काठमाडौँ । साढे चार महिनापछि आज सिंहदरबारमा राष्ट्रिय सभाको बैठक बसेको छ । आज राष्ट्रपतिबाट प्राप्त पत्र पढेर र राष्ट्रिय सभाका सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेर आजको बैठक सकिएको छ ।
विसं २००८ मा जन्मिएका कञ्चनपुर निवासी बोहराको गत पुस ३० निधन भएको थियो । उनी विसं २०७० मा संविधान सभा सदस्य र २०८० सालमा राष्ट्रिय सभामा निर्वाचत भएका थिए ।
योसँगै औपचारिक रुपमा सिंहदरबारमा राष्ट्रिय सभा सरेको हो । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भएको आगजनी तथा सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनको काम अझै सम्पन्न हुन नसक्दा संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि वैकल्पिक सभा हल निर्माण गरिएको थियो ।
माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा स्थायी सदन हो । यस सभामा समाजका विभिन्न क्षेत्रका अनुभवी, प्रबुद्ध व्यक्तिहरूको सहभागिता रहन्छ । राष्ट्रियसभाका सदस्यहरूको कार्यकाल छ वर्षको हुन्छ । त्यसमध्ये सभाका एक तिहाइ सदस्यको कार्यकाल भने प्रत्येक दुई वर्षमा सकिन्छ ।
हाल राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का २५, नेपाली कांग्रेसका १६, एमालेका नौ, जनता समाजवादी पार्टी जसपाका तीन, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक र मनोनीत तीन सदस्य छन् ।
यही माघ ११ गते १९ जना नयाँ सदस्य चयनका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभाको अर्को बैठक यही माघ ९ गते शुक्रबार दिउँसो १ः१५ बजे बस्नेछ ।