पुराना दलका कामले जनअपेक्षा पूरा भएन : शाही [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
811
Shares
काठमाडौँ। नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसदहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।
कांग्रेस संसदीय दलले आज वहालवाला र नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूलाई सहभागी गराएर कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा सांसद ललितजंग शाहीले पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टि देखिएको बताए ।
उनले पुराना दलहरूले कुनै काम नगरेको भन्ने कुरा सही नभए पनि जनअपेक्षा अनुसार विकासको गति हासिल गर्न नसकेको वास्तविकता रहेको बताए ।
शिक्षा, स्वास्थ्य, यातायात र सञ्चारजस्ता क्षेत्रमा उल्लेखनीय काम भए पनि अपेक्षित स्तरमा परिवर्तन आउन नसकेको उनको भनाइ थियो ।
अहिले देखिएको प्रतिनिधिसभाको निर्वाचन परिणामले पनि जनताको असन्तुष्टि प्रस्ट पारेको उनले बताए ।
माघ १२ गते राष्ट्रिय सभाका १८ पदका लागि निर्वाचन भएको थियो । सो निर्वाचनमा नेपाली कांग्रेसका ९ जना उम्मेदवार निर्वाचित भएका थिए ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको कार्यक्रममा राष्ट्रिय सभा दलका नेता कृष्णप्रसाद सिटौलालगायत सांसदहरूको उपस्थिति थियो । हाल राष्ट्रिय सभामा कांग्रेसका २४ जना सदस्य छन् ।