arrow

देउवा पक्ष पार्टी टुक्राउने खेलमै, आयोगको निर्णयविरुद्ध अदालत जाने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ३ शनिबार
deuba-leaders-82-10-3.jpg

काठमाडौँ । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षीय नेताहरू निर्वाचन आयोगको निर्णयको विरुद्धमा अदालतमा जाने भएका छन् । निर्वाचन आयोगले कांग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको समूहलाई दिएपछि देउवा पक्षधर नेताहरू आइतबार सर्वोच्च अदालत जाने भएको हो । 

शनिवार देउवा पक्षका नेताहरुको पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले आयोगले गरेको निर्णयविरुद्ध संवैधानिक एवं कानूनी उपचार तथा राजनैतिक प्रतिवाद गर्ने निर्णय गरेको नेता डा प्रकाशशरण महतले जानकारी दिए । 

उनले आयोगको निर्णयविरुद्ध आइतबार सर्वोच्चमा रिट निवेदन दिने बताए । उनले आयोगले आफूहरूको कुरासमेत नसुनी एकपक्षीय ढंगले निर्णय गरेको आरोप लगाए । 

विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्यासमेत आयोगले नहेरिकन दूषित मनसायले आयोगले निर्णय गरेको उनको दाबी छ । 

कांग्रेसलाई क्षति पुर्याउने गरी आयोगले गरेको निर्णय आफूहरूलाई मान्य नभएको उनले बताए । उनले कांग्रेसको विधान र निर्वाचन सम्बन्धी कानूनलाई पनि ख्याल नगरेर आयोगले अन्यायपूर्ण दुषित मनसायबाट निर्णय गरेको उल्लेख गरे । 

यसविरुद्ध अदालत जाने र अदातलले आफूहरुलाई न्याय गर्ने उनले विश्वास व्यक्त गरे । 

उनले नेपाली कांग्रेसको वैधानिकता १४ औँ महाधिवेशनबाट निर्वाचिन सभापति शेरबहादुर देउवा र आफूहरुसँगै रहेको पनि दाबी गरे । आयोगको निर्णयलाई अदालतले सच्याउने उनको दाबी छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिले नै पुस २६ गतेदेखि नियमित महाधिवेशन गर्ने भनेको थियो । तर त्यसलाई टाल्न खोजेर बैशाखमा पुर्याएपछि गत असोज २९ गते १४ औँ महाधिवेशनका ५४.५८ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन मागेको आधारमा गगन थापा नेतृत्वले विशेष महाधिवेशन गरेको हो । 

त्यसलाई निर्वाचन आयोगले आधिकारिकता दिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ