सरकारले संसद कमजोर बनाउन अध्यादेशको ओइरो लगायो: सांसद पन्त
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
435
Shares
काठमाडौँ। नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद कमला पन्तले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन् । राष्ट्रिय सभाको २१औँ अधिवेशनको बैठकमा बोल्दै उनले वर्तमान सरकार स्वेच्छाचारी, निरंकुश तथा गरिवविरोधी मानसिकताबाट प्रभावित भएको आरोप लगाइन् ।
उनले फागुन २१ को निर्वाचनपछि शुरू भएको पहिलो बजेट अधिवेशनप्रति जनतामा ठूलो अपेक्षा रहेको उल्लेख गर्दै जनताले राजनीतिक स्थिरता र तीव्र आर्थिक विकासको चाहना व्यक्त गरेको बताइन् ।
तर सरकारका प्रारम्भिक गतिविधि, प्राथमिकता निर्धारण र प्रस्तुत हुने शैलीले जनताको अपेक्षा विपरीत निराशा पैदा गरेको उनको भनाइ थियो ।
उनले भनिन्, ‘फागुन २१ को निर्वाचनपछि पहिलो बजेट अधिवेशनमा हामी प्रवेश गरेका छौँ। यतिखेर जनताका अनगिन्ती आकांक्षाहरुबाट घेरिएका छौँ। जनताले आफ्नो मतका माध्यमबाट राजनीतिक स्थिरता र तीव्र आर्थिक विकासको चाहना प्रस्ट प्रकट गरेका छन्। सरकारको प्रारम्भिक दिनका गतिविधि र कार्यशैली हेर्दा दु:खका साथ भन्नुपर्छ कामहरूको प्राथमिकता निर्धारण र प्रस्तुत हुने शैली र शासकीय मानसिकताका दृष्टिले स्वच्छाचारी, निरकुंश तथा असह्य र गरिबविरोधी देखिएको छ।’
पन्तले प्रतिनिधिसभाको निर्वाचनमार्फत नयाँ सरकार गठन भए पनि सोही संसद सरकारको पहिलो निशानामा परेको आरोप लगाइन् ।
उनले बोलाइसकेको संसद बैठक बिना कारण स्थगित गरिएको तथा संसदको कानून निर्माण गर्ने विशेषाधिकार कमजोर बनाउन अध्यादेशको अत्यधिक प्रयोग गरिएको दाबी गरिन् ।
उनले भनिन्, ‘चुनाव प्रतिनिधिसभाका लागि भयो । प्रतिनिधिसभाको आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर नयाँ सरकार निर्माण गर्यो । तर दुर्भाग्य, त्यही संसदमाथि सरकारको पहिलो आक्रमणमा पर्यो। बोलाइसकेको संसदको बैठक विना कारण र आधारविना नै स्थगित गरियो। ऐन, कानून निर्माण गर्ने संसदको विशेषाधिकारलाई कमजोर तुल्याउने मनसायले अध्यादेशको ओइरो लगाइयो । बजेट वक्तव्यपूर्ण सम्पन्न गर्ने कामहरूमा समेत सरकारको कर्मकाण्डी व्यवहार छर्लङ देखिएको छ।’
उनले बजेटसँग सम्बन्धित कार्यहरूमा समेत सरकारको कर्मकाण्डी व्यवहार देखिएको टिप्पणी गर्दै लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाएको बताइन्।