- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बेसीशहर । ठाडोभाकाका अभियन्ता दीर्घराज अधिकारी अर्थात ‘भेडीखर्के साँइला’को निधन भएको छ ।
चौरासी वर्षको उमेरमा सोमबार साँझ उनको निधन भएको हो । सुन्दरबजार नपास्थित आफ्नै छोरीज्वाँइको निवासमा उनको निधन भएको नाति सुबोध लौडारीले बताए ।
चिकित्सकका अनुसार उनलाई एक महिनादेखि दमका साथै ज्वरो, खान मन नहुनेलगायत समस्या रहेको र शरीरमा पानीको मात्रा निकै कम हुँदै गएको थियो ।
लामो समयदेखि बिरामी पर्दै आएका अधिकारीको जिल्लास्थित अस्पताल तथा उपचार केन्द्रहरूमा उपचार हुन नसकेपछि उनको थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।
काठमाडौँमा उपचारपछि दुई दिनअघिमात्रै लमजुङ ल्याइएको थियो ।
विसं १९९० भदौ २९ मा लमजुङको सिन्दुरे, तुर्लुङकोटमा जन्मिएका भेडीखर्के साँइला लोपोन्मुख ठाडो भाका (लोकगीतको भाका) गाउने एक मूर्धन्य व्यक्तित्व थिए ।
ठाडोभाकाका अभियन्ता भेडिखर्के साँइलाले नौ वर्षको उमेरदेखि गाउन थालेका थिए ।
चर्चित र लोकप्रिय भेडीखर्के साँइलालाई नागरिकहरूले ‘ठाडोभाका शिरोमणी’को उपाधि पनि दिएका थिए ।
उनले एकमहिना अघिसम्म पनि जिल्लाका सभासमारोहमा सो भाकाका गीत गाउँदै हिँडेका थिए ।
दुराडाँडाको ठुलोस्वाराबाट देउबहादुर दुराले गाउन सुरु गरेको ठाडो भाकालाई भेडीखर्के साइँलाले अघि बढाएका थिए ।
ठाडोभाका लमजुङको मात्रै नभई पश्चिमाञ्चलको सम्पत्तिका रुपमा रहेको छ । सिन्दुरेमा रहँदा उहाँका बुवाको भेडीगोठ थियो ।
खर्कमा भेडा पाल्ने र दाजुभाइमध्ये साइँला भएकाले उनको नाम ‘भेडीखर्के साँइला’ रहन गएको थियो ।
पछि यही नाम ठाडोभाकाको पर्यायवाची जस्तै बनेको थियो ।
२०६५ माघ १८ गते हिमचुली कला साहित्य प्रतिष्ठानले उनलाई ‘ठाडोभाका गायन शिरोमणि’उपाधि दिएको थियो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । रासस