arrow

अपडेट कोलकाता : सुनसान शहर, शंकामा सुरक्षा, दंगलमा दलहरु

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७५ चैत २४ आइतबार
kolkata-road.jpg

कोलकाता, हावडा। भारतको पूर्वी क्षेत्रमा अवस्थित पश्चिम बंगालको राजधानी कोलकाता शहरमा लोकसभाको निर्वाचन आउन झण्डै एक महिना मात्रै बाँकी छ तर हालसम्म शहरमा चुनावी प्रचारको सामग्रीहरु भने केही देखिँदैन। सडकका भित्ताहरु, बिजुलीका पोलहरु वा सार्वजनिक जग्गाका भित्ताहरुमा ठूलाठूला ब्यानर, पोस्टर र पर्चा, यी सबै प्रचार सामग्रीबाट मुक्त छ कोलकाता। सडकमा कुनै नाराबाजी र जुलुस पनि छैन, न मुख्य सडकका आसपास विभिन्न पार्टीका सम्पर्क कार्यालयहरु नै छन्, यसो हेर्दा लाग्छ कि कोलकातामा चुनाव आएकै छैन, यहाँका जनताहरुलाई त्यसबारेमा थाहै छैन।

तर, कोलकातामा चुनाव नै नलागेको चाहिँ होइन, बाह्य आवरणमा निर्वाचनको माहोल शून्यप्रायः देखिएपनि कलकत्ता भित्रभित्रै चुनावमा गजबले होमिएको छ।

दलहरुबीच आरोप, प्रत्यारोप, आपसी झडप, कार्यालय कब्जाजस्ता क्रियाकलाप कोलकातामा पनि प्रशस्त भएका छन्। पश्चिम बंगालको राजधानी कोलकाता शहरमा पनि ४ वटा दलको अस्तित्व बढी रहेको छ, जसमा पश्चिम बंगालको प्रमुख शक्ति एवं क्षेत्रीय दल तृणमूल काँग्रेस, केन्द्रीय सरकार चलाइरहेको भारतीय जनता पार्टी, सन् १९७७ देखि २००० सम्म निरन्तर यस प्रान्तको नेतृत्व गरेको भारतीय कम्युनिष्ट पार्टी(माक्र्सवादी) र केन्द्रीय प्रमुख प्रतिपक्षी भारतीय काँग्रेस रहेका छन्। यीमध्ये पनि बढी प्रतिस्पर्धा अगाडिका ३ बीच रहने यहाँको परिस्थिति र सर्वेक्षणले जनाएका छन्।

शंकामा सुरक्षा
कोलकाताको चुनावी सुरक्षा व्यवस्थाप्रति दलहरु नै सन्तुष्ट छैनन्। एक महिनाअघि नगर प्रहरी प्रमुखका रुपमा रहेका राजीव कुमारलाई हटाएर मुख्यमन्त्री ममता बनर्जीले अनुज शर्मालाई प्रहरी प्रमुखको जिम्मेवारी दिएकी थिइन्। तर, चुनावी अन्तरिम काल सुरु भइसकेपछि अनुज शर्मा नेतृत्वको प्रहरी प्रशासन बनर्जी नेतृत्वको तृणमूल काँग्रेसको पक्षमा मात्रै केन्द्रित भएको भन्दै भारतीय जनता पार्टीले चुनाव आयोगमा निवेदन दिएपछि कोलकाताका प्रहरी प्रमुखमा चुनाव आयोगबाटै डा. राजेश कुमार नियुक्त भएका छन् तर उनको नियुक्ति पनि विवादित छैन। 

भाजपाबाहेकका अन्य दलले डा. कुमारलाई भाजपाका कार्यकर्ताका रुपमा टिप्पणी नै गर्न लागेका छन्। शनिबारमात्रै कार्यभार सम्हालेका डा. कुमारको भूमिकालाई शंकास्पद रुपमा हेर्न लागिएको हो। तृणमूल काँग्रेस र भाजपाबीचको झपडमा प्रहरीसमेत लागि तृणमूलका कार्यकर्तालाई कुटेको भन्ने आरोप तृणमूलको छ। 

दंगलमा दलहरु
कोलकाता तथा पूर्वी पश्चिम बंगालका अन्य क्षेत्रमा पनि दलहरुबीच दंगल (झगडा) कायम छ। दलहरु एकअर्काका काउन्टर एट्याकमा उत्रिएका छन्। आइतबाट पश्चिम बंगालको उत्तरी क्षेत्र कुचबिहारमा प्रधानमन्त्री नरेन्द्र मोदीको सभा हुने कार्यक्रम रहेको छ, त्यसको लगत्तै भोलि अर्थात् सोमबार सोही ठाउँमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको काउन्टरिड सभा हुने कार्यक्रम रहेको जनाएको छ।

यस्तै, उत्तरी क्षेत्रमै पर्ने उत्तरी दिनाजपुरको रायगञ्जमा काँग्रेसले आमसभा कार्यक्रम तय गरेको छ। सो सभालाई काँग्रेस अध्यक्ष राहुल गान्धीले नै सम्बोधन गर्ने भएका छन् भने सोही दिन दक्षिण दिनाजपुरको बालुरघाटमा प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधन रहने कार्यक्रम रहेको जनाएको छ। एउटै क्षेत्रमा एकै दिन २ जना अतिविशिष्टहरुको कार्यक्रम हुने भएपछि सुरक्षा व्यवस्था अत्यन्त कडा गर्न लागिएको छ।

Image may contain: one or more people, car and outdoor

Image may contain: one or more people and outdoor

Image may contain: sky and outdoor

यो पनि पढ्नुस् :

बंगालको चिया बगानका श्रमिकलाई किन लागेन चुनाव ?

चुनावले नपत्याएको सोनागाछीको 'रेडलाइट एरिया', जहाँका १३ हजार मतदाता उम्मेदवारलाई कुरिरहेछन्

पार्टी निकटका दुई कमिश्नरलाई चुनाव आयोगले हटाएपछि तृणमूल काँग्रेसमा खैलाबैला

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ