arrow

मानवलाई अहं प्रश्न, तिमी शरिर की आत्मा ?

अस्त्र शस्त्रले काट्न नसक्ने, आगोले जलाउन,हावाले सुकाउन, पानीले गलाउन नसक्ने शक्ति के हो ?

logo
अध्यात्म १,
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
god-and-man.jpg

काठमाडौं ।  जब हामी यस भौतिक जगतलाई नियाल्छौं र यसको अध्ययन गर्दा थाहा हुन्छ कि यी सा साना कणबाट बनेका छन् । जसलाई वैज्ञानिकहरु अणु (atom) भन्छन्। त्यसको बिचमा एक केन्द्र (nucleus)  हुन्छ र त्यस केन्द्रको चारै तर्फ इलेक्ट्रोन (electrons) परिक्रमा गरिरहेको छ । अब यो प्रश्न उठ्छ कि त्यो कुन शक्ति हो जुन सारा संसार, सारा ब्रह्माणको अणुहरुलाई शक्ति प्रदान गर्छ ? जुन शक्तिको कारण इलेक्ट्रोन्स, केन्द्र (nucleus) को चारै तर्फ परिक्रमा गरिरहेको छ ?  

विज्ञान यस प्रश्नको जवाफ दिन, त्यस शक्तिको बारेमा पूर्ण जानकारी प्राप्त गर्नमा असमर्थ छ र असफल नै रहनेछ किनकि त्यो शक्ति ज्ञान, मन बुद्धि र इन्द्रिय भन्दा बाहिरको छ ।

यहाँ उत्तर दिने एकै उपाय छ अध्यात्मवादीको शरण। त्यसो त विज्ञानले धेरै सिद्धान्त र नियम बनाएको छ जसमा केहि गलत पनि साबित भएका छन् । तर त्यो सुक्ष्म शक्ति के हो जसकारण सृष्टिको कण कणमा चलायमान छ । यस बारेमा विज्ञान अहिलेसम्म मौन छ जबकि अध्यात्मवादको यो सबैभन्दा महत्वपूर्ण दाबी रहेको छ कि त्यस शक्तिलाई वा भनौं त्यस परब्रह्म परमेश्वरलाई तिमी जान्न सक्छौ । अध्यात्मबादले हामीलाई बताउँछ कि जुन शक्तिले परमाणु भित्र इलेक्ट्रोन केन्द्रको चारैतर्फ घुमिरहेको छ त्यहि शक्तिले सूर्यको चारैतर्फ सबै ग्रहहरुलाई चलाइ रहेको छ । त्यहि शक्तिले हामीलाई पनि चलाइरहेको छ । अत: त्यस शक्तिलाई हामी आफू भित्र प्रवेश गरेपछि जान्न सक्छौ । त्यसको अनुभूति गर्न सक्छौ ।

न्युटनको सिद्धान्तमा भनिएको छ everything continues in its state of the rest or of uniform motion, unless and until some external force change its state rest or of uniform motion . अर्थात कुनै पनि चीज यदि चलिरहेको छ भने त्यो निरन्तर चलिरहनेछ जब सम्म कुनै शक्तिले त्यसलाई रोक्दैन । साथै कुनै चीज यदि स्थिर छ भने त्यो निरन्तर स्थिर रहनेछ जब सम्म कुनै शक्तिले त्यसलाई चलाउनेछैन ।

अब विचार गरौ हामी बस्छौ, हिड्छौ, उभिन्छौ पनि । आखिर हामीमा के शक्ति छ जसले हामीलाई रोक्छ र चलाउछ ? त्यस शक्तिलाई सन्तहरुले धेरै अर्थ नलगाइ समान उत्तर दिएर भने त्यो 'आत्मा' हो। आत्मा प्रत्येक व्यक्ति भित्र विद्यमान छ । गंगा नदी गंगोत्रीबाट निस्कन्छ र त्यहाँ सफा पानी हुन्छ तर हरिद्वार आएपछि  फोहोर हुन्छ । तरपनि त्यसलाई गंगा नै भनिन्छ । त्यहाँ पुगेर यो नदिको नाम बदलिदैन । यस्तै कुरा हामीमा पनि लागु हुन्छ ।

सन्तहरु भन्नुहुन्छ, 'हे ! मानव तिमी वास्तवमा आत्मा हौं । तिमी सत्ययुगदेखि चलिरहेका छौ । बाटोमा धेरै फोहोर मैला बटुलेर ल्याऔ त्यसैले आफुले आफैलाई बुझ्न सकिरहेका छैनौ । त्यो फोहोरलाई हटाएर आफुलाई बुझ । अहिले सत्ययुगदेखि त्रेता, त्रेताबाट द्वापर र द्वापरदेखि कलियुगसम्म आउँदा जुन तिमीले फोहोर बटुलेका छौ त्यसलाई हटाएर आफूले आफैलाई चिन । तिमी अहिले पनि त्यहि आत्मा हौ । आत्मा बदलिदैन । तर आफुलाई जान्नको लागि तिमी आफूभित्र प्रवेश गर्नुपर्नेछ । तब तिमीले बुझ्नेछौ कि वास्तवमा तिमी शरीर नभइ आत्मा हौ ।'

कति मानिसहरु आत्मा पनि हुन्छ र भन्छन् । उनिहरु आत्मालाई काल्पनिक शब्द बनाएको भन्छन् । एक पहाडमा स्वामी राम बसेर बिचार गरिरहेका थिए । उनि भएको ठाँउमा राजा आए र प्रणाम गर्दै भने, 'महराज तपाई त साधु हो ।  तपाईले आफ्नो जीवन ईश्वरको अघि  समर्पित गर्नुभएको छ ।  म राजा हुँ । दान, पुण्य, यज्ञ आदि गर्छु  तर मलाई कहिले काहि यस्तो लाग्छ कि शरीर नै सबै कुरा हो । आत्मा नामको कुनै चीज छैन ।  यो त केवल एक विचार हामी भित्र रोपिएको छ कि हाम्रो भित्र आत्मा छ शक्ति छ चेतना सत्ता छ र त्यसको पछि अनेकौ धर्म बनिरहेको छ ।' स्वामी राम हास्दै भन्छन्, 'राजन ! वास्तवमा आत्मा छ र यसको लागि म तपाईलाई सम्झाउने प्रयास गर्नेछु ।'

स्वामी रामले राजासँग कलम मागे।   राजाले दिए । सोधुले सोधे,' यो कलम कसको  हो ?' राजाले भने,' यो मेरो कलम हो ।' तपाई कलम त  होइन ? साधुले सोधे, राजाले भने,'होइन कलम मेरो हो तर म कलम होइन। ' फेरी स्वामी रामले राजाको हात उठाए र सोधे,' यो हात कसको हो ?'  राजाले भने, 'यो हात मेरो हो'  'तपाई हात त होइन ?' भने 'होइन हात मेरो शरीरको अंग हो । म अंग कसरी हुन सक्छु । यसकारण म हात होइन ।'

यस्तै तर्कको श्रृंखलामा स्वामीले बताए आखाँ तपाईको हो तर तपाई आखाँ होइन । यो कपाल यो छाला तपाईको हो तर तपाई कपाल र छाला होइन । यो शरीर तपाईको हो तर तपाई शरीर होइन । यसप्रकार स्वामी भन्छन्,'सबै कुरा तपाईको हो तर जब यी सबै बस्तु तपाई होइन भने जसको म बर्णन गर्दैछु त्यो के हो ?'    

त्यस शक्तिको व्याख्या गर्दै भगवान श्रीकृष्ण भन्नुहुन्छ ।
    
नैनं छिन्दन्ति शस्त्राणि, नैनं दहति पावकः ।
न चैनं क्लेदयन्त्यापो, न शोषयति मारुतः ॥   
   

त्यो शक्तिलाई न अस्त्र शस्त्रले काट्न सक्छ ।  न त्यसलाई आगोले जलाउन सक्छ । न त्यसलाई हावाले सुकाउन सक्छ  र न पानी नै त्यसलाई गलाउन सक्छ । यो आत्मा सनातन हो ।

श्रीकृष्ण भन्नुहुन्छ , 'आत्माको न कहिले जन्म हुन्छ र कहिले मृत्यु । शरीर नाश भए पनि आत्मा नष्ट हुँदैन। आत्मा अमर छ । जो मानिस यस आत्मालाई मार्न र मार्ने मान्छन्, ती दुवै अबुझ हुन् आत्मा न कसैलाई मार्छ र न कसैद्वारा मारिन सक्छ। न यो शरीर तिम्रो हो, न तिमी शरीरको। यो अग्नि, जल, वायु, पृथ्वी, आकाशबाट मिलेर बनेको छ र त्यसैसँग मिल्नेछ।

यस्तो एक अजर अमर र अविनाशी आत्मशक्ति हामी भित्र छ । जुन शरीर समाप्त भएपनि समाप्त हुदैन । जब सो आत्माले स्मृतिलाई साथमा लिएर जान्छ तब अघिल्लो जन्मको कुरा सबै याद आउछ ।
   
उपनिषदमा एक उदाहरण आउछ एक पटक शरीरका इन्दियहरु बिच एक आपसमा झगडा भयो । हातले भन्यो- म श्रेष्ठ हुँ । आखाँले भन्यो - म श्रेष्ठ हुँ । यस प्रकार सबै अंगले आ आफुलाई श्रेष्ठ बताए ।

अन्तिममा निर्णय भयो कि जुन निस्किएपछि यो शरीर जीवित रहने छैन कुनै पनि कार्य हुने छैन त्यहि श्रेष्ठ हो । केहि समयको लागि आखाँ निस्किएर गयो र जब फिर्ता आयो तब शरीरसँग सोध्यो- 'तिमी कसरी जिवत रह्यौ ?' शरीरले भन्यो- 'जस प्रकार अन्धा व्यक्तिहरु जीवित रहन्छन् सोहि प्रकार म जीवित रहे ।' फेरी केहि समयको लागि कर्मेन्द्रिय निस्किएर गए  जब आए तब सोधे- 'हे शरीर तिमी कसरी जीवित रह्यौ ?' शरीरले भन्यो-,' जस प्रकार बहिरा व्यक्ति जीवित रहन्छन् ।'

यस प्रकार सबै इन्द्रिया बाहिर गए तर पनि शरीर जीवित रह्यो । तर जब आत्मा शरीरबाट निस्किएर जान लाग्यो तब हातले काम गर्न छोड्यो, आखाँले देख्न छोड्यो, कानले सुन्न छोड्यो । सबै इन्द्रियहरु निष्कृय भए । तब सबैले माने कि हामी सबैमा आत्म सर्वश्रेष्ठ हो । मूल हो । बिना आत्मा हामी सबै बेकार हौ ।

यो पनि पढ्नुहोस ।

भगवान श्रीकृष्णको एउटा प्रश्न, 'तिमि के हौ ?'

ब्रह्म सत्य जगत् मिथ्या



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ