- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगल्याण्ड र वेल्समा सुरु भएको १२ औं संस्करणको विश्वकप एक दिवसीय क्रिकेटमा घरेलु इंगल्याण्डले शानदार सुरुवात गरेको छ ।
इंगल्याण्डले अर्को बलियो प्रतिद्धन्द्धी दक्षिण अफ्रिकामाथि १०४ रनको फराकिलो जित निकालेको हो ।
लण्डनको दि ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंगल्याण्डले घरेलु समर्थकलाई खुसी पार्ने क्रममा ८ विकेटको नोक्सानीमा ३११ रन बनायो ।
चार खेलाडीले हाफ सेन्चुरी बनाएको खेलमा म्यान अफ दि म्याच बेन स्टोक्सले ७९ बलमा ८९ रन बनाए ।
कप्तान इयोन मोर्गानले ५७, जासन रोयले ५४ तथा जो रुटले ५१ रन बनाए । लुंगी एनगिडीले ३ तथा इमरान ताहिर र कागिसो रबाडाले २–२ विकेट लिए ।
जवाफमा दक्षिण अफ्रिकाले ३९.५ ओभरमा अलआउट हुँदै २०७ रनको कमजोर योगफल मात्र जोड्न सक्यो ।
क्विन्टन डे ककले ६८ तथा हे भान दर दुसेनले ५० रन बनाए । जोफ्रा आर्चरले ३ तथा बेन स्टोक्स र प्लंकेकटले २–२ विकेट लिए ।
राउन्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगितामा इंगल्याण्ड शीर्ष स्थानमा पुगेको छ । इंगल्याण्ड तीन पटक विश्वकपको फाइनलमा पुगे पनि उपाधि जितेको छैन ।
आइसीसी वरियताको शीर्ष स्थानमा रहेको इंगल्याण्डलाई घरेलु मैदानमा उपाधि जित्ने राम्रो अवसर मिलेको छ ।