arrow

प्रथम चौमासिक समीक्षा : सुधारिन सकेनन् 'अर्थतन्त्रका चुनौतीहरु'

logo
प्रकाशित २०७५ पुष ९ सोमबार
News_monitory_policy.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रीक नीतिको चौमासिक समीक्षा प्रस्तुत गरेको छ । सोमबार बैंकको अनुसन्धान विभागले चालू आर्थिक वर्षको पहिलो चार महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो । 

यो अवधिमा पनि तेस्रो समीक्षा अवधिमा देखिएका अर्थतन्त्रका मूलभूत चुनौतीका विषयहरु सुधारिन सकेको छैन । मूलतः आयातमा बृद्धि भएको छ भने शोधनान्तर घाटा पनि अघिल्लो वर्षको तुलनामा बढेको छ । चार महिनामा कुल वस्तु आयात ३५.८ प्रतिशतले बढेर रु.४८३ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८.१ प्रतिशतले बढेको थियो । जानकारहरुका अनुसार आयात बढ्नु मात्रै नकारात्मक स्थिती नभएपनि यो आयात अनुत्पादक क्षेत्रमा बढी देखिएकोले यसले अर्थतन्त्रमा चुनौती थपेको छ । 

बैंकका अनुसार समीक्षा अवधिमा वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, सवारी साधन तथा पार्टपुर्जासँगै धान चामल लगायतका वस्तुको आयात बढेको छ । यी सबै बस्तुहरुको आयातमा बृद्धि हुनुले अर्थतन्त्रमा चुनौती थपेको राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख डा.गुणाकर भट्टले जानकारी दिए । पछिल्ला ३ वर्षदेखि सवारी साधन र पेट्रोलियम पदार्थमा हुने बृद्धिले एकातिर अर्थतन्त्रले दीर्घकालमा नोक्सानी बेहोर्नुपर्ने सम्भावना हुन्छ भने अर्काे तर्फ वातावरणीय दृष्टिले समेत यो चिन्ताको विषय रहेको प्रमुख डा. भट्टको बुझाई छ । 

मुलुकमा जुनसुकै माध्यमबाट पनि भित्रिने रकम र जुनसुकै माध्यमबाट बाहिरिने रकमबीचको अन्तरलाई शोधनान्तर स्थितीले चिनिन्छ । यसमा मुलुकबाट बाहिरिने रकम धेरै भएमा शोधनान्तर घाटा हुन्छ भने मुलुकमा भित्रिने रकम धेरै भएमा त्यो शोधनान्तर वचत हुन्छ । अघिल्लो आर्थिक वर्षको यहि समयमा २ अर्ब ४० करोडले बचतमा रहेको शोधनान्तर स्थिती यो चौमासिक समीक्षामा ५७ अर्ब ३३ करोड रुपैयाँले घाटामा गएको छ । 

त्यस्तै, बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह उच्च दरमा बढेको छ । कर्जा प्रवाहको स्थिती बढ्नुले मात्रै अर्थतन्त्रमा समस्या सिर्जना नहुने भएपनि कर्जा प्रवाहको दर र बस्तु आयातको दर हाराहारीमा पुगेकोले कर्जा उत्पादक भन्दा पनि अनुत्पादक क्षेत्रमा नै बढी खर्च भईरहेको तथ्यांकले देखाएको छ । समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ५.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा यस्तो कर्जा २८.७ प्रतिशतले बढेको छ ।

यो चौमासिकमा अर्काे चुनौतीको विषय भनेको नेपालीहरुको विदेश भ्रमण पनि देखिएको छ । अघिल्लो वर्षको यही समय भन्दा यो वर्ष नेपालीहरुको विदेश भ्रमणको दर बढेको देखिएको छ । भट्टका अनुसार विदेश भ्रमणलाई निरुत्साहित गर्न नमिल्ने भएपनि यसलाई व्यवस्थित भने गर्नैपर्ने स्थिती रहेको छ । पछिल्लो समय घरजग्गा र सेयरबजारबाट कमाएको पैसा विदेश भ्रमणमा खर्च गर्ने प्रचलन समेत बढेको देखिएको छ । यसले शोधनान्तर स्थितीलाई समेत घाटामा धकेलिदिएको टिप्पणी आउने गरेको छ । यसरी विदेशिने रकम विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा बढी देखिएकोले नेपालमा नै शिक्षा र स्वास्थ्यको गुणस्तर बृद्धि गरी शोधनान्तर घाटा कम गर्न सकिने सुझाव पनि भट्टले दिएका छन् । 

अर्थको समीक्षामा पुँजीगत खर्चको चिन्ता 
उता, आईतबार अर्थमन्त्रालयले पनि मुलुकको पहिलो चौमासिकको आर्थिक स्थिती समीक्षा गरेको छ । आईतबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडा, गवर्नर डा. चिरञ्जीवी नेपाल सहितका प्रतिनिधिहरुको बैठकमा मुलुकको पुँजीगत खर्चबारे विवरण पेश भएको छ । बैठकमा मन्त्रालयका सहसचिव सुमनप्रसाद दाहालले आ।व। २०७५र७६ को प्रथम चौमासिकमा अर्थ मन्त्रालय र अन्तर्गतका निकायमा चालु खर्च तर्फ रु। १ अर्ब १२ करोड र पुँजीगत खर्च तर्फ १३ करोड रुपैयाँ गरी कूल खर्च १ अर्ब २५ करोड रुपैयाँ भएको विवरण पेश गरेका थिए ।

बैठकमा अर्थ मन्त्रालयले चालु आ।व।को प्रथम पाँच महिनामा कर तथा गैरकर राजश्व समेत कूल ३ खर्ब ७ अर्ब २३ करोड असुली भएको, बैदेशिक सहायता तर्फ प्रथम ५ महिनामा ऋण तर्फ ९३ अर्ब ६९ करोड र अनुदान तर्फ १८ अर्ब ४४ करोड गरी कूल  ११२ अर्ब १३ करोड परिचालन भएको अर्थले जनाएको छ । हालसम्म आन्तरिक ऋण परिचालन नगरिएको पनि मन्त्रालयले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ