काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ । उनको बुधबार काठमाडौँ मेडिकल कलेज केएमसीमा उपचारका क्रममा निधन भएको हो ।
विगत तीन दशकयता मधुमेहको नियमित औषधि सेवन गर्दै आएका नेपाली कांग्रेस कञ्चनपुरका संस्थापन नेता बोहराको स्पाइनको सर्जरी गरी काठमाडौँमा उपचाररत थिए । उपचारकै क्रममा उनले बुधबार दिउँसो ३ बजे ७४ वर्षको उमेरमा प्राण त्याग गरेका हुन् ।
कांग्रेसको राजनीतिमा सक्रिय राष्ट्रिय सभा सदस्य बोहरा स्वच्छ छविको नेताको रूपमा परिचित थिए । लोकतान्त्रिक आन्दोलनका लागि लडेका बोहरा युवा पुस्तालाई सदैव अगाडि बढ्न प्रेरित गर्दै आएका थिए ।
२०३६ सालमा विद्यार्थी आन्दोलनका दौरान बोहराले कांग्रेस राजनीति थालेका थिए । कञ्चनपुरको बेदकोट नगरपालिका ७ हजारा स्थायी घर भएका बोहरा २०४९ सालमा जिल्ला विकास समिति कञ्चनपुरको सभापतिसमेत रहेका थिए ।
०५२ सालमा शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा उनी सल्लाहकारसमेत रहेका थिए । दोस्रो संविधान सभा निर्वाचनमा संविधान सभा सदस्य रहेका बोहरा ०८० सालमा भएको निर्वाचनमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।