वि च्याटबाट हुने हुण्डी रोक्न सरकारी सक्रियता, आईआरडी र राष्ट्र बैंकले चाल्यो कदम
सुदर्शन अर्याल,
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
1.1k
Shares
काठमाडौं । ठमेलमा रहेका चीनियाँ रेस्टुरेन्टहरुमा मौलाउँदो हुण्डी कारोबार रोक्नको लागि सरकारी निकायले सक्रियता देखाएको छ । सरोकारवाला निकाय आन्तरिक राजश्व विभाग र राष्ट्र बैंकले यसमा चासो देखाउँदै आफ्ना मातहतका निकायहरुलाई यसबारे छानविन गरी तत्काल कारबाही अघि बढाउन निर्देशन दिएको हो।
आन्तरिक राजश्व विभागका परिचालन शाखा प्रमुख एवं उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेलले ठमेलमा चिनियाँ व्यवसायीहरुले सञ्चालन गरेको रेस्टुरेन्टहरुमा अनलाईन पेमेन्टको नाममा भईरहेको हुण्डीको विषयमा विभाग र राष्ट्र बैंक समेत गम्भीर रहेको जानकारी दिए । उनले राष्ट्र बैंक र विभागको संयुक्त बैठकमा समेत यस विषयमा छलफल भएको भन्दै राष्ट्र बैंक समेत यसप्रति सचेत देखिएको उनले जानकारी दिए । ढुंगेलले भने ‘हामीले यो विषयमा मातहतका निकायलाई गम्भीरताका साथ तत्काल छानविन गर्न भनिसकेका छौं । मातहतका कार्यालयले पनि यसको छानविनमा सक्रियता देखाईसकेका छन् ।'
उनले जुनसुकै बाहानामा मुलुकको हित विपरितको काम भईरहेको पाईएमा तत्काल बन्द गरार्इ दोषीलार्इ कानून बमोजिम कारबाही हुने जानकारी दिए । हाम्राकुरा डटकमले गत मंसिर ६ गते वि च्याट र अलिपे मार्फत् ठगिँदै सरकार, नेपालमा कारोबार चीनमा भुक्तानी शीर्षकमा समाचार प्रकाशित गरेको छ । योसँगै आन्तरिक राजश्व विभागले पनि यसमा सक्रियता देखाउन सुरु गरेको थियो ।
विभागको सम्बन्धित कार्यालयले यस विषयमा अध्ययन गर्ने भएकोले विभागले सम्बन्धीत करदाता कार्यालयलाई निर्देशन दिईएको विभागले जनाएको छ । हाम्राकुरामा समाचार आएपछि केही अनलाईन पेमेन्ट सेवा प्रदान गर्ने कम्पनीहरुले चिनियाँहरुले सञ्चालन गरेका रेष्टुरेन्ट तथा अन्य व्यवसायहरुसँगै चीनमा सामान खरिद गर्न जाने व्यवसायीहरुले समेत हुण्डीमार्फत् चीनमा पैसा पठाईरहेको भन्दै यसलाई बैधानिक बाटोबाट भुक्तानी गर्नको लागि स्वीकृति माग गरेको राष्ट्र बैंकको भुक्तानी विभागका एक अधिकारीले जानकारी दिए ।
उनीहरुले यस्तो समस्या रोक्नको लागि नेपाल र चीनका केन्द्रीय बैंकहरुबीच अन्तर्सम्बन्ध कायम गरी स्वीकृति दिन माग गरेका छन् । जसले नेपालबाट चीनमा व्यवसाय गर्न जाने नेपाली व्यवसायीहरुले समेत बैधानिक बाटोबाट सीमित पैसा पठाएर सरकारी राजश्व समेत चीन जानबाट रोक्न सकिने सुझाव सहितको प्रस्ताव अहिले भुक्तानी विभागमा पुगेको छ ।
नेपालमा चिनियाँ पर्यटकहरुलाई आकर्षित गराउने लक्ष्य अनुरुप सरकारले नेपाल आउने चिनियाँहरुलाई ३० दिनसम्मको लागि भिजा फ्रि गरेको छ । पर्यटकहरु नेपाल आउँदा उनीहरुले यहाँ बस्दा गरेको खर्चबाट उठ्ने राजश्व सरकारी खातामा पुग्छ । व्यवसाय कर या सामान किन्दा मूल्य अभिबृद्धि कर पाउने सरकारले पर्यटन क्षेत्रको विस्तारसँगै नेपालीहरुको रोजगारी समेत बढ्ने अवधारणा अनुरुप पर्यटन क्षेत्रको विकासतर्फ धेरै प्रयासहरु गरिरहेको छ । तर, नेपालमा आउने पर्यटकले तिर्ने रकममा नै ठगि हुँदा सरकारले उठाउनु पर्ने कर रकम भने उठाउन सकिरहेको छैन ।
सूचना प्रविधिको विकाससँगै काममा चुस्तता र पारदर्शिताको कारण नेपालीहरु पनि अनलाई पेमेन्टप्रति आकर्षित हुँदै गएका छन् । भुक्तानी प्रक्रियामा आधुनिकीकरण स्वीकार्नको लागि नेपालमा समेत पर्याप्त अनलाईन पेमेन्ट सेवा प्रदायकहरु हुँदाहुँदै अधिकांश चिनियाँ व्यवसायी र चीनसँग कारोवार गरिरहेका नेपाली व्यवसायीहरुले वि च्याट मार्फत् सरकारलाई ठगि गरिरहेका हुन् । अहिले नेपाल र चीनियाँ केन्द्रीय बैंकबीच यस विषयमा समझदारी नभएको कारण चिनियाँ बैंकमा तिरेको भुक्तानी नेपालले दाबी गर्ने कुनै आधार नै छैन । जसले वार्षिक करोडौं रुपैयाँ राजश्व चिनियाँ ढुकुटीमा जाने देखिएको छ ।
यो विषयमा जानकारी प्राप्त भएपछि हाम्राकुराले गरेको स्थलगत रिपोर्टिङका क्रममा ठमेलमा आउने अधिकांश चिनियाँहरुले वि च्याट मार्फत् रेस्टुरेन्टको विल भुक्तानी गर्ने गरेको भेटिएको थियो । त्यसो त उनीहरुले यस्तो काम लुकिछिपी पनि गर्ने गरेका छैनन् । ती रेष्टुरेन्टका होडिङबोर्डमा नै स्पष्टसँग वि च्याट मार्फत् भुक्तानी गर्न सकिने उल्लेख गरिएको छ ।
चीनबाट सामान खरीद गर्न हुण्डीबाट पैसा
त्यसो त बाहिर अनलाईन पेमेन्टको कारोबार नै गैरकानूनी ढंगले गरिरहेका चिनियाँ व्यवसायीहरुमार्फत् हुण्डी कारोबार समेत हुने गरेको भेटिएको छ । पर्यटकले वि च्याट र अलिपे मार्फतबाट पैसा तिर्ने एउटा आर्थिक कुरा हो भने यही प्लेटफर्म प्रयोग गरेर हुण्डी कारोबार गर्नेहरु पनि सकृय रहेको ठमेलका ब्यवसायीहरुले बताएका छन्। केही चिनियाँ र केही नेपालीहरुले उक्त कारोबार सम्हालिरहेको कुरा श्रोतले बताएको छ।
हुण्डी कसरी हुन्छ भनेर खोज्दै जाँदा चिनियाँ टुरिष्ट गाईड, चिनियाँ समानको ब्यापार गर्ने ब्यापारीहरुले सजिलै कति पैसा पठाउन पर्ने भनेर सोध्ने गर्दछन्। महाबौद्धमा खरीद गरिने चिनियाँ सामानको लागि धेरै ब्यापारीहरुले हुण्डीमार्फत् पैसा पठाउने गरेको स्वयं व्यवसायीहरुले खुलेर बताउने गरेका छन् । ती व्यवसायीहरु सुरुमा सबै कुरा स्वीकार्छन् र एउटै कुरा विस्तृतमा बुझ्न खोज्दा उनीहरु कुरा टालटुल गर्न तर्फ केन्द्रीत हुने गरेका छन् ।
हुण्डी गर्नका लागि विच्याट वा अलिपेले एकदम सजिलो बनाएका छन्। चिनियाँ सामानको ब्यापार गर्नेहरुले यता नेपालीमा हुण्डी ब्यवसायीलाई पैसा दिन्छन र उता उनीहरुको वि च्याट खातामा पैसा आउँने गर्दछ । यसरी नेपालका लागि गैरकानुनी ुहुण्डीु गर्न पनि विच्याट प्रयोग भैरहेको पाईएको छ।