arrow

विद्यार्थी संगठनमाथि प्रतिबन्ध फिर्ता लिन सांसद आलेमगरको माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
suresh-ale-mahar-22-12.jpg

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रिय सभा सांसद सुरेशकुमार आलेमगरले विद्यार्थी संगठनहरूमाथि लगाइएको प्रतिबन्ध तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले उक्त निर्णयले पञ्चायतकालीन निरंकुश तानाशाही व्यवस्थाको झल्को दिएको जिकिर गरे।

सांसद आलेमगरले कुनै पनि राजनीतिक दलमा संगठनहरू आबद्ध हुनु संविधान र कानूनअनुसारको अधिकार भएकाले त्यसमा प्रतिबन्ध लगाउनु उचित नहुने तर्क प्रस्तुत गरे।

उनले भने, “यो सरकारले विभिन्न दलमा आबद्ध विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध लगाएको भन्ने कुरा सञ्चार माध्यममा आएको छ। बहुदलीय व्यवस्थामा राजनीतिक विचारका आधारमा विभिन्न दलहरू गठन हुन्छन् र ती दलहरूमा विभिन्न संगठनहरू आबद्ध हुन सक्छन्। यो पूर्ण रूपमा लोकतान्त्रिक अभ्यास हो, कुनै गैरकानूनी वा असंवैधानिक कार्य होइन।”

उनले सरकारको उक्त निर्णयप्रति आपत्ति जनाउँदै तत्काल फिर्ता लिन आग्रह गरे।

“विद्यार्थी संगठनहरूमाथि लगाइएको प्रतिबन्ध खारेज गरिनुपर्छ। यस्तो निर्णयले कतै ३६ वर्षअघि नेपाली जनताले अन्त्य गरेको निरंकुश व्यवस्थाको पुनरागमनको संकेत त होइन भन्ने आशंका उत्पन्न हुन्छ,” उनले भने।

सांसद आलेमगरले सरकार लोकतान्त्रिक मूल्य-मान्यतामा आधारित रहेको विश्वास व्यक्त गर्दै बहुदलीय व्यवस्थामा नागरिकलाई आफ्नो राजनीतिक आस्था र संगठन छान्ने अधिकार सुरक्षित राख्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ