arrow

पर्यटन मन्त्री भट्टराई र अध्यक्ष खरेलसँग प्रधानमन्त्रीले किन लिए स्पष्टीकरण ?

logo
प्रकाशित २०७६ पुष १४ सोमबार
yogesh-madhan.jpg

काठमाडौं। संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल दुवैलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण लिएका छन्। प्रधानमन्त्री ओलीले मन्त्री भट्टराई र निगमका कार्यकारी अध्यक्ष खरेल दुवौलाई स्पष्टीकरण मागेको बालुवाटार स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेललाई मन्त्री भट्टराईले असहयोग गरेपछि प्रधानमन्त्री ओलीले दुवैलाई बालुवाटार बोलाएर स्पष्टीकरण लिएका हुन्।

निगमका कार्यकारी अध्यक्ष खरेलले निगम सञ्चालक समितिले पूर्णता पाउन नसकेकै कारण नीतिगत निर्णय लिन कठिनाई हुँदैआएको बताउँदै आएका छन् । संचालक समिति पूर्ण नभएकाले देखिने गरी काम गर्न कठिनाइ भएकाले निगम सञ्चालक समितिलाई पूर्णता दिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । तर, मन्त्री भने कार्यकारी अध्यक्ष खरेललाई हटाइछाड्ने योजनामा रहेको बालुवाटार स्रोतको दाबी छ । 

विद्यमान सञ्चालक समितिबाट समेत कार्यकारी अध्यक्ष खरेलले साथ नपाएको विषयमा प्रधानमन्त्रीले जिज्ञासा राखेका थिए । भएका संचालकहरुले निगमको सुधारभन्दा पनि असहयोग गरेको सूचना पनि प्रधानमन्त्रीले थाहा पाएपछि तत्काल संचालक समितिलाई पूर्णता दिन निर्देशन दिएका थिए ।

मन्त्री भट्टराई निगम सञ्चालक समितिलाई पूर्णता दिएर नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा नेपाल वायुसेवा निगमको उचाइ बढाउनेभन्दा निगमले महत्वपूर्ण निर्णय लिनै नसक्ने अवस्था कायमै राखी खरेललाई हटाउने योजनामा रहेका छन्। सोतका अनुसार मन्त्री भट्टराई निगमका कार्यकारी अध्यक्ष खरेलप्रति सुरुदेखि नै पूर्वाग्रहपूर्ण ब्यवहार देखाउँदै आएका छन्। निगमको निरीक्षणका क्रममा समेत भट्टराईले खरेललाई असहयोग पुग्नेगरी आफ्नो अभिव्यक्ति राखेका थिए।

प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाका खरेललाई प्रधानमन्त्री ओलीले नै रुचाएर निगमको कार्यकारी अध्यक्ष बनाएकाले सञ्चालक समितिलाई पूर्णता दिई निगमलाई थप प्रतिस्पर्धी बनाउने योजना प्रधानमन्त्री ओलीले मन्त्री भट्टराई र कार्यकारी अध्यक्ष खरेलकै सामु सुनाइसकेका छन्। मन्त्री र कार्यकारी अध्यक्ष दुवैलाई स्पष्टिकरण लिँदा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र पार्टीका महासचिव विष्णु पौडेल साथै थिए।

मन्त्री भट्टराई बालुवाटारबाट निस्किएपछि भएको संवादमा भट्टराईले मन्त्रालय र मन्त्रालय मातहतका निकायबाट आर्थिक अपेक्षासहित आफ्ना योजनाहरु अगाडि बढाउन थालेको र प्रधानमन्त्रीकै रोजाइमा रहेका खरेल समेतलाई हटाउन मन्त्री भट्टराई उद्यत रहेको विषयमा समेत बालुवाटारमा समिक्षा भएको थियो। खरेललाई हटाएर उनी अर्कैलाई नियुक्ति गर्ने दाउमा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ