arrow

४५ सन्तानकी आमा मीना

logo
तेजन खड्का,
प्रकाशित २०७५ जेठ ७ सोमबार
mina.jpg

उर्लाबारी । सुरुका दिनमा वाल गृह सन्चालन गर्दा ‘कमाईने खाने’ भाडो बनाउन संस्था खोलेको भन्दै कतिपयले कुरा काट्दा मोरङ उर्लाबारीकी मीना बराललाई राम्रो काम गर्न  खोज्दा पनि साथ नपाइने हो कि भनेर नरमाईलो लाग्थियो । तर सोच सही भएकाले आज तिनै बराल सफल तथा उदाहरणिय महिला समेत बनेकी छिन् ।

भन्छिन ‘ अहिले सुरुमा विरोध गर्नेले पनि मलाई सकारात्मक रूपमा लिन थालेका छन् ।’ इच्छाशक्ति भए जस्तोसुकै जटिल काम पनि गर्न सकिँदो रहेछ भन्ने उदाहरण पेश गरेकी उर्लाबारी–४ की मीनाले  कसैको प्रेरणा तथा सहयोगविना नै १६ वर्षअघि आठ अनाथ बालबालिकालाई आफ्नै घरमा लगेर पालेकि थिईन् ।

हाल मीना अध्यक्ष रहेको नमुना बाल गृहमा ४५ जना बालबालिका छन् । वैवाहिक जीवनको सुरुआतबाटै दुःखकष्ट बेहोर्नुपरेपछि बाँकी जीवन अनाथहरूका लागि सुम्पने निर्णय गरेकी मीना अहिले पूर्वाञ्चल क्षेत्रकै उदाहरणीय र प्रशंसनीय महिला बनेकी छन् । यो क्षेत्रमा अहिले उनको कामको प्रशंसा नगर्ने व्यक्ति कमै भेटिन्छन् ।


२०५७ सालमा सात अनाथ बालबालिकालाई घरमा ल्याएर पाल्न सुरु गरेकी मीनालाई अहिले स्थानीय १४ महिलाले साथ दिइरहेका छन् । उनले १९ साउन २०५७ मा महिला विकास केन्द्र र बालबालिका चेतना केन्द्रका रूपमा नमुना शिक्षा सदन दर्ता गराएकी थिइन् । उर्लाबारी, राजघाट, पथरी, दमकलगायत क्षेत्रका मानिसबाट सहयोग उठाएर सुरुका दिनमा सञ्चालन भएको यस संस्थामा हाल ३ करोड रुपैयाँभन्दा बढी सम्पत्ति जम्मा भइसकेको छ । उर्लाबारी–४ स्थित यस संस्थाको नाममा १७ कट्ठा जग्गासहित २२ कोठे भवनसमेत बनिसकेको  छ । मुगु, भक्तपुर, धनकुटा,झापा,मोरङ, सुनसरी,इलाम पाँचथर लगायत २० जिल्लाका नर्सरी देखी देखी प्सस टु सम्म पढ्ने बालबालिका यहाँ रहेका छन् । अहिले सदनले आन्तरिक आयस्रोत वृद्धिका लागि गाईपालनसमेत गरेको छ ।

वार्षिक १७ लाख रुपैयाँ खर्च हुने यस शिक्षा सदनको सम्पूर्ण खर्च स्थानीयको सहयोग तथा संस्थाको अक्षयकोषमा निर्भर छ । हाल यस संस्थाको आम्दानीको स्रोतका रूपमा अध्यक्ष मीनाले प्रदान गरेको ७० लाख रुपैयाँमध्ये करिब ५७ लाख रुपैयाँको नगद जिन्सी सहितको अक्षयकोष स्थापना गरिएको छ ।

सोही अक्षयकोषको आम्दानी र विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाले गरेको सहयोगमा निर्भर रहेको छ । यस्तै, संस्थाको नियमित सहयोगी संस्थाका रूपमा रहेको एनआईसी बैंकले वार्षिक १ लाख ८० हजार रुपैयाँ प्रदान गर्दै आएको छ । नमुना शिक्षा सदन सञ्चालक समितिका सदस्य तथा स्थानीय बासिन्दा प्रह्लाद थापा भन्छन्, ‘मीना बरालसहितका महिलाहरूले गरेको यो कार्य देशको मात्र नभई अन्तर्राष्ट्रिय जगतमै उदाहरणीय छ । उहाँहरूको काममा हामी पनि सहभागिता हुन पाउँदा धेरै पुण्य गरेको महसुस भएको छ ।’

संस्था सञ्चालनका लागि आर्थिक समस्या देखिन थालेपछि अहिले ‘एक रुपैयाँबाट एक करोड’ भन्ने अभियान थालिएको छ । ‘८ हजार ५ सय मानिसबाट दैनिक १ रुपैयाँका दरले पाँच वर्षसम्म सहयोग संकलन गर्दा डेढ करोड रुपैयाँ हुन्छ, यति रकम अक्षयकोषमा जम्मा गर्न सके संस्था सञ्चालनका लागि हारगुहार गर्न आवश्यक पर्ने थिएन,’ थापाले भने । हाल संस्थामा विभिन्न कामका लागि नौजनाले निःशुल्क सेवा प्रदान गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ