राष्ट्रिय सभामा जेन–जीलाई प्रतिनिधित्व गराउने विषयमा प्रधानमन्त्रीको चासो, रिक्त पदमा निर्वाचन गराउन सहमत
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
1.3k
Shares
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभामा जेन–जी आन्दोलनका प्रतिनिधिहरूलाई समावेश गराउने विषयमा चासो राखेकी छन्। आइतबार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँगको भेटमा उनले सो चासो व्यक्त गरेकी हुन्।
अध्यक्ष दाहालका अनुसार, आगामी फागुन २१ गतेबाट रिक्त हुने १८ पदका लागि निर्वाचन आयोगको माघ ११ गतेको निर्वाचन कार्यतालिकामा प्रधानमन्त्री कार्की सहमत छिन्। यद्यपि, उनले जेन–जीलाई समावेश गर्नका लागि निर्वाचनको मतदाताबारे दलहरूसँग राजनीतिक सहमति आवश्यक रहेको सुझाव प्रधानमन्त्रीलाई दिएका छन्।
भेटका क्रममा प्रधानमन्त्री कार्की छठ पर्वपछि राष्ट्रिय सभाको बैठक सञ्चालन गर्न सकारात्मक देखिएकी छिन् र उनले कृषि समितिको हललाई बैठक कक्ष बनाउने तयारी गर्न मुख्य सचिवलाई निर्देशन दिने बताएकी छिन्।
त्यस्तै, अध्यक्ष दाहालले जेन–जी आन्दोलनका क्रममा निवासमा आगजनी भएकी राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेलाई उचित आवासको व्यवस्था मिलाउन पनि प्रधानमन्त्रीसँग आग्रह गरेका छन्। साथै, उनले प्रतिनिधि सभा विघटन भए पनि राष्ट्रिय सभा कायमै रहेकाले दलका नेता तथा सदस्यहरूको कानूनी सेवा सुविधा कटौती नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। प्रधानमन्त्री कार्कीले उक्त विषयमा आफू सकारात्मक रहेको बताएकी छन्।