प्रिक्वार्टरफाइनलको पहिलो खेलमा दुई उपाधि दाबेदार टोली भिड्दै, कसको पल्लाभारी ?
प्रकाशित २०७५ असार १६ शनिबार
482
Shares
काठमाडौं। शनिबार विश्वकपमा नकआउट चरणका खेलहरु सुरु हुँदैछन्। नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिना र फ्रान्सको बीचमा प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार बेलुका पौने ८ बाट यी दुई टोलीको बीचमा प्रतिस्पर्धा सुरु हुनेछ। यो अन्तिम १६ को यो यी दुई टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुनेछ।
समुह सीको विजेताको हैसियतमा अन्तिम १६ मा पुगेको फ्रान्सको टोली युवा खेलाडीहरुले भरिएको छ। यो टोली कुनै पनि टोलीलाई हराउने सामर्थ्य भएको टोली हो। समुहचरणमा पनि यो टोलीले निकै राम्रो प्रदर्शन गरेको थियो। समुहचरणका तीन खेलमा फ्रान्सले दुई टोलीलाई हराएको थियो भने अन्तिम खेलमा बराबरीको नतिजा हासिल गरेको थियो। यस्तोमा सात अंकका साथमा फ्रान्सले अन्तिम चरणमा स्थान बनाएको हो।
फ्रान्सले समुह चरणमा आफ्नो सन्तुलित खेल प्रस्तुत गरेको थियो। ठुला भनिएका टोलीहरुको प्रदर्शन कमजोर रहेको अवस्थामा फ्रान्सले पनि समुहका कुनै पनि खेल हारेन। जसको कारण अन्तिम १६ को पहिलो खेलमा बलियो आत्मविश्वासका फ्रान्सको टोली मैदानमा उत्रिनेछ।
अर्जेन्टिनाको लागि भने शनिबार निकै कठिन हुनसक्ने देखिन्छ। समुहचरणको सुरुवाती दुई खेलमा आशा गरिए अनुसारको प्रदर्शन गर्न सकेको थिएन। पहिलोपटक विश्वकपमा आएको टोली आइसल्याण्डसँग बराबरीको नतिजा हासिल गरेको टोलीले दोस्रो खेलमा क्रोएसियासँग ३–० को हारको नतिजा हासिल गरेको थियो। यो नतिजाले अर्जेन्टिनालाई ठुलो धक्का पुगेको थियो, यसले उसको लागि अन्तिम १६ मा पुग्ने सम्भावना पनि कमजोर बनाएको थियो। अन्तिम खेलमा भने अर्जेन्टिनाले केही महत्वपूर्ण सुधार गरेको थियो।
अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेस्सीले आफूहरु फ्रान्सको खेलका लागि तयार रहेको र फ्रान्सको खेलअनुसार नै आफूहरुले तयारी गरिरहेको बताएका छन्। फ्रान्स सन् १९९८ पछि दोस्रो विश्वकपको उपाधि हासिल गर्ने योजनामा अघि बढिरहेको छ भने अर्जेन्टिना चार वर्षअघि फाइनल खेलमा बेहोरेको हारलाई बिर्साउँदै तेस्रोपटक विश्वकप उपाधि हासिल गर्ने दाउमा रहेको छ। यस्तोमा शनिबारको खेलसँगै एकको सपना यहीँबाट समाप्त हुनेछ।
हेड टु हेड
शनिबार हुन गइरहेको प्रतिस्पर्धा फ्रान्स र अर्जेन्टिनाको बीचमा हुन गइरहेको १२ औं भेट हो। यसअघिका ११ खेलमा अर्जेन्टिनाको पल्लाभारी देखिन्छ। अर्जेन्टिनाले छ खेलमा जित हासिल गरेको छ भने फ्रान्सले केवल दुई खेलमा जित हासिल गरेको छ। बाँकी खेलहरु भने बराबरीमा सकिएका छन्। उनीहरुको बीचमा पछिल्लो दुई खेलमा अर्जेन्टिनाले फ्रान्सकै भूमिमा जित हासिल गरेको थियो।
प्लेयर्स टु वाच पाउल पोग्वा (फ्रान्स)
फ्रान्सका पाउल पोग्वाको भूमिका शनिबार हुने खेलमा निकै महत्वपूर्ण हुनसक्ने देखिन्छ। डेनमार्कसँगको खेलमा आशा गरिएअनुसारको प्रदर्शन गर्न नसकेका यी खेलाडीले शनिबार भने निकै राम्रो प्रदर्शन गर्नसक्ने अपेक्षा गरिएको छ। अर्जेन्टिनाको टोलीका लागि सकारात्मक नतिजा हासिल गर्ने हो भने पनि यी खेलाडीमा नजर राख्नु जरुरी हुन्छ।
लियोनेल मेस्सी (अर्जेन्टिना)
अर्जेन्टिनाको टोलीमा लियोनेल मेस्सीको भूमिका निकै महत्वपूर्ण हुनेछ। उनकै महत्वपूर्ण गोलको सहयोगमा अर्जेन्टिनाले अन्तिम १६ को यात्रा तय गरेको हो। पहिलो दुई खेलमा राम्रो प्रदर्शन गर्न नसकेको कारण आशा गरिएअनुसारको नतिजा हासिल गर्न नसकेको टोलीले अन्तिम खेलमा भने उनकै उत्कृष्ट प्रदर्शनको सहयोगमा नाइजेरियासँग जितको नतिजा हासिल गरेको थियो। शनिबारको खेलमा फ्रान्सको एकमात्र उद्देश्य मेस्सीलाई रोक्नु हुनेछ।