arrow

देउवा दम्पती

कस्तो छ शेरबहादुर देउवा दम्पतीलाई ? अस्पतालमा छन् कि आफन्तकोमा ?

सेना भन्छ - उहाँहरु नर्मल दैनिकीमा हुनुहुन्छ, कांग्रेस भन्छ - भेट्न देया छैन, सचिवालय भन्छ-डिस्चार्ज हुन तीन चार दिन लाग्छ कि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
sher-bahadur-deuba-arzu.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजू राणा देउवा गत भदौ २४ गतेदेखि उपचाररत छन् ।

जेन–जी आन्दोलनका क्रममा जेन–जीको एउटा समूहले अन्य ठाउँमा जस्तै देउवाको घर बूढानीलकण्ठमा पनि विध्वंश मच्याउने क्रममा देउवा दम्पतीलाई बाहिर निकालेर घरमा आगलागी गरेको थियो । 

बाहिर निकालेपछि पनि दुवैमाथि अभद्र व्यवहार गरी मान र उमेरकोसमेत ख्याल नगरी पिटपाटसहित लगातार दुर्व्यवहार गरिएसँगै नराम्रोसँग घाइते भएका थिए ।

अन्त्यमा नेपाली सेनाले उद्दार गरी सैनिक अस्पताल छाउनीमा उपचारका लागि लगेको थियो । 

त्यसयता उनीहरू प्रत्यक्ष रुपमा देखिएका छैनन् । सैनिक अस्पतालमा पनि कसैलाई भेट्न जान दिइएको छैन । 

गत असोज २ गते सेनाले दुवैको अवस्था सुधारोन्मुख रहेको जनाएको थियो । नेपाली सेनाका सूचना अधिकृत सहायक रथी राजाराम बस्नेतले सभापति देउवा र निवर्तमान परराष्ट्र मन्त्री राणाको स्वास्थ्य सुधारोन्मुख रहेको बताएका थिए । उनले भनेका थिए, ‘उहाँहरू हामीसँग सुरक्षित हुनुहुन्छ र दुवै जनाको स्वास्थ्य सुधारोन्मुख छ ।’

सेनाले उद्दार गरी लगेपछि अवस्था बाहिर नआएकाले त्यसलाई सम्बोधन गर्दै सूचना अधिकृत बस्नेतले ‘उहाँहरू हामीसँग सुरक्षित हुनुहुन्छ’ भनेर स्पष्ट पारेका हुन् । 

बस्नेतले देउवा दम्पतीले आफ्नो आन्तरिक व्यवस्थापनका लागि समय मागेको जानकारी दिँदै भनेका थिए, ‘परिस्थिति सबै राम्रो छ । उहाँहरूले हामीसँग आन्तरिक व्यवस्थापनका लागि समय माग्नु भएको छ । व्यवस्थापन भएपछि उहाँहरू यहाँबाट जानुहुन्छ ।’

असोज २ गते सो जानकारी दिएका सूचना अधिकारी बस्नेतसँग असोज ८ गते अपरान्ह देउवा दम्पतीको स्वास्थ्यबारे हाम्राकुराले गरेको जिज्ञासामा भने, ‘उहाँहरुको अवस्था नर्मल छ । निकट भविष्यमै उहाँहरू आफ्नो व्यवस्थापन सबै गरेर जाने आफ्नो तयारी गर्दै हुनुहुन्छ । उहाँहरु नर्मल दैनिकीमै हुुनुहुन्छ ।’

भेट्न दिइएको–नइिइएकोबारे अधिकारी बस्नेतले स्पष्ट भनेनन् । उनले भने, ‘उहाँहरु नर्मल दैनिकीमा हुनुहुन्छ । नर्मल भनेपछि त जहाँ बस्दा पनि एउटै हुन्छ नि है !’

नेपाली कांग्रेस पार्टी मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल सभापतिज्यूलाई कस्तो छ ? भन्ने प्रश्नमा छोटो जवाफ दिन्छन् – ठीकै छ । सुधारोन्मुख छ ।’ 

उनलाई भेट्न दिइएको छ कि छैन भन्ने प्रश्नमा उनले भने, ‘छैन छैन भेट्न देया छैन ।’

नभेटी वास्तविक अवस्था कसरी थाहा पाउने त ? भन्ने जिज्ञासामा उनले भने, ‘त्यहाँ मेरो कुरा त भइराख्या छ । सुधार भइराख्या छ । सभापतिज्यूसँग यसो कहिलेकाहिँ कुरा भइराख्या छ । उहाँ ठीक हुनुहुन्छ । इम्प्रुभ भइराख्या छ ।’
 
देउवा पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य आरजू देउवाबारे सोध्दा उनी भन्छन्, ‘ठीकै छ, इम्प्रुभिङ छ है त ।’

देउवाका स्वकीय सचिव भानु देउवा भन्छन्, ‘अहिले ठीक छ । सुधार भइराख्या छ ।’ आरजू देउवाबारे सोध्दा पनि भन्छन्, ‘ठीक छ ।’

भेट दिइरहेको अवस्था हो कि हैन ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘भेट्न दिइराख्या छैन ।’

अस्पतालबाट कहिले डिस्चार्ज हुने त भन्ने जिज्ञासामा उनी भन्छन्, ‘तीन चार दिन लाग्छ कि हेरौँ ।’

यसबारेमा थप जानकारी लिन खोज्दा प्रेस सल्लाहकार गोविन्द परियार र कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतसँग सम्पर्क हुन सकेन । 

देउवा दम्पती अस्पतालमै कि आफन्तकोमा ? 
सामान्यतया पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाको स्वास्थ्यको बारेमा अस्पतालले दैनिक बुलेटिन निकालेर जानकारी दिने गर्छन् । 

देशको राजनीतिक वरिवर्तन र परिस्थितिलाई मध्यनजर गर्दै सेनाले स्वास्थ्य अवस्थाबारे जानकारी नदिएको हुन सक्छ । 

सूचना अधिकारी बस्नेतले आन्तरिक व्यवस्थापनपछि डिस्चार्ज हुने बताएका छन् । देउवाको सचिवालयले पनि उनी अस्पतालमै रहेको र डिस्चार्ज हुन तीन चार दिन लाग्न सक्ने बताएको छ । 

पार्टी कार्यालयका मुख्यसचिव पौडेल अस्पतालमा भेट्न नपाए पनि सभापति देउवासँग कुराकानी भइरहेको बताएका छन् । 

यद्यपि कांग्रेसको एक स्रोत भने देउवा गत असोज २ गते नै अस्पतालबाट डिस्चार्ज भएको दाबी गर्छ । 

देउवा दम्पतीले आफन्तकोमा विश्राम गरिरहेको स्रोतको दाबी छ । देउवाले गत असोज ३ गते संविधान दिवसको शुभकामना वक्तव्य निकालेका थिए । 

त्यसअघि नै असोज २ गते उनी डिस्चार्ज भएको स्रोतको दाबी छ । एक प्रत्यक्षदर्शीलाई उधृत गर्दै एक कांग्रेसी नेताले भने, ‘देउवा असोज ३ गते नक्सालमा देखिएका रहेछन् । अगाडि प्रकाशशरणको गाडी, दोस्रोमा तरुण युवाको गाडी, तेस्रोमा देउवा सवार गाडी र चौथोमा सशस्त्र प्रहरीको गाडी थियो ।’

यदि यो साँचो हो भने कांग्रेस प्रवक्ता महतले देउवासँगको कुराकानीपछिमात्र सभापति अस्पतालमा भएका बेलामा विशेष महाधिवेशन माग्नु गलत भएको भनी आक्रोश पोखेका थिए । 

स्रोतको दाबीलाई मान्ने हो भने कतै देउवाको स्वास्थ्यलाई राजनीतिकरण गरिएको त हैन ? केही दिनमै उनी सार्वजनिक कार्यक्रममा देखिनेसमेत एक जनाले बताएका छन् । 

यद्यपि नेपाली सेना, पार्टी कार्यालय र देउवा सचिवालयले देउवा अस्पतालमै रहेको बताएको छ । देउवा दम्पती छिटो निको होस् र सार्वजनिक होस् भन्ने आमचासोको विषय छ ।  

चर्चा पुस्तान्तरण र विशेष महाधिवेशनको 
जेन–जी आन्दोलनले एकाएक मुलुकको राजनीतिक सोचलाई बदलिदिएको छ । कुनै पनि दलमा पुस्तान्तरण नभएसम्म जेन–जीका माग सम्बोधन नहुने भएसँगै दलहरू आन्तरिक विवादमा फसेका छन् । 

बुधबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले राजीनामा दिएर पुस्तान्तरण गर्ने सन्देश दिएका छन् । उनको राजीनामा पार्टी केन्द्रीय समितिमा पेश गरेसँगै बैठकले केन्द्रीय समिति भङ्ग गरेर विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बुधबारै अबको महाधिवेशनले नयाँ नेतृत्व पाउने बताएर आफ्नो सदावहार अध्यक्षको पगरी थन्क्याउने संकेत गरेका छन् । 

त्यस्तै कांग्रेस सभापति देउवाले आगामी कार्यकाल सभापतिमा चुनाव नलड्ने बताए पनि विशेष महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने विषयमा कुनै प्रतिक्रिया दिइसकेका छैनन् । 

उनी उपचाररत रहँदा बाहिर भने जेन–जीको माग सम्बोधन गरेर अगाडि नबढ्ने हो भने आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसलाई सफलता नमिल्ने दाबी युवा पुस्ताले गरिरहेको छ । 

विशेष महाधिवेशन बोलाउनसमेत दबाबमूलक आग्रह भइरहेको छ । विशेष महाधिवेशन गरी नयाँ नेतृत्वका साथ चुनावमा होमिने हो भने कांग्रेसलाई सफलता दिने कांग्रेसी युवाहरूको दाबी छ । 

एमालेभित्र भने अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विकल्प कसैलाई नदेखेसँगै त्यहाँ पनि आन्तरिक विद्रोह हुने सम्भावना देखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ