आयोजक रसियाको विश्वकप यात्रा समाप्त, क्रोएसिया सेमीफाईनलमा
प्रकाशित २०७५ असार २४ आइतबार
501
Shares
काठमाडौं। आयोजक रसिया विश्वकप फुटबलको क्वार्टरफाईनलबाट बाहिरिएको छ। क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित हुँदै बाहिरिएको हो।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट १-१ गोल भएपछि खेल थप समयमा गएको थियो। खेलको ३१औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै रसियालाई अग्रता दिलाएका थिए। क्रोएसियाका आन्द्रेज क्रामारिचले ३९औं मिनेटमा गोल गर्दै खेल १-१को बराबरीमा पुर्याएका थिए।
त्यसपछि ९० मिनेटसम्म थप कुनै गोल नहुनसकेपछि थपिएको ३० मिनेटमा दुवै टोलीले थप १-१ गोल गरेका थिए। खेलको १००औं मिनेटमा क्रोएसियाका डोमागोज भिडाले गोल गर्दै २-१को अग्रता दिलाएका थिए। ११५औं मिनेटमा रसियाका मारियो फिग्वेरा फरनान्डेजले गोल गर्दै खेल २-२को बराबरीमा पुर्याएका थिए।
रसिया र क्रोएसियाको खेल रोमाञ्चक भएको थियो। शुरुमा रसियाले आफ्नो घरेलु मैदानमा अग्रता लिंदा खेलमा रसिया हावी हुने अनुमान गरिएको भए पनि क्रोएसियाले आफ्नो लय समात्दै खेलमा फर्केको थियो। दुवै टोलीले पालैपालो गोल गरि दिंदा खेलको अन्तिम नतिजा के हुने अनुमान गर्न दर्शकहरुलाई गाह्रो परेको थियो।
खेल टाईब्रेकरमा गएपछि भएको पेनाल्टी सुटआउटमा रसियाले २ पेनाल्टीलाई गोलमा परिणत गर्न सकेन भने क्रोएसियाले एउटा पेनाल्टीमा गोल गर्न सकेको थिएन।
रसियाकालागि फ्योदोर स्मोलोभ र मारियो फिग्वेरा फर्नान्डेसले गोल गर्न सकेका थिएनन्। स्मोलोभको बल क्रोएसियाका किपरले रोकेका थिए भने फर्नान्डेसले बाहिर प्रहार गरेका थिए। क्रोएसियाकालगि माटेओ कोभासिचको प्रहार रसियाका किपरले रोकेका थिए।
क्रोएसियाले आफ्नो सेमीफाईनल खेल ईङल्याण्डसँग खेल्नेछ।