सरकार तयार भए राष्ट्रिय सभाबाट विधेयक पारित गर्न सकिने सांसदहरूको भनाइ
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
1.1k
Shares
काठमाडौँ। राष्ट्रिय सभाका सदस्यहरूले सरकार तयार भएमा राष्ट्रिय सभाबाट विधेयकहरू पारित गर्न सकिने बताएका छन्। आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा सहभागी सदस्यहरूले यस्तो धारणा राखेका हुन्।
राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले सरकार तयार भए सभाबाट समितिमा आएका विधेयकहरूलाई छलफल गरेर टुङ्ग्याउन सकिने बताए। उनले सरकारले संसदमा विधेयकहरू ल्याइरहेको उल्लेख गर्दै राष्ट्रिय सभा सञ्चालनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिए। भुसालले राष्ट्रिय सभाबाट पारित भएर गएका विधेयकहरूको समयसीमा नहुने हुँदा प्रतिनिधि सभा सुरु बित्तिकै त्यहाँ छलफल गर्नेगरी तयारीमा राख्न सकिने उल्लेख गरे।
उनले भने, "विधेयकहरूको सन्दर्भमा सरकारले बसेर छलफल गरेर अब निर्वाचित भएर आउने राष्ट्रिय सभामा जान सरकार तयार हुन्छ भने हामी सभाबाट समितिमा आएका विधेयकहरूलाई छलफल गरेर टुङ्ग्याउन सक्छौँ।"
नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले राष्ट्रिय सभा भाषण गर्नको लागि मात्रै सञ्चालन गर्न नहुने बताए। उनले सभा सञ्चालनका लागि सरकारले बिजनेस दिनुपर्ने बताए। उनले सभा सञ्चालन गर्नुभन्दा पहिले पूरा तयारी गर्नुपर्ने र सभा चलेको १५ दिनमै अन्त्य हुने अवस्था आए राम्रो नहुने धारणा राखे।
बैठकमा सहभागी सबै सदस्यहरूले सरकारसँग समन्वय गरेर राष्ट्रिय सभाको बैठक सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। सांसदहरूले सभा सञ्चालन गरे पनि सरकारले बिजनेस नदिनेतर्फ आशंकासमेत व्यक्त गरेका छन्।