जी आन्दोलनमा उनको ज्यान र धनमा भएका क्षतिका कारणले तर त्यो भन्दा बढी उनको राजनीतिक अवकाशको घोषणाका कारणले ।
धेरैले नसोचेको र कल्पना नगरेको निर्णयले देशभरि नै एक हिसाबको खलबली भएको थियो। आन्दोलन भएको वर्षको दशैँतिहार सकेलगत्तै उनले आफ्नो अवकाश गर्दै पुस्तान्तरणको एउटा उदाहरणीय कदम चालेका थिए । गगन र विश्वप्रकाशको नेतृत्वको उदय त्यसै वर्ष भएको थियो कांग्रेसमा र त्यसपश्चात एमाले र माओवादी केन्द्रमा पनि पुस्तान्तरणका लागि नैतिक दबाब सिर्जना भएको थियो। वास्तवमै ऐतिहासिक वर्ष थियो त्यो।
मैले आँट गरेर उनलाई सोधेँ, "मलाई तपाईँलाई दुई तीन वटा कुरा सोध्न मन छ, सोधौँ ?" उनले मुस्कुराउँदै भने, "हाऽहाऽ के के सोध्न लायौ, सोध!"
"२०८२ मा अवकाश लिएपछि तपाईँ एकाएक हराउनुभयो। त्यत्रो नेतृत्व गरेको मान्छे तपाईँ, 'पावर एक्सरसाइज' गरेको मान्छे, कसरी सजिलै त्यस्तो निर्णय लिनुभयो ?"
"सजिलो, कसरी सजिलो ? हाऽहाऽहाऽ । के भनेदेखिन् १२ टाँका र करोडौँको सम्पत्ति जलेपछि गरेको निर्णय पो हो त।" उनले हाँस्दै भने ।
"गाह्रो त भयो तर आफ्नो लामो राजनीतिक यात्राको परिणाम जनताको आक्रोशमा अन्त्य भयो भनेर मात्र। बाँकी त गाह्रो भएन। म जसको नेता हो सोच्थेँ, उसैले भयो अब आराम गर भनेपछि गर्नैपर्यो । त्यसमाथि पार्टीमा जिम्मेवारी लिन कुशल र बलिया काँध र पाखुरा तयार भइसकेका थिए, जसले मलाई पहिला पनि कुहिनोको जोड दिइसकेका थिए । के भनेदेखिन् मैले पो ढिला गरेँ। त्यसमाथि हाम्रो पार्टीले सँधै परिवर्तनको अगुवाई गरेको इतिहास छ, राणाशासनदेखि नै। त्यतिखेर फेरि अरु पार्टीका मेरा समकक्षी फेरि मभन्दा त धेरै जिद्दी थिए, कसैबाट त परिवर्तनको सन्देश दिनै थियो। मैले गर्दिएँ ।"
उनले त्यति सजिलै भनेको देखेर, मैले फेरि सोधेँ, "त्यो त हो तर तपाईँका पार्टीमा सभापति र प्रधानमन्त्री हुन कुरेका तपाईँका उमेरका र तपाईँ भन्दा अलि पछिका नेता त टन्नै थिए त, तिनीहरू कसरी माने ?"
"के हो हँ ? तिमी त युट्युबे पत्रकार भन्दा कडा रैछौ, हाऽहाऽहाऽ", उनले अगाडि थपे, "हो थिए धेरै, मेरो चेत खुलेपछि तिनीहरूको सातो गयो । नेता त कार्यकर्ता र जनताले बनाउने हो । त्यसबेला जनताको चाहना युवा थियो र हाम्रा कार्यकर्ता पनि त्यही सर्वसाधारण जनताकै प्रतिनिधि नै थिए । नेतृत्वको भूमिका परिश्रम, योगदान र सान्दर्भिक समाधान छान्ने हो भनेर मलाई धेरै अगाडि सायद २०५३-५४ सालतिर काठमाडौँबाट चितवन हुँदै बुटवल जाँदै गर्दा गिरिजाबाबुले भन्नुभएको थियो। मैले आफ्नो अवकाशको निर्णय लिइरहँदा ती साथीहरूसँग नि सल्लाह गरेँ। वार्तामा समाधान हुन्छ नै ।"
मेरो प्रश्नले उनलाई इतिहासतिर डोहोर्यायो । उनले भने, "किसुनजीले मलाई विश्वास नगरेको भए म कसरी पार्टी सभापति हुँदो हुँ । त्यो त युवामै गर्ने हो नि । म पहिलो पटक प्रधानमन्त्री हुँदा पनि युवा थिएँ । अहिले गगन र विश्वले मेरै मार्ग पछ्याउँदा मैले मेरापछिका नेताहरूको स्वार्थी सल्लाह मान्ने हो भने युवा आक्रोश त विद्रोहमा पैदा हुन्छ भन्ने बुझेको छु ।''
थप गम्भीर बन्दै उनले भने, ''मेरा प्रायः समकक्षी साथीहरू पनि कांग्रेसका शीर्ष नेताका सन्तान या शिष्य थिए - बीपी, गणेशमान, किसुनजी लगायतका । देशको सार्वभौमिकता र अखण्डता भन्दामाथि त पार्टी होइन भन्नेमा हामी सजिलै सहमत भयौँ र घरिघरि जनताले हामीलाई हाम्रा युवा भाइहरूप्रति प्रेम र विश्वास देखाएर सन्देश दिइसकेका थिए । धेरै गाह्रो भएन, मलाई त्यति सजिलै कसैले मान्ला जस्तो लागेको थिएन तर वास्तवमा त्यो दिन कार्तिक १८ गते मंगलबार मेरो जीवनको स्मरणीय दिन हो। मैले अवकाश लिइराख्दा पनि जितेको दिन, म चुनाव जितेको भन्दा बढी खुशी थिएँ ।"
म मुस्कुराउँदै उनलाई हेर्ने बाहेक बोल्न सकिन। पुरानो राजनीतिक अभ्यासहरुका बारेमा देखेको पढेको आधारमा, एक हिसाबले उनले भनेको कुरामा विश्वास गर्नै गाह्रो भयो। मसँग पत्याउनु बाहेकको विकल्प पनि थिएन तर मलाई मैले प्रत्यक्ष भेटेको शेरबहादुर देउवा साह्रै मनपर्यो। उनी जेन-जीको आन्दोलनमा सेनाले भाग्ने सल्लाह दिँदा पनि नभागेर आफ्नै घरमा बसेका थिए । मार्छन् भने उनीहरू पनि नेपाली नै हुन् उनीहरूकै हातबाट मर्छु भनेर जसरी साहस बटुले त्यसले उनमा सत्यको सामना गर्ने हिम्मत रहेछ भनेर धेरै थोरै माया र सम्मान जागेकै थियो । उनलाई बिगार्ने अवसरवादीकोमात्र खेल ठूलो रैछ भन्ने लागेको थियो ।
उनीहरूको पार्टीले के गर्यो थाहा छैन तर वास्तवमै त्यस वर्ष उनको निर्णय अकल्पनीय र उदाहरणीय थियो । उनको अवकाशको एक हप्तापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि अवकाश लिए । बाँचुञ्जेल अध्यक्ष हुने भनेर विधानसमेत संशोधन गरेको तीन दिनमै सत्ताबाट लखेटिनु परेपछि उनलाई हिनताबोध भएकै थियो । हामी त सशस्त्र द्वन्द्वमै जेन-जी आन्दोलन गरेका भनेर बुरुक्क उफ्रने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि फागुन २१ को चुनावमा नराम्रो हार बेहोरेपछि अवकाशको घोषणा गरेका थिए ।
"तिमीलाई अझै चित्त बुझेको छैन जस्तो छ, सोध के सोध्छौ ? तर मसँग आधा घण्टामात्र समय छ, गगन र विश्वसँग ह्वाट्सएपमा मिटिङ्ग छ, खोइ के सल्लाह चाहियो रे भाइहरूलाई" उनले मलाई हेर्दै भने । ओहो ! देउवा त राम्रा अभिभावक पनि रहेछन् भन्ने लाग्यो ।
मलाई त्यो वर्ष उनी र उनीहरूको मन्त्रीको घरमा भेटिएको भनेको धनका बारेमा सोध्न मन थियो । मिडियामा विभिन्न हिसाबले प्रस्तुत भएको त्यो मुद्धा आजसम्म अस्पष्ट छ तर सोधौँ, नसोधौँ दोधारमा परेँ। "होइन, आजलाई पुग्यो, दुःख दिन्न । बरु म भोलि नि चिया खान आऊँ ? म पर्सी बर्दिया झर्छु" उनलाई सोधेँ।
"आऊ आऊ, बिहान ११ बजेदेखि १ घण्टा चाहिँ म आराम गर्छु। अरु समय जतिखेर आए नि आऊ। मेरो गेट सँधै खुला हुन्छ, मान्छे आइराख्छन्", उनले भने । साँच्चै त्यो बूढानीलकण्ठ भन्दा यिनको यो गाउँको घर कति हृदयी छ है हामीजस्ता भुइँमान्छेलाई स्वागत गर्न । म मनमनै पुलकित भएँ ।
म र दाइ नमस्कार गरेर बिदा मागेर त्यहाँबाट निस्कियौँ । "जय नेपाल !" भन्दै उनले नि नमस्कार फर्काए । म केही छिन नबोली हिँडे। "बूढासँग आजकल कुरा गर्न र सुन्न साँच्चै मजा आउँछ, खत्रा अनुभव र ज्ञान छ यिनको। हाम्रो डडेलधुरामा शान हुन् बूढा।" दाइले भने ।
"होइन दाइ, बूढा देशकै शान हुन्। त्यो अवकाश र अवकाश लिँदाको उनको वक्तव्य त साह्रै गजब थियो। बूढाले बीपीको , प्रजातन्त्रको र देशको नाम राखे त्यो दिन। नत्र त त्यो वर्ष देशको भविष्य के हुन्छ के हुन्छ लाग्याथ्यो। बरु धन्यवाद दाइ, भेटाइदिनुभो।"