राष्ट्रिय सभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुँदै
प्रधानमन्त्री कार्कीले मुस्लिम आयोगको प्रतिवेदन पेस गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १ शुक्रबार
818
Shares
काठमाडौँ । राष्ट्रिय सभाको चालु अधिवेशन आज राति १२:०० बजेदेखि लागू हुने गरी अन्त्य हुँदैछ। मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (३) बमोजिम अधिवेशन अन्त्य गरेका हुन्।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आजको बैठकमा राष्ट्रपतिबाट प्राप्त सोही अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोराबारे सभालाई औपचारिक जानकारी गराउनेछन्। योसँगै राष्ट्रियसभाको यो अधिवेशनका सम्पूर्ण औपचारिक कार्यहरू आजै सम्पन्न हुने देखिएको छ।
बैठकको अर्को मुख्य कार्यसूचीमा प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ। मध्याह्न १२:१५ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले उक्त प्रतिवेदन पेस गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ।
यसका साथै विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दहालले सङ्घीय एकाइहरूबीचको विधायिकी अन्तरसम्बन्ध अध्ययन प्रतिवेदन र बालबालिकासम्बन्धी ऐन २०७५ मा रहेका बालसहभागिता सम्बन्धी प्रावधानहरूको कार्यान्वयन मापन प्रतिवेदन पनि सभामा पेस गर्नेछिन्।
संसदीय समितिका तर्फबाट सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले अध्यागमन ऐन २०४९ र सोअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरू सम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
सोही बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोराबारे पनि सदनलाई जानकारी गराउने कार्यसूची रहेको छ।