कांग्रेस रणनीति: जनपक्षीय प्रस्ताव समर्थन, कानून उल्लङ्घनमा खबरदारी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
672
Shares
काठमाडौँ। नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद कृष्णबहादुर रोकायाले संसदमा पार्टीको भूमिका सक्रिय र जनमुखी रहने बताएका छन् ।
बिहीबार कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूको संयुक्त बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ सरकार गठनपछि बसेको पहिलो संसदीय बैठकमा पार्टीको रणनीतिबारे विस्तृत छलफल भएको जानकारी दिए ।
उनले भने, ‘आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्यो र २१ फागुनको निर्वाचनपछि नयाँ सरकार आइसकेपछि यो पहिलो संसदको बैठक हो । यस बैठकमा नेपाली कांग्रेस कसरी जाने भन्ने सन्दर्भमा छलफल भएको छ ।’
उनका अनुसार बैठकमा कांग्रेस सांसदहरूले संसदमा आफ्नो भूमिका सक्रिय रूपमा निर्वाह गर्ने, सरकारबाट आउने जनपक्षीय र कानूनसम्मत प्रस्तावहरूलाई समर्थन गर्ने तथा विधि र कानून मिचेर देशको हितविपरीत हुने गतिविधिमा सशक्त खबरदारी गर्ने सहमति भएको छ ।
रोकायाले कांग्रेसले सरकारलाई आवश्यक अवस्थामा सहयोग गर्ने तर गलत कदमप्रति सजग र सचेत बनाउने जिम्मेवारी पनि निर्वाह गर्ने स्पष्ट पारे ।
उनले भने, ‘नेपाली कांग्रेसका सांसदहरूले आफ्नो भुमिकालाई सक्रियता पूर्वक भूमिका निर्वाह गर्ने र सरकारले ल्याउने जनताको पक्षमा ल्याउने जति पनि जनपक्षीय सवालमा त्यसलाई समर्थन गर्ने, कानून सम्मत ल्याउने कुरालाई समर्थन गर्दै जाने र विधि र कानूनलाई मिच्दै जाने ढङ्गले देशको अहित हुने कुरामा खवरदारी गरी सरकारलाई सजक र सचेत बनाउछौँ भन्ने कुरामा छलफल भएको छ ।’