arrow

मोदीको दोस्रो कार्यकालमा अमेरिका–भारतको कस्तो हुन्छ सम्बन्ध 

logo
प्रकाशित २०७६ असार ६ शुक्रबार
trump-modi1.jpg

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकाल शुरु गरेका छन्। मोदीको लागि यो कार्यकाल निकै महत्वपूर्ण हुनसक्ने विश्लेषकले बताउँदै आएका छन्। विश्वभर विभिन्न विषयमा द्वन्द्व चलिरहेको अवस्थामा मोदीले यो दोस्रो कार्यकाल चुनौतीपूर्ण हुनसक्ने अनुमान गरिएको हो।

भारतको लागि अहिले सबैभन्दा महत्वपूर्ण विषय अमेरिकासँगको सम्बन्ध हो। पछिल्लो समय चीनको प्रभाव व्यापक मात्रामा विस्तार भइरहेको अवस्थामा अमेरिका र भारतलाई आपसी सम्बन्ध बलियो बनाउँदै अघि बढ्नु आवश्यकता छ। तर, अमेरिका–भारत सम्बन्ध यि कुरामा निर्भर रहनेछ–

व्यापारिक द्वन्द्व
अमेरिकामा ट्रम्प आएसँगै विश्वका धेरै मुलुकले अमेरिकासँग व्यापारिक द्वन्द्वको सामना गरिरहेका छन्। अहिले अमेरिका–चीन व्यापारयुद्धले विश्वभर प्रभाव पारेको छ भने चर्चा पनि कमाएको छ। यसैबीच अमेरिका र भारतको बीचमा पनि व्यापारिक द्वन्द्व जारी छ।

नयाँ सरकार गठन भएपछि पनि भारत र अमेरिकाको बीचमा केही व्यापारिक मुद्दाले प्रश्रय पाएको छ। यसै क्रममा अमेरिकाले भारतलाई व्यापारिक सहुलियत प्राप्त मुलुकको सूचीबाट हटाउने निर्णय गर्‍यो। यससँगै अमेरिका निर्यातमा भारतले पाउँदै आएको केही सामग्रीमाथिको आयातकरको छूट गुमाएको छ। अमेरिकाको यो निर्णयको बदलामा भारतले पनि अमेरिकाबाट आउने २८ सामग्रीमा आयातकर बढाउने निर्णय गरिसकेको छ। 

ट्रम्पले भारतमा अमेरिकी सामग्रीमाथि अत्यधिक मात्रामा आयात कर लगाइने गरेको बताउने गरेका छन्। उनले अमेरिकासँगको व्यापारिक सम्बन्ध स्वस्थ हुनुपर्ने भन्दै भारतलाई दिँदै आएको सहुलियत कटौती गर्ने निर्णय गरेका हुन्। यस्तोमा भारत र अमेरिकाको व्यापारिक द्वन्द्व आगामी दिनमा थप बढ्नसक्ने देखिएको छ। यसले अमेरिका–भारत सम्बन्धमा असर पार्न सक्छ। 

हतियारको राजनीति
अमेरिकाको हतियारको राजनीति पनि भारतसँगको सम्बन्धको अर्को प्रमुख विषय बन्न पुगेको छ। भारतले सैन्य विमान तथा हतियारको मामिलामा अमेरिकालाई वेवास्ता गर्दै अघि बढिरहेको छ। भारत फ्रान्ससँग ३६ राफाइल फाइटर विमान खरीदको अन्तिम चरणमा छ। भारतले थप ११४ वटा फाइटर विमानको लागि फास्ट ट्र्याक मोडलमा टेन्टर खोलेको छ। यसमा अमेरिकाका दुई कम्पनि (लकहीड मार्टिन र बोइङ), रुसका दुई कम्पनि (रूसी विमान निगम मिग, सुखोई कम्पनी) फ्रान्सको राफाइल, स्वीडेनको स्वेन्स्का एरोप्लानबीच कडा प्रतिस्पर्धा भइरहेको छ। आफ्नो विमान खरिदका लागि समेत अमेरिकाले भारतलाई दबाब दिँदै आएको छ। 

त्यसका साथै भारतले रुससँग मिसाइल सुरक्षा प्रणाली एस–४०० खरीद सम्झौता गरेको छ। यस विषयमा पनि अमेरिकाले भारतलाई उक्त सम्झौता नगर्न चेतावनी दिएको थियो। तर, भारतले अमेरिकाको चेतावनीलाई वेवास्ता गर्‍यो। अमेरिका–भारतबीचका यी विवादबीच भारतले अमेरिकालाई फकाउन अमेरिकाबाट केही ड्रोन खरीद गर्ने  योजनामा भारत पुगेको छ। भारतको यो प्रयासले कत्तिको काम गर्ने हो, त्यो भने आगामी दिनमा हेर्न बाँकी छ। 

तेल विवाद
अमेरिका–भारत सम्बन्धको अर्को महत्वपूर्ण पक्ष तेल विवाद हो। अमेरिकाले इरानको तेल आयातमा शून्यमा झार्न सबै मुलुकलाई निर्देशन दिएको छ। उसले दिएको ६ महीनाको छूट सकिएसँगै भारतले इरानको सबै तेल आयात रोक्ने वा नरोक्ने भन्ने विषयले पनि दुई मुलुकको सम्बन्धमा महत्वपूर्ण प्रभाव राख्नेछ। अहिले यसअघि नै सम्झौता भएअनुसारको तेल भारतमा इरानबाट आयात भइरहेका छन्। तर, आगामी दिनमा उसले इरानबाट तेल खरीद गर्छ वा गर्दैन भन्ने विषय महत्वपूर्ण हुनेछ।

भारतले अझैसम्म पनि आधिकारिकरुपमा इरानसँगको तेल आयात शून्यमा झारिने बताएको छैन। इरानले भने आफ्ना तेल खरीदकर्ताले अमेरिकाको इरानी तेलमाथिको प्रतिबन्ध नमान्ने बताउँदै आएको छ।

चीनसँगको सम्बन्ध
अमेरिका–भारत सम्बन्ध धेरैजसो चीनको बढ्दो प्रभाव कम गर्नका लागि सुमधुर हुने गरेको छ। यसपटक भने उनीहरुको सम्बन्ध केही फरक किसिमको हुनसक्ने संकेत पाइएको छ। आगामी दिनमा भारत र चीनको व्यापारिक सम्बन्धमा सुधार आउनसक्ने केही संकेत मिलेको छ। पछिल्लो एक वर्षमा भारतको चीनतर्फ हुने निर्यात बढेको छ। तर, अमेरिकाले भने भारतीय उत्पादनमाथिको कर छूट हटाएको छ। जबकी अमेरिकाबाट चीनमा आउने सामग्रीमाथि पनि चीनले कर बढाएको छ। तर, उसले अन्य मुलुकबाट आउने सामग्रीमाथिको कर भने घटाएको छ।

यसले भारतको लागि चीन निर्यातको महत्वपूर्ण मुलुक बन्नसक्ने देखिएको छ। यसले भारतको अमेरिकासँगको सम्बन्ध चिसिनसक्ने देखिएको छ। त्यस्तै तेल विवादको मुद्दामा पनि भारत चीनसँग नजिक देखिएको छ। दुई मुलुकको बीचमा तेल खरीदकर्ता मुलुकको संगठन निर्माण गर्ने विषयमा पनि पछिल्लो समय वार्ता चलिरहेको एक समाचार सार्वजनिक भएको थियो। यसले अमेरिकाले तेलमाथि गर्दै आएको राजनीतिबाट पनि पार पाउन सहज हुने उनीहरुको विश्वास छ।

यसैबीच चीन १० वर्षदेखि पाकिस्तानको आतंकवादी समुह जैश–ई–मोहम्मदका प्रमुख मासुद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गर्न रोक्ने निर्णयबाट पछि हटेको थियो। यसले पनि आगामी दिनमा भारत र चीनको सम्बन्धमा केही सुधार आउनसक्ने देखाएको छ। यसले भारतलाई भने अमेरिकाबाट टाढा पुर्‍याउनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ