arrow

सुशासनका लागि दलीय स्वार्थभन्दा माथि उठ्न राष्ट्रिय सभा अध्यक्षको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
narayan-dahal-upper-house.jpg

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको हित, समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि राजनीतिक मतभेद तथा पूर्वाग्रहभन्दा माथि उठ्नुपर्नेमा जोड दिएका छन्। 

राष्ट्रियसभाको २१औँ अधिवेशन शुभारम्भका अवसरमा आज सभालाई सम्बोधन गर्दै उनले दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रको आवश्यकता र राष्ट्रिय हितलाई प्राथमिकतामा राखी छलफलमा सहभागी हुन सबै सदस्यहरूलाई आग्रह गरे।

यो २१औँ अधिवेशन बजेट अधिवेशनका रूपमा रहेकाले यसमा सरकारको नीति तथा कार्यक्रम, विनियोजन विधेयक र बजेटमाथि गहन छलफल हुने अध्यक्ष दाहालले बताए। उनले सङ्घीय निजामती सेवा, विद्यालय शिक्षा र नेपाल प्रहरी लगायतका महत्वपूर्ण विधेयकहरूलाई प्राथमिकताका साथ पारित गर्ने जिम्मेवारी संसद्को काँधमा रहेको उल्लेख गरे।

विगतमा विधेयकको निरन्तरता कायम गर्न नसक्दा मुलुकका तत्कालीन आवश्यकता सम्बोधन गर्ने महत्त्वपूर्ण विधेयकहरू निष्क्रिय हुन पुगेको सन्दर्भमा उनले चिन्ता व्यक्त गरे। तालिकाबद्ध बैठक सञ्चालन, समयमै विधेयक दर्ता, संसदीय समितिको सक्रियता र सरकारको सहयोगले मात्र संसद्को कार्यक्षमता बढ्ने उनले बताए।

यसका साथै अध्यक्ष दाहालले संसद्लाई थप समावेशी बनाउने उद्देश्यले यसै अधिवेशनदेखि संसद् बैठकको प्रत्यक्ष प्रसारणमा साङ्केतिक भाषाको सुरुआत गरिएको जानकारी समेत दिए। यस कदमले सूचनाको पहुँचमा सबै नागरिकलाई समेट्न मद्दत पुग्ने विश्वास गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ