arrow

विल क्लिन्टनको नीतिले पछुताउदै अमेरिका

logo
ब्रह्मा चेलानी, 
प्रकाशित २०७५ कार्तिक ७ बुधबार
bill-clinton.jpg

काठमाडौं। लामो समयदेखि चीनको विषयमा अमेरिकाले अघि सारेको योजना अहिले परिवर्तन हुने संघारमा रहेको छ। दशकभन्दा लामो समयसम्म चीनसँग अमेरिकाले सम्बन्ध विस्तारको योजनामा काम गरिरहेको थियो। यो नीतिले चीनलाई फाइदा पनि पुगेको थियो। यद्यपि चीनले यो अवधिमा विभिन्न अन्तर्राष्ट्रिय नियम र मान्यताहरुको उलंघन गर्दै आएको थियो।

अहिले अमेरिका सक्रिय र बलियो किसिमको प्रत्युत्तर दिने नयाँ योजनामा अघि बढिरहेको छ। तथापि चीन अहिले अमेरिकाको सहयोगमा निकै माथि आइसकेको छ, जसको कारण उसलाई सहजै परास्त गर्नु त्यति सजिलो भने छैन। 

रिचार्ड निक्सनदेखि बाराक ओबामासम्मको अवधिमा अमेरिकी राष्ट्रपतिहरुले चीनको आर्थिक सुधारको लागि सहयोग गर्दै गए। उनीहरुले मुलुकको राष्ट्रिय स्वार्थको नाममा चीनलाई सहयोग गर्ने काम गरिरहे। 
चीनले विश्वको व्यापारिक नियमको उलंघन गर्दै सैन्य क्षेत्र बलियो बनाउने काम गरिरह्यो तर अमेरिकाले यसलाई चीन समृद्धिको दिशामा बढिरहेको संज्ञा दिँदै चीन आर्थिक तथा राजनीतिक हिसाबमा प्रतिबद्ध हुने आशा पालिरह्यो। 

चीनलाई सहयोग पुग्ने नीति विल क्लिन्टनको पालामा आएको जेम्स मेन बताउँछन्। विल क्लिन्टनले विश्व व्यापार संगठन (डब्ल्यूटीओ) मा चीनलाई प्रवेश दिने पक्षमा वकालत गरेका थिए। क्लिन्टनले चीन डब्ल्यूटीओमा आएसँगै चीन थप खुला हुने र चिनियाँ नागरिकहरुलाई स्वतन्त्रता पनि मिल्ने बताएका थिए। यद्यपि भनेजस्तो भने भएन। चीन विश्व उत्पादन सञ्जालको केन्द्रको रुपमा विकास भयो।

थुप्रै कम्पनीहरुले आफ्नो उत्पादन अन्य मुलुकबाट चीनमा सार्ने निर्णय गरे। जसमा अमेरिकी कम्पनीहरु पनि रहेका थिए। आफ्नो बजार, राजनीति र मानिसहरुलाई निकै नियन्त्रणमा राख्दै चीन आफूलाई स्थापित गराउन सफल भएको हो। चीनले पछिल्लो समय केही महत्वपूर्ण योजनाहरु अघि सारिरहेको छ। चिनियाँ कम्युनिष्ट पार्टीले चीनलाई पूर्ण निरीक्षणमा रहेको मुलुकको रुपमा विस्तार गर्न डिजिटल प्रविधिहरुको प्रयोग गरिरएको छ।

यसैबीच अमेरिका अहिले चीनसँग खर्बौको व्यापारघाटामा रहेको छ। अमेरिकाले चीनलाई फाइदा हुने किसिमको नीति जारी रहेकै अवस्थामा ओबामाको पालामा मुलुकले दक्षिण चीन सागरमा कृत्रिम सैन्य टापु निर्माण गरेको थियो। चीनले पछिल्लो समय कृत्रिम टापु बनाइरहेको बेला ओबामाले चीन सफलता हासिल गर्ने दिशामा भन्दा पनि जोखिम बढाउने दिशामा अग्रसर भएको बताएका थिए।

यससँगै चीनले समुद्रको एक महत्वपूर्ण मार्गलाई नै आफ्नो अधीनमा लिएको थियो। पछिल्लो दुई वर्षयता अमेरिकामा देखिएको चीन नीतिको विवाद अहिले वास्तविकतामा देखिँदै गएको छ। पछिल्लो समय चीनले अमेरिकासँग आफ्नो फाइदाका लागि मात्र काम गरिरहेको भन्ने आवाजहरु बढ्दै गएका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन कूटनीतिक प्रतिस्पर्धी रहेको बताएका थिए। साथै यसै महिनामात्र अमेरिकी उपराष्ट्रपति माइक पेन्सले चीनले राजनीतिक, आर्थिक र सैन्य सामग्रीहरुका साथै षडयन्त्रको माध्यमबाट अमेरिकाबाट फाइदा लिइरहेको अरोप लगाएका थिए।

पछिल्लो समय अमेरिकाको नीतिमा देखिएको परिवर्तन कार्यान्वयनमा पनि देखिएको छ। विशेषगरी ट्रम्पको व्यापारयुद्ध धेरैको चासोको विषय बन्न पुगेको छ। यद्यपि धेरैले यसको पछाडिको कारण भने बुझ्न सकेका छैनन्। 

अहिले ट्रम्पले आफ्ना सहयोगी मुलुकहरुसँग पनि नयाँ व्यापार सम्झौताको लागि बाध्य पार्नका लागि कर बढाउने नीतिको प्रयोग गर्ने गरेका छन्। अमेरिकाले चीनबाट आउने सामग्रीहरुमा पनि कर बढाएको छ, यसको माध्यमबाट अमेरिका चीनसँगको सम्झौतामा आधारभूत तथा महत्वपूर्ण परिवर्तन गर्ने मनसायमा रहेको छ। अमेरिकाको अन्य सहयोगी मुलुकहरुसँगको परिवर्तित सम्झौता पनि चीनलाई कमजोर बनाउने किसिमको रहेको छ।

अहिले अमेरिकाले चीनमाथि ल्याएको यस किसिमको योजनाले समग्र विश्वको राजनीति नै परिवर्तन गराउनसक्ने देखिएको छ। यद्यपि यसले अमेरिकालाई केही फाइदा पुग्नसक्ने देखिन्छ। 

सबैले बुझ्नुपर्ने कुरा के हो भने अमेरिका अहिले चीनसँग शीतयुद्धको मनसायमा भने छैन। उदाहरणका लागि चीनले बारम्बार मानव अधिकार उलंघन गर्ने गरेको समाचारहरु आइरहेको हुन्छ तर यसअघि अमेरिकाले त्यसमा खासै चासो दिएको थिएन। ट्रम्पले यो मामिलामा केही कदम मात्र अघि बढाएका हुन्। चीनले यसअघि नै अमेरिकालाई प्राविधिक तथा राजनीतिक हिसाबमा चुनौती दिँदै आएको छ।

साथै चीनले नियन्त्रित पुँजीवादलाई प्रजातन्त्रको विकल्पको रुपमा प्रयोग गर्दै आएको छ। कम्युनिष्ट शासनले प्रजातन्त्रलाई कमजोर बनाउन सक्दैन तर नियन्त्रित पुँजीवाद भने यो काम गर्नसक्छ। यो हिसाबमा हेर्दा चीनको मोडल नै प्रजातन्त्रको लागि घातक हुनसक्ने देखिन्छ। 

अहिलेको अवस्थामा चीनलाई कमजोर बनाउनु पनि एक चुनौतीपूर्ण काम हो। चिनियाँ राष्ट्रपति सि चिनफिङ आफ्नो पदको मात्र नभई विश्वमा आफ्नो प्रभुत्व कायम गर्ने चिनियाँ सपनाको पनि रक्षा गरिरहेका छन्। यदि अमेरिकाले लगातार रुपमा दबाब बढाइरहेको खण्डमा चीनले महत्वाकांक्षा पाउनका लागि “दुई कदम अगाडि, एक कदम पछाडि” गर्ने नीतिको प्रयोग गर्नसक्छ। उसबेल विल क्लिन्टनले चीनलाई आर्थिक रुपमा खुला गर्दा राजनैतिक जित हासील हुने अनुमान गरेका थिए। तर त्यो नीति फेल खायो। 

अमेरिकाको सबै प्रयासहरु सही छन् भन्न खोजिएको पक्कै पनि होइन तर अहिले चीनलाई अन्तर्राष्ट्रिय नियम तथा मानव अधिकारको पाठ सिकाउन ढिला भइसकेको छ। एजेन्सीको सहयोगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ