संसदीय समितिद्वारा बजेट कटौतीमा चासो: सरकारसँग स्पष्टीकरण मागिने [भिडियो]
समितिले आगामी निर्वाचनहरूको तयारीबारे पनि सरकारसँग बुझ्ने प्रयास गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
1.1k
Shares
काठमाडौँ । सङ्घीय सरकारले टुक्रे योजनाहरूको बजेट कटौती गर्ने निर्णय गरेपछि राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले उक्त निर्णयप्रति चासो देखाएको छ।
बिहीबार बसेको समितिको बैठकपछि सभापति सोनाम गेल्जेन शेर्पाले नियमित विनियोजित बजेटमध्ये धेरै बजेट कटौती भएको भन्दै यस सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउने बताएका छन्। उनले कुन आधारमा बजेट कटौती गरिएको हो भन्नेबारे समितिले सरकारसँग स्पष्टीकरण माग्ने जानकारी दिए।
सभापति शेर्पाका अनुसार, समितिले आगामी निर्वाचनहरूको तयारीबारे पनि सरकारसँग बुझ्ने प्रयास गर्नेछ। जसमा फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन र माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा शान्ति सुरक्षाको अवस्था कस्तो रहन्छ भन्ने विषयमा छलफल गरिनेछ।
जेन-जी आन्दोलनपश्चात् पहिलो पटक समितिको बैठक बसेको बताउँदै शेर्पाले विगतमा राष्ट्रिय गौरवका आयोजना, निर्वाचन आयोग र संविधानका केही बुँदाहरूमा भएका छलफललाई आवश्यकताको आधारमा आगामी दिनमा पनि निरन्तरता दिने बताए। समितिमा आएका विषयहरूमा छलफल गरेर कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिने उनको भनाई छ।
उनले राष्ट्रिय सभाको बैठक पनि छिट्टै सञ्चालन हुने र त्यसका लागि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले पहल गरिरहेको जानकारी दिए।