कमाण्डर सोलेमानीको अन्त्येष्टिमा हजारौँ इराकी सहभागी
एएफपी,
प्रकाशित २०७६ पुष १९ शनिबार
804
Shares
बग्दाद। अमेरिकी सुरक्षाकर्मीको कारबाहीमा मारिएका इरानी कमाण्डरको अन्त्येष्टिमा हजारौं सहभागी भएका छन्। इरानी सुरक्षाकर्मीका कमाण्डर कासिम सोलेमानी र इराकी अर्थसैनिक दलका प्रमुख अबु महदी अल मोहन्दीसको शनिबार अन्त्येष्टि गरिएको हो। बग्दाद जिल्लामा रहेको शिया धर्माबलम्वीहरुको तिर्थस्थल काधिमियामा उनीहरुको अन्त्येष्टि गर्ने बेलामा सयौँ सहभागी भएका थिए। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको कारवाहीका क्रममा उनीहरु मारिएको बिहीबार राती पुष्टि गरेको थियो।
“अमेरिकी नागरिकको रक्षाका लागि अमेरिकी राष्ट्रपतिको निर्देशनमा भएको सुरक्षा कारवाहीका क्रममा कासिमको मृत्यु भएको हो,” पेन्टानगनद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको थियो। मन्त्रालयका अनुसार क्वासिम बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै मारिएको हो।
वासिङ्टन र तेहरानबीच पछिल्ला केही महिनायता विवाद चर्किरहेको बेला अमेरिकी सेनाको कारबाहीमा परी उनीहरु मारिएका हुन्। इराकस्थित अमेरिकी दूतावासमा केहीदिन पहिले आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई “ठूलो मुल्य चुकाउनु पर्ने” चेतावनी दिएका थिए।