arrow

राष्ट्रिय सभा अध्यक्ष द्वारा जेनेभामा भारतीय तथा अष्ट्रेलियाली संसदीय टोलीसँग भेट

नेपालमा निर्वाचन र जलवायु सहकार्यमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ६ बिहिबार
narayan-dahal-usa.jpg

काठमाडौँ। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तर व्यवस्थापिका सङ्घ (आइपियू)को १५१औँ महासभाको सन्दर्भमा जेनेभामा रहँदा भारतीय र अष्ट्रेलियाली संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन्।

अनुरागसिंह ठाकुर नेतृत्वको भारतको संसदीय प्रतिनिधि मण्डलसँग आज भएको भेटवार्तामा अध्यक्ष दाहालले तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतन्त्रको सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको जानकारी गराए। उनले नेपालमा जेनजी आन्दोलन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन र चुनाव घोषणा भएको विषयमा प्रकाश पारेका थिए।

सो क्रममा अध्यक्ष दाहालले भारतसँगको सम्बन्ध औपचारिक र देशबीचको मात्रै नभई जनता–जनताबीचको सम्बन्ध बलियो रहेको बताएको उनको सचिवालयले जनाएको छ।

अध्यक्ष दाहालले आइपियूका महासचिव मार्टिन चुङगोङसँगको भेटमा नेपालमा बदलिएको राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाको निर्वाचन घोषणा भएको र विधायिकी जिम्मेवारी राष्ट्रिय सभाले निर्वाह गरिरहेको जानकारी गराए।

अष्ट्रेलियाका सभामुख मिल्टन डिकसँगको द्विपक्षीय भेटवार्तामा अध्यक्ष दाहालले जलवायु परिवर्तनको असर, नवीकरणीय ऊर्जाको विकास र स्थानीय सुशासनलगायत क्षेत्रमा नेपाल र अष्ट्रेलियाबीच सहकार्य हुने विश्वास व्यक्त गरे।

उनले शैक्षिक साझेदारी, प्राविधिक तालिम र अनुसन्धान आदानप्रदानजस्ता कार्य विस्तारमा जोड दिन आग्रह गरे। अष्ट्रेलियाले नेपालको शिक्षा, स्वास्थ्य, सुशासन र सामुदायिक वन व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी दिनमा दुई देशबीच विविध क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरे। उनले अष्ट्रेलियामा रहेका नेपाली समुदाय र विद्यार्थीको सुरक्षा, सम्मान र सहयोगी वातावरणका लागि धन्यवाद पनि ज्ञापन गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ