काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयू) को १५१औँ महासभामा सहभागी हुन आज (शुक्रबार) स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्।
यही कात्तिक २ गतेदेखि ६ गतेसम्म जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। साथै, उनले विभिन्न देशका संसद्का प्रमुखहरूसँग द्विपक्षीय भेटघाट पनि गर्नेछन्।
अध्यक्ष दाहालको टोलीमा राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) पनि सहभागी छन्। प्रतिनिधिमण्डलका सदस्यहरू अन्तर–व्यवस्थापिका सङ्घका स्थायी समितिका कार्यक्रममा सहभागी हुनेछन्।