- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पुनर्वास,कञ्चनपुर । करिब डेढ साता देखि बढेको अत्यधिक चिसो र शितलहरका कारण पश्चिम नेपालको कञ्चनपुरको जनजीवन नराम्ररी प्रभावित भएको छ । केही दिन यता पश्चिम नेपालको कैलाली कञ्चनपुरमा एक्कासी बढेको चिसोले सुकुम्बासी,आरक्ष पीडित तथा मुक्त कमैया बस्तीका बासिन्दा बढी प्रभावित बनेका छन् । न्यानो लुगा र चिसो छल्ने सामर्थ्य नभएका टहराहरुको बसाईका कारण गरिब बस्तीका बासिन्दा चिसोबाट प्रभावित भएका हुन ।
वर्षकै अधिक जाडोका कारण बालबालिका तथा वृद्धहरुमा रुघाखोकी ,ज्वरो श्वासप्रश्वास सम्बन्धि समस्या देखिन थालेको कृष्णपुर नगरपालिका २ स्थित बाणी मुक्तकमैया बस्तिका खुशिराम चौधरीले बताए । अत्यधिक चिसोबाट जोगिन घर परिवारलाई आबश्यक न्यानो लुगाफाटो नभएका कारण कठ्याङ्ग्रीदो जाडोका कारण प्रभावित हुन परेको ढक्का आरक्ष पीडित शिबिरमा बस्दै आएकी सरिता नेपालीले बताइन ।
चिसोका कारण गरिबीको मार खेप्दै आएको आरक्ष पीडित बस्तीका गर्भवती ,सुत्केरी महिला,नवजात शिशु,केटाकेटी र बृद्धअबश्था नागरिक हरुको स्वास्थ्य नराम्ररी प्रभावित भएको उनले बताइन । चिसोका कारण आर्थिक अबस्था दयनीय भएको बस्तीमा बालबालिका र वृद्धहरुमा रुघाखोकी ज्वरो तथा स्वासप्रस्वास सम्बन्धी समस्या देखिन थालेको छ । झन्डै डेढ साता देखि पश्चिम नेपालको कैलाली -कञ्चनपुरमा बढेको चिसोका कारण मानव जनजीवन मात्रै नभइ तरकारी बाली समेत प्रभावित बनेको छ ।
बाक्लो हुस्सु,कुहिरो र शितलहरका कारण कृषकहरुले लगाएको आलु,गोलभेडा लगायतका तरकारीबाली नष्ट हुन थालेको छ । यो संगै तेलहनबालीका रुपमा कैलाली -कञ्चनपुरमा गरिदै आएको तोरीबाली समेत नष्ट हुने जोखिम बढेको कृषकहरु बताउँछन् । बाक्लो हुस्सु ,कुहिरो र शितलहरका कारण ग्रामिण भेगका स्वास्थ्य संस्थाहरुमा रुघाखोकी ,ज्वरो,निमोनिया र स्वासप्रस्वास सम्बन्धि बिरामीहरुको संख्या बढेको परासन स्वास्थ्य संस्थाका प्रमुख नन्द कुमार देबले बताए ।
अत्यधिक चिसोका कारण यहाँको यातायात सेवा समेत प्रभावित बनेको छ । चिसोले घर बाहिर हिड्डुल गर्न कठिनाइका कारण मानिसहरु यात्रामा निस्कन सकेका छैनन् । चिसो र जाडो छल्न स्थानीयहरु आँगन,चोक चौराहामा आगो बालेर ताप्न बाध्य भएका छन् । कैलाली कञ्चनपुरमा एक्कासि बढेको जाडोका कारण जनजीवन प्रभावित भइ रहे पनि ग्रामिण भेगका गरिब,बिपन्न,आरक्ष पिडित ,मुक्तकमैया तथा सुकुम्बासी बस्तीमा जाडोको प्रभाव घटाउन स्थानीय निकाय र प्रशासनले लत्ताकपडा ,दाउरा लगायतका सामाग्री बितरणको कुनै कार्यक्रम ल्याउन नसक्दा स्थानीयको जनजीवन थप कष्टकर बनेको छ ।