चीन आफैँ शरणार्थी सन्धिमा हस्ताक्षर गर्ने राष्ट्र हो, तिब्बतीयनमाथि प्रहार गर्न पाउँदैन (अन्तर्वार्ता)
प्रकाशित २०७५ असार १२ मंगलबार
1.6k
Shares
काठमाडौं। प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा भएको सहमति, जसले गम्भीर प्रश्न उब्जाएको छ । त्यो सहमतिले नेपालमा रहेका तिब्बती शरणार्थीलाई प्रहार गर्छ भन्ने, शंकाहरु थुप्रै उब्जाएको छ। प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा आएको संयुक्त बक्तव्यको दश नम्बर बुँदामा सुपुर्दगी सन्धीको कुरा गरिएको छ । त्यो बुँदामा, ‘सीमा क्षेत्रको प्रशासनको सहकार्य बलियो बनाउन र अवैध सीमापार तथा अन्तर्राष्ट्रिय अपराध नियन्त्रणका लागि आपराधिक कार्यहरुमा आपसी कानूनी सहायता सन्धि र सुपुर्दगी सन्धिबारे छलफल गर्न दुवै पक्ष सहमत भएका छन्, भनिएको छ । यसले के संकेत गर्छ । नेपालमा रहेको शरणार्थी सम्बन्धि राष्ट्र संघीय उच्च आयोगको प्रतिक्रिया आउन बाँकि छ । अर्कोतिर यो थाहा पाउनेवित्तिकै छिमेकी मुलुक भारतले के सोच्ला ? भारतले कयौँ समयदेखि पर्खिरहेको छ, सुपुर्दगीका लागि, यो अवस्थामा सरकारले चीनसँग गरेको सहमतिको असर कहाँ–कहाँ पर्ला ? सुपुर्दगी गर्दा अन्तर्राष्ट्रिय मूल्य मान्यता के हो ? र, कुनै पनि व्यक्ति घुसपैठीया हो वा सामान्य नागरिक कस्ले छुट्टयाउने हो ? हामीले यिनै सन्दर्भमा रहेर अन्तर्राष्ट्रिय कानुनका जानकार वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीसँग कुरा गरेका छौँ ।
० प्रधानमन्त्रीको चीन भ्रमणमा आएको संयुक्त वक्तव्यमा सुपुर्दगी सन्धिको कुरा आयो, यसले के सन्देश दिन्छ ? हामीले के बुझ्ने हो ?
–कुनै पनि दुई मुलुक, खासगरी खुल्ला सीमा भएका मुलुकहरुमा यस किसिमका समस्याहरु हुन्छन् । अपराध गर्ने व्यक्तिहरु एक देशबाट अर्को देशमा लुक्ने, अर्को देशमा जाने समस्या हुन्छन् । त्यसरी अपराधलाई नियन्त्रण गर्नका लागि र आपराधिक कृयाकलापलाई नियन्त्रण गरी कानुनको दायरामा ल्याउनका लागि सुपुर्दगी सन्धि आवश्यक हुन्छ । तर, समस्या के हुन्छ भने, यदि सुपुर्दगी सन्धि राजनीतिक रुपमा पोलिटिकल्ली मोटिभेटेड छ भने, त्यसले केही समस्याहरु निम्त्याउँछ । अहिले प्रधानमन्त्रीको चीन भ्रमणको सन्दर्भमा दुई देशको संयुक्त वक्तव्य आएको छ । त्यसको बुँदा १० मा यहाँले भनेको कुरा उल्लेख गरिएको छ । यसले प्रष्ट के भन्छ भने, गैरकानुनी रुपमा सीमा पार गर्ने कार्य र बहुउद्देश्यीय अपराध ट्रान्समिसन क्राइमलाई नियन्त्रण गर्नका लागि नेगोसियशन गर्ने भन्छ । सैद्धान्तिक रुपमा यो राम्रो कुरा हो । यसको प्रसंशा गर्नु पर्छ । तर, यसको प्रभाव कहाँ हुनसक्छ भने, खास गरी तिब्बतीयनहरु जो नेपालमा शरणार्थीको रुपमा आउँछन् । स्वतन्त्र तिब्बतमा लागेका मान्छेहरु पनि आउने गरेका छन्। उनीहरु शरणार्थीका रुपमा यहाँ बस्छन् । त्यसलाई नियन्त्रण गर्नका लागि यो सन्धिको प्रयोग गरियो भने यो निकै संवेदनशील विषय हुनसक्छ। यसले एउटा अन्तर्राष्ट्रिय चासो बढाउँछ ।
० यहाँ शरणार्थीको सम्बन्धमा काम गर्ने राष्ट्रसंघीय उच्च आयोगको कार्यालय पनि छ । त्यसको प्रतिक्रिया सुन्न बाँकि छ । तर, समस्या के भने, चीनले तिब्बती शरणार्थीलाई राजनीतिक विस्थापित मानिरहेको छैन । आपराधिक गतिविधिमा संलग्न भन्दै आएको छ । त्यसो हो भने, यो सन्धि गरेर भटाभट नेपालले चीनलाई बुझाउनु पर्ला, अनि त्यसको असर कहाँ कहाँ पर्छ ?
–त्यसको पोलिटिकल असर धेरै हुनसक्छ । म राजनीतिक भन्दा आफुलाई कानुनी कुरामा केन्द्रीत गर्छु । जुन संयुक्त राष्ट्र संघीय रेफ्यूजी कन्भेन्सन छ, १९५१ र त्यसको प्रोटोकल १९५७ जुन छ । त्यो दुईवटैको नेपाल पक्ष राष्ट्र होइन। नेपालले त्यसमा हस्ताक्षर पनि गरेको छैन । त्यसको सदस्य पनि छैन । बरु चीन त्यसको सदस्य राष्ट्र हो । उसले शरणार्थीमाथि प्रहार गर्न पाउँदैन। भारत पनि त्यसको सदस्य छैन । यो अवस्थामा हामीले शरणार्थीहरुको बारेमा व्यवस्था गर्दा हामीले आफ्नो घरेलु कानुन बमोजिम गर्नु पर्छ । त्यो सन्धिको पक्षधर राष्ट्र भएपनि हामीलाई घरेलु कानुन चाहिन्छ नै । शरणार्थीहरुलाई कानुनी स्टाटस दिने, उनीहरुलाई ट्राभल डकुमेन्ट दिने, उनीहरुलाई पेशा गर्न दिने, उनीहरुका अधिकारको सिर्जना गर्ने एवं उनीहरुलाई रेकोनाइज गर्ने पर्याप्त कानुन हामीसँग भए जस्तो लाग्दैन । त्यसैले तिब्बतबाट नेपाल आउने मान्छेहरु कुन स्टाटसमा नेपालमा बसेका छन् । कति शरणार्थी छन् । त्यसको डेटा मसँग छैन । त्यो सरकारले राख्नु पर्ने हो, त्यो तपाई पत्रकारहरुले माग्न सक्नु हुन्छ । अहिलेसम्म कति मान्छे आए, उनीहरुको हैसियत के छ ? उनीहरु नेपालमै छन कि नेपालबाट बाहिर गए कि ?, विदेश गएपछि उनीहरुको अवस्था के भयो ? त्यसको अध्ययन अनुसन्धान गरिनु पर्ने हो । स्वतन्त्र तिब्बत अभियानमा लागेकाहरुलाई चीनले अपराधी भन्ने र सुपुर्दगी गरेर फिर्ता गर्ने हो भने, त्यसको असर अन्तर्राष्ट्रिय जगतमै पर्छ । शरणार्थी कानुनले के भन्छ भने, संकटमा परेका मान्छेहरुले एक देशबाट अर्को देशमा अवैध रुपमा जान्छन् भने त्यसरी आएका मान्छेलाई पनि फेरि समातेर फिर्ता गर्न पाइँदैन, भन्छ । त्यो के हुनुपर्छ भने त्यो प्रसिच्यूसन हुनुपर्छ । त्यो धार्मिक रुपमा, जातीय रुपमा, सांस्कृतिक रुपमा र राजनीतिक विचारका कारणले दमन कसैलाई गरिन्छ र, दमनको कारणले कोही व्यक्ति आफ्नो मुलुकभित्र बस्दैन र अर्को मुलुकमा जान्छ भने त्यो शरणार्थी हो । स्वतन्त्र तिब्बत चीनको लागि एउटा आपत्तिजनक हुनसक्छ । तर, त्यो राजनीतिक विषय भएकाले, त्यसको असरले कोही नेपालमा आए भने त्यसलाई शरणार्थीका दर्जा दिनुपर्ने हुन्छ । ती मान्छेहरुलाई समातेर चीनमा बुझाईयो भने त्यसले अन्तर्राष्ट्रिय कानुनको कुरा उठ्न सक्छ, अमेरिकी र युरोपियनहरुको चाँसो अत्यधिक बढ्नसक्छ । किनभने, धेरै तिब्बती शरणार्थीहरु नेपाल आएर ट्राभल डकुमेन्ट बनाएर युरोप अमेरिका जाने गरेका छन् । नेपाल ट्रान्जिट पोइन्ट भएको छ । त्यसैले यो विषय राजनीतिक रुपमा निकै गम्भीर हो ।
० त्यसो हो, भने कुनै पनि व्यक्तिको गतिविधि राजनीतिक वा आपराधिक हो भनेर छुट्टयाउने चैँ कसले हो ?
–पीटीले के भन्छ भने, त्यसमा राखेको शब्द नै प्रसिच्यूसन भन्ने छ, दमन । यो दमन चैँ धार्मिक आस्थाका कारणले, सांस्कृतिक आस्थाका कारणले, जातीय आस्थाका कारणले र राजनीतिक विचारका कारणले यदि कुनै व्यक्ति आफ्नो मुलुकभित्र बस्न सक्दैन र अर्को मुलुकमा जान्छ भने त्यस्तो व्यक्तिलाई शरणार्थी भन्ने हो । दुनियाभरको विवरण हेर्ने हो भने नेपालको कुल जनसंख्याको पाँच गुणा बढी विश्वभर शरणर्थीको जीवन विताईरहेका छन् । यहाँले भने अनुसार १४ सय तिब्बती शरणार्थी नेपालमा छन् । कहिलेबाट उनीहरु आउन थाले ? अहिलेसम्म कति संख्या भयो ? उनीहरुले नेपालको कुन कानुन अनुसार शरणार्थीको दर्जा पाए वा पाएका छैनन् ? यो यदि अनुसन्धान भएको छैन भने यहाँहरुजस्तो मिडियाले बाहिर ल्याउनै पर्छ। शरणार्थीबारे गभर्न गर्ने हामीसँग पर्याप्त कानुन छैन । कानुन नभएको अवस्थामा कसरी गरिएको छ भन्ने पनि मलाई थाहा छैन । चीनसँग सहमति गरेको कुरा नराम्रो होइन । तपाईको प्रश्न भोलि त्यसको राजनीतिक असर पर्ला कि भन्ने हो । शरणार्थी लक्षित नै हो भने, भोलि हाम्रो अमेरिका र युरोपसँगको सम्बन्ध चौपट हुन्छ । राजनीति आस्थाका कारण बाहिरिएका हुन् भने, समातेर फिर्ता गर्न पाइँदैन । स्वतन्त्र तिब्बत राजनीतिक आस्थाको आन्दोलन हो । चीनसँग भएको एमओयू राम्रो हो । हामीले आफ्नो मुलुकमा कुनैपनि मुलुकविरुद्ध गतिविधि हुनदिनु राम्रो होइन । समग्रमा हेर्दा यसको सैद्धान्तिक र कानुनी पाटोमा समस्या होइन । राजनीतिक असरहरु रहनसक्छन् ।
० चीनले अहिले पनि सीमा क्षेत्रमा चीनबाट आएकाहरुलाई जताबाट आएको उतै फर्काउ भनेर दबाब दिइरहेकै छ । उदाहरणकै लागि दोलखाको लामाबगरबाट वारि आउन दिँदैन । स्वतन्त्र तिब्बतकै गतिविधिकै कारण तातोपानी नाका नखोलेको भन्ने कुरा परराष्ट्रविद्हरुले बारम्बार भनिरहेका छन् । यति जान्दा जान्दै सरकारले सुपुर्दगीको सहमति गर्नुलाई लिने कसरी हो ?
–कुरा प्रस्टै छ । अवैधरुपमा नेपाल आउने चाहे तिब्बतीयन हुन वा चाहे अरु हामी हाम्रो मुलुक छिर्न दिँदैनौ भनेर नेपाल सरकारले सहमति नै गरेको ठहरिन्छ । पहिले सरकारले सहमति गर्थे काम गर्दैन थिए । तिब्बतीयनहरु यहाँ आउँथे बाहिर जान्थे । अब त्यति सजिलो भने हुँदैन होला । अब सरकारले अडान चैँ पक्का लिन्छ । अहिले भएका सम्झौताहरुमा सरकारले एउटा अडान लिन्छ नै । सजिलै नेपाल आउन नसक्लान् । तर, यसका असरहरु के हुन्छन् त्यो हेर्न बाँकी नै छ । अरु मुलुकले कसरी लिन्छन् । हेर्न बाँकी नै छ ।
० भारतले योबाट के बुझ्दछ ?
–भारतले हामीसँग पनि सुपुर्दगी हुन्छ भन्ने बुझ्दछ । त्यो राम्रै कुरा हो । भारतसँग पनि हुनुपर्छ । भारतमा अपराध गरेर नेपालमा लुक्ने, नेपालमा अपराध गरेर भारतमा लुक्ने जो गतिविधि बढेको छ । त्यो गतिविधि नियन्त्रण हुनैपर्छ । तर, हाम्रो खुल्ला सीमानाका कारण त्यति सजिलो छैन । यस्तो अवस्थामा किन सुपुर्दगी सन्धि नभएको हो भने, खुल्ला सीमाना छ । मान्छेहरु यता, उता गरिरहेका हुन्छन् । भोलि सरकारले समातेर सुपुर्दगी गर्न पनि गाह्रो हुन्छ । सीमा व्यवस्थापन भयो भने यो सन्धि गर्दा हुन्छ । चीनसँग गरेकै कारण भारत रिसाउने भन्ने कुरा हुँदैन । अपराधका गतिविधि नियन्त्रण आवश्यक छ । सुरक्षाको लागि पनि यो जरुरी छ । तर, राजनीतिक दमनमा परेका व्यक्तिहरुलाई नै बुझाउने कुराले शरणार्थी सम्बन्धी सन्धि उल्लंघन हुन्छ । त्यो नेपालबाट भन्दा पनि चीनबाटै बढी उल्लंघन भएको मानिन्छ । सुपुर्दगी गर्नुको अर्थ अन्तर्राष्ट्रिय कानुनलाई चुनौती दिने र मानवअधिकारका मूल्य मान्यता विर्सने भन्ने कुरा हुँदैन। अन्तर्राष्ट्रिय कानुनको पालना र मानवअधिकारको रक्षा गर्दै सुपुर्दगीको सही उपयोग गर्नु पर्दछ । यो अति सवेदनशील विषय हो ।