arrow

देउवाको सिंगापुर सपना र धृतराष्ट्रको शान्ति खोज 

logo
प्रियरंजन दाहाल,  
प्रकाशित २०८२ पुष २ बुधबार
piryaranjan-dahal-article-02-09.jpg

कुरुक्षेत्रको युद्धपछि जताततै विनाश देखिन्थ्यो । लास थुप्राहरु थिए । हस्तीनापुरमा पाण्डवहरूले शासन सम्हालिसकेका थिए । राज्य विस्तारै आफ्नै लयमा फर्किदै थियो ।  धृत्रराष्ट्रको मन भने बेचैन थियो । उनि भित्र भित्रै टुटिसकेका थिए । सय छोराहरुको मृत्यु,शासन सत्ताबाट आफू बेदखल हुनु, आफ्ना भन्ने सबैसँग बिछोडले उनी सधै अशान्त थिए । रातहरू यता फर्किएर उता फर्किएर कट्थे ।

  दुर्योधनको मृत्युपछि उनले भीमलाई आफ्नो बल प्रयोग गरेर मार्न पनि खोजेका थिए । तर कृष्णले उनको नियत बुझेर धृत्रराष्ट्रको अगाडि एउटा प्रतिमा राखिदिए र उनको अन्तिम पटक १० हात्ती बराबरको बलले समेत काम गरेन ।

  यी सबैपछि भित्रैबाट कमजोर बनेका धृतराष्ट्रलाई  मानसिक रुपले विक्षिप्त देखेका  वेदव्यास उनलाई भेट्न आउँछन् । धृत्रराष्ट्र्ले आफ्नो सबै गुनासो र मनको बेचैनी वेदव्यासलाई सुनाउँछन् । यी सबै सुनिसकेपछि वेदव्यासले उनलाई गंगाको तटमा लग्छन् र धृत्रराष्ट्रका सबै मृत सन्तानलाई केही समयका लागि जीवित गराइदिन्छन् । हेर्दा हेर्दै त्यहाँ दुर्योधन, दुशासन, द्रोण सबै एक एक गरेर आउँछन् । धृतराष्ट्र आफ्ना मारिएका सन्तान देखेर बिलौना गर्दै  रुन थाल्छन् । 

पिता रोएको देखेर दुर्योधनले सम्झाउँदै भन्छन् - पिताजी हजुरले रुनु पर्दैन । यो हाम्रो कर्मको फल हो हामीले भोग्नै पर्थ्यो । अब हजुरले मन शान्त बनाउनुपर्छ । हस्तीनापुरलाई  षडयन्त्र,युद्ध, जालझेलबाट बाहिर निकाल्न सहयोग गर्नुपर्छ  ।

यति काम गरेर ती दिव्यात्मा हराउँछन् । जिन्दगीभर आसक्ति र मोहले ग्रस्त धृतराष्ट्रमा ठूलो शान्ती भेटिएको थियो । आफ्ना अन्यायपूर्ण निर्णयमा अपराधबोध भएको थियो । 

जेन-जी आन्दोलनपछी खरानी बनेको देशमा राजनैतिक रुपले  शक्तिशाली रहेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भौतिक आक्रमणमा परे । उनकी श्रीमती तथा तत्कालीन परराष्ट्रमन्त्री आरजू राणामाथि पनि कुटपिट र दुर्व्यवहार भयो । एक महिना बढीको उपचार र गुप्तवासपछि देउवा नेपाली कांग्रेसको पार्टी कार्यालयमा देखा परे र कार्यवाहक दिएको घोषणा गर्दै बिदा भए । 

पछि देउवा दम्पती उपचारका लागि भन्दै सिंगापुर उड्यो । १८ दिनको उपचारपछि फर्कै पनि । उनको ०४८ सालदेखि राजनीतिक र पदीय सफलता चुलिँदै गयो । बिहान उठ्दादेखि नसुत्दासम्म अघिपछि हुने सयौँ भए । सक्ने भए उनका समर्थक उनको सपनामा पनि चाकडीमा आउने थिए । यो सत्ताको सामान्य सिद्धान्त हो । उनी अछुतो रहने कुरो भएन।

गृहमन्त्रीपछिका सत्ता र शक्तिसँग जोडिएका सबै निर्णयहरु उनले विवाह गरेपछि लिने अवस्था बन्यो  । सत्ताको सफलतामा उनले पछाडि हेर्नु परेन । ज्योतिषकै भविष्यवाणीले पनि काम गरेको आभास हुन्थ्यो ।

डडेलधुराबाट काठमाडौँ आउँदै गर्दा जुन विश्वास, साहस मात्रै लिएर उनी काठमाडौँ झरेका थिए त्यसमा प्रजातन्त्रवादीको उत्साहले उनलाई दृढ हुन सहयोग गरेको हुनुपर्छ । बीपीको सानिन्ध्यपछि उनी प्रजातन्त्रको पहरेदारको रूपमा स्थापित भए । शायद बीपीसँगको सत्संगपछिका हरेक दिन उनी आफ्नो भाडाको कोठामा पल्टिँदै गर्दा प्रजातन्त्र, स्वतन्त्रता  र न्यायको बारेमा सोच्थे ।

आफ्नो भूमिकाको आत्ममूल्यांकन गर्थे र भोलिपल्ट ब्युँझिएपछि झन् दृढ हुने संकल्पका थ आन्दोलनमा होमिन्थे । बीपी अवसानपछि पनि  सायद उनलाई सम्झाउन  बीपी सपना  आइरहन्थे । जसले शेरबहादुर लाई निर्णय गर्न सजिलो भयो । 

पञ्चायतको अन्त्यताका उनका घनिष्टतम् मित्र बिपिन कोइराला र शिवबहादुर खड्का  पञ्चायतमा प्रवेश गर्दा पनि सुत्नुअघि एक्लै कोठामा गम खाए होलान् । सायद सपनमा बीपी आए होलान्  । अनि पञ्चायतमा जानु भन्दा बेलायत जाने निर्णय गरे । ०४८ सालको सत्ताप्राप्ति पछि पछाडि हेर्नु नपरेका शेरबहादुरले फेरि एक्लै घोत्लिने अवस्था बनेन । सत्ता उनलाई खोज्दै आउने भयो । ज्ञानेन्द्रदेखि प्रचण्डसम्म उनको प्रशंसक भए । सायद  उनले ओछ्यानमा पल्टेर सोच्नुपर्ने अवस्था नै आएन । अनि बीपी पनि नआउनु स्वभाविक बन्न पुग्यो ।  

 पञ्चायतमा  अध्ययन गर्न विद्यार्थी भएर गएपछि सत्ता र शक्ति भन्दा पर रहेर शेरबहादुर देउवाले गरेको सिंगापुर भ्रमण पहिलो हुनुपर्छ । सिंगापुर विमानस्थलको व्हिल चेयरको दृश्य हेर्दा उनको राजसी ठाँट थिएन । उनी विद्यार्थी भएर बेलायत जाँदा विमानस्थलमा बरु केही विद्यार्थी आए होलान् तर यहाँको दृश्य त्यस्तो थिएन ।

सिंगापुरमा उपचारको क्रममा अस्पताल जानु बाहेक उनले  केही दिन अतितलाई सम्झने समय पनि पक्कै पाए होलान् । केही रात पक्कै पनि उनलाई  सुत्न गाह्रो भयो होला छट्पटाहट भयो होला । श्रीमती किनमेलमा जाँदा आफूसँगै एउटै ओछ्यानमा मारिएका शहीद दौंतरीहरुलाई सम्झिए होलान् । पक्कै धृतराष्ट्र्लाई ब्यासले अतितमा फर्काए जस्तो बीपीले पनि शेरबहादुरलाई अतितमा लगे होलान् ।

बीपीले पुर्याएको अतितमा सांसद खरिद बिक्री, पजेरो प्राडो लगायतका कृत्य आए होलान् । आफ्नो दृष्टिविहीनताको फाइदा लिने पात्रहरु लहरै लाम लागेर आए होलान् । अनि उनी पनि डाँको छोडेर धृतराष्ट्र्ले भने झैँ अब षडयन्त्र,जालझेलबाट बाहिर निस्कन्छु भनेर प्रण गरे होलान्   । 

निदाउन गाह्रो हुँदा यता पल्टिँदा उता पल्टिँदा उनको मस्तिष्कमा अब पार्टी चलाउन सक्ने को छ भन्ने आयो होला ? के मैले पटक पटक अवसर दिएकाहरुले पार्टी  र कार्यकर्तालाई न्याय दिन सक्छन् । मेरो ब्यक्ति विशेषप्रतिको आसक्तिले  मेरै समर्थक  योग्य द्रोण,भिष्म, कर्ण जस्ता कति राजनीतिक रुपले मारिनु पर्‍यो होला भनेर सोचे होलान् ।

लोकतान्त्रिक व्यवस्थामा पनि नेता आफ्ना  आचरणले जनतालाई प्रभावित गर्न सक्छ र उसको  चरित्रको असर समाजको  नैतिक मूल्य र व्यवहारमा पर्छ। नेतृत्व नै भ्रष्ट हुँदा सिंगो देश त्यसको सिकार हुन्छ । रावणका कुकृत्यका कारण लंकाको स्वर्ण महल जल्यो। जलेको सिंह दरबार,अदालत सम्झिए  होलान् ।

मनुस्मृतिमा भनिए जस्तो  'राजा धर्मस्य कारणम्' अर्थात्  शासकनै विधि विधान, कानुन लागू गराउन सक्ने पात्र हो। उसले आफ्नो आचरण बिगार्दा त्यसको दुस्प्रभाव देशलाइ पर्छ। 

नेतृत्व गर्नेले मानक स्थापित गर्नुपर्छ ,आफूलाई उदाहरणका रुपमा प्रस्तुत गर्न सक्नुपर्छ भन्दै आदर्शको राजनीतिलाई स्वयम् उदाहरण बनेर बाँचुन्जेल जेल र निर्वासनमा बसेर पनि सत्ताका लागि कहिल्यै सम्झौता नगरेका बीपीले भनेको याद गरे होलान् । 

अनि सोचे होलान् पाँच गाउँ नदिँदा पूरै वंशको समाप्तिको कथा । तुलना गरे होलान् गगन, विश्व, प्रदीप अनि प्रकाशशरण, सिटौलाको । पटक पटक बीपीलाई संझिएहोलान् । अन्त्यमा श्रीमती सपिंगबाट आउनुअघि बीपीलाई फेरि संझिँदै  गगन, विश्वलाई विश्वास गर्न सकिने निष्कर्षमा पुगे होलान्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ