राष्ट्रिय सभाको अधिवेशन आजदेखि, यस्तो छ बैठकको कार्यसूची
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
295
Shares
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन अन्तर्गत राष्ट्रिय सभाको २१औँ अधिवेशन आजदेखि प्रारम्भ हुँदै छ। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको बैठकको कार्यसूची तय गरेको छ।
बैठकको मुख्य कार्यसूचीमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले दलीय आधारमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका विभिन्न आठवटा अध्यादेशहरू पनि आजकै बैठकमा पेस गर्ने निर्णय गरिएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।
सिंहदरबारमा बसेको उक्त परामर्श समिति बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारी तथा सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूको सहभागिता रहेको थियो।
आजै अपराह्न ४:०० बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।