arrow

अकुत कमाउने बिरूद्ध अख्तियार सक्रिय हुँदा सहसचिव पनेरू र अधिकारीलाई उन्मुक्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७६ पुष १९ शनिबार
tax-officer-ird.jpg

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५८ अघि राजस्व समूहका कर्मचारीको सम्पत्ति छानबिनलाई चासो दिएको थिएन। २०५८ मा तत्कालीन अख्तियारका प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले राजस्व समूहमा बसी अकूत सम्पत्ति आर्जन गरेको आरोपमा १८ जना अधिकृतदेखि सहसचिवसम्मको घरमा छापा हानी मुद्दा चलाएका थिए। तीमध्ये डोलराज शर्मा, भरत सुवेदी, सुरेश रेग्मी, भरत घिमिरे लगायत थिए।

२०५८ पछि राजस्व समूहदेखि सडक, यातायात, मालपोतका कर्मचारीले सम्पत्ति आफ्नो नाममा नराखी नातेदार वा सवारीचालक, प्रेमिकाका नाममा समेत राख्न थाले। इन्भेष्टमेन्ट कम्पनी खोलेर समेत लुकाउन थालेपछि अख्तियारलाई भ्रष्टाचार गरी लुकाएको सम्पत्ति पत्ता लगाउनै मुस्किल हुँदै आएको थियो। त्यसका बाबजुद पनि अख्तियारले राजस्व समूहमा बसी अकूत सम्पत्ति आर्जन गर्नेहरुले ससुराली खलकदेखि नातेदारको नाममा राखेको अस्वभाविक सम्पत्ति खोजी गरी मुद्दा दायर गर्दैआएको छ।

यसैक्रममा राजस्व समूहका उपसचिव राजेन्द्र ढुङ्गानासहित २ जनाउपर भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको आरोपमा शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। उपसचिव ढुङ्गानाले सार्वजनिक सेवामा प्रवेश गरेको २०४९ साउन १९ देखि २०७५ असार ३२ सम्म आर्जन गरेको वैध आय रु. ७९ लाख ५४ हजार ७९५ रुपैयाँ ८ पैसाको तुलनामा उनले सोही अवधिमा गरेको खर्च तथा लगानी रु. ५ करोड ४८ लाख ३ हजार ३५ रुपैयाँ ५३ पैसा अस्वाभाविक देखिएको छ।

उनले गरेको खर्च तथा लगानीमध्ये रु. ४ करोड ६८ लाख ४८ हजार ५५५६ रुपैयाँ ४५ पैसा स्रोत नखुलेकाले पदमा हुँदा गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गरी मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। उनले भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएर अस्वाभाविक उच्च जीवनयापन गरेको पुष्टि हुन आएकाले साविक भ्रष्टाचार निवारण ऐन अनुसार काबाहीको माग गर्दै मुद्दा दायर गरेको छ।

उनको पुष्टी हुन नआएको ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ पैतालीस पैसा सम्पत्ति भ्रष्टाचार गरी आर्जन गरेकाले जफत गर्न मागदाबी गरिएको छ। आयोगले उपसचिव ढुंगानाकी श्रीमती मधु कोइराला ढुङ्गानाको नाममा समेत खरिद गरी राखेको देखिएकाले उनलाई पनि प्रतिवादी बनाएर आयोगले मुद्दा दायर गरेको छ।

अख्तियारले राजस्व समूहका अकूत सम्पत्ति आर्जन गर्नेहरुबिरुद्ध मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिएको छ। २०७६ मंसिर २७ मा राजस्व समूहका उपसचिव कृष्णबहादुर बस्नेतसहित उनको भ्रष्टाचारको सम्पत्ति लुकाएका उनका जेठान नवीनकुमार गौलीसहित ५ जनाका बिरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेतको आडमा जागिर अवधिभर राजस्व र भन्सारका आकर्षक कार्यालयमा बसी अकूत सम्पत्ति आर्जन गर्नेमा कृष्णबहादुर बस्नेत अग्रपंक्तिमा पर्दछन्। उनी राजस्व समूहका ठूला माछा नै मानिन्छन्।

राजस्व समूहका अधिकृतदेखि सहसचिवसम्मका २ सय कर्मचारीले भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अख्तियारले छानबिन गरिरहेको थियो। तातोपानी भन्सारदेखि बिराटनगर भन्सारसम्म कार्यरत रहँदा ब्यापारीसँग मिलेर सामानको गलत घोषणा गर्ने र न्यून बिजकीकरण गरेर अकूत सम्पत्ति आर्जन गरेका उपसचिव बस्नेतका बिरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि राजस्व समूहमा अकूत सम्पत्ति कमाउनेहरुमा तरंग पैदा भएको छ।

अख्तियारका पदाधिकारीसम्मै पहुँच पुर्याएर राजस्व समूहका अधिकृत, उपसचिव र सहसचिवले भ्रष्टाचार गर्दैआएका थिए। पछिल्लो पटक नवीन घिमिरेले राजस्व समूहका अधिकृतदेखि सहसचिवसम्मको सम्पत्ति छानबिनलाई तीव्रता दिएका छन्। अख्तियारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र राष्ट्रिय अनुसन्धान विभागको समेत सहयोग लिएर राजस्वका कर्मचारीको छानबिन गरिरहेको बताइएको छ।

डेढ बर्षको बीचमा दुई शाखा अधिकृत र दुई उपसचिव गरी चार जना बिरुद्ध मुद्दा दायर गरेको छ भने अरु थुप्रै अधिकृतदेखि सहसचिवसम्मको छानबिन गरिरहेको छ। अख्तियारले भन्सार अधिकृत रामजी रिजाल र मानप्रसाद बिकबिरुद्ध मुद्दा दायर गरेको थियो। राजस्व समूहका उपसचिव टीकाराम भूसालबाटै अख्तियारले छानबिन सुरु गरेको थियो। भूसालबिरुद्ध २०७४ फागुन ३० मा १ करोड ५८ लाख ६३ हजार ६ सय ५७ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेकोमा त्यति नै बराबर बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो।

रिजालबिरुद्ध २ करोड ९७ लाख ३८ हजार ३ सय १० रुपैयाँ बिगो कायम गरी २०७५ फागुनमा फागुन ६मा मुद्दा दायर गरिएको थियो। विकबिरुद्ध १ करोड ८२ लाख ६७ हजार ७ सय ८९ रुपैयाँ बिगो कायम गरी २०७५ चैत ८ मा मुद्दा दायर गरिएको थियो।

पछिल्लो पटक मुद्दा दायर गरिएका उपसचिव बस्नेतले भ्रष्टाचारको सम्पत्ति जेठान नवीनकुमार गौलीका नाममा लुकाएको अख्तियारले फेलापारेको छ। पछिल्ला दिनमा कर्मचारीले भ्रष्टाचार गरेको सम्पत्ति आफ्ना नाममा नराखी नातागोताका नाममा राख्ने, हुन्डीबाट अमेरिका र अष्ट्रेलिया समेत पठाउने गरेका समाचारहरु आउने गरेका छन्। अख्तियारले राजस्व समूहमा सबैभन्दा बढी कमाउने भनेर चिनिएका अधिकृतदेखि सहसचिवको उजुरीमा छानबिन गरी अधिकृत र उपसचिव गरी चारका बिरुद्ध मुद्दा पनि दायर गरिसकेको छ।

तर तातोपानी भन्सारमा एकपटक अधिकृत, एकपटक प्रमुख हुँदै राजस्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा लोकमानसिंह कार्कीको आडभरोसामा तस्करीको साम्राज्य नै चलाएका अवकाशप्राप्त सहसचिव निर्मलहरि अधिकारीको अकूत सम्पत्तिमा पनि अख्तियारले बिस्तृत छानबिन गरेको थियो।

२०७६ असोज २२ मा अर्थमन्त्रालयको सहसचिवबाट अवकाश पाएका अधिकारीले राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा रसुवा, बीरगंजदेखि बिराटनगरसम्मबाट भित्रिने प्रत्येक गाडीबाट २५ हजार रुपैयाँका दरले घुस असुल्ने गरेको आरोप लाग्ने गरेको थियो। उनका बिरुद्ध विस्तृत अनुसन्धान भइरहेको थियो।

मुद्दा नै दर्ता हुने भएपछि सहसचिव अधिकारीले चलखेल गरी जागिरबाट अवकाश हुन्जेलका लागि रोक्दै आए । सहसचिव अधिकारीले तातोपानी भन्सार प्रमुख हुँदा राखेका भान्से होमप्रसाद तिमल्सिना (नवराज)लाई लगानी गरेको रसुवाबाट कारोबार गर्ने प्रत्येक ब्यापारी जानकार छन् । सहसचिव अधिकारीले लगानी गरेपछि नवराज छोटो समयमा उदाएका नवधनाढ्य ब्यापारी बन्न पुगेको ब्यापारीबीच चर्चा हुने गर्दछ । राजस्व अनुसन्धान विभागको महानिर्देशक अधिकारी भएको बेलामा तिमल्सिनाले न्यून बिजकीकरण गरी मासिक अरबौका सामान आयात गर्ने गरेका थिए । 

अधिकारीको अकूत सम्पत्ति पहिलो पटक अधिकृत हुँदा तातोपानी भन्सारमा बसेर कुस्त कमाई गरी २०५६–०५७ तिरै तत्कालीन एयरपोर्ट भन्सारका प्रमुख द्वारिका उपाध्यायको चावहिलस्थित करीब एक रोपनी घर र जग्गा ८० लाखमा किनेको अर्थ स्रोत बताउँछ । पाँचतारे होटेल हयातको हेल्थ क्लबका सदस्य बनेका अधिकारीले २०५६ मै ८० लाखमा घर किन्न सक्ने हैसियत राजस्व समूहमा बसी बनाइसकेपछिको कमाइ ब्यापार र भक्तपुरमा १० रोपनी भन्दा बढी जग्गा खरिद गरी कृषि फार्मलाई भाडामा दिएका छन् । 

उक्त कालिज फार्ममा राजस्व अनुसन्धान विभागबाट अकूत सम्पत्ति कमाएपछि छानबिनका डरले राजीनामा दिएका अधिकृत उद्धव राउतसमेत पार्टनर रहेको बताइन्छ । अधिकारीको ओसिएन कम्प्युटरमा समेत लगानी रहेको स्रोतको दावी छ। सिन्धु विकास बैंकका अध्यक्ष तथा तातोपानीबाट तस्करी गरी रातारात नवधनाढ्य भएका राजेन्द्र श्रेष्ठ, योगेश श्रेष्ठ र जगदिश श्रेष्ठले पनि अधिकारीदेखि भन्सारका कर्मचारीको भ्रष्टाचारको पैसा चलाएका छन् । 

अख्तियारको छानबिनमा रहेका निर्मलहरि अधिकारीलाई अर्थमन्त्रालयले राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाएर पुरस्कृत गरेको छ । लोकमानसिंह कार्कीको निकट भएर राजस्वमा तर मारी अथाह कमाएका अधिकारी सहसचिवबाट अवकाश पाएको २ महिना नबिती बाणिज्य बैंकको अध्यक्षमा नियुक्त हुन सफल भएका छन्। उनको उजुरीका बारेमा अख्तियारले बिस्तृत अनुसन्धान गरि मुद्दा दायर गर्ने तयारी गरेको थियो । तर मुद्दा दायर भने अहिलेसम्म भएको छैन ।

राजस्व समूहमा बसी अकुत सम्पत्ति आर्जन गर्ने सहसचिव केदार पनेरुमाथि अख्तियारले छानबिन नै गरेको छैन । अर्थ मन्त्रालयको राजस्व समूहमा बसेर भरत सुवेदीपछि सबैभन्दा बढी भ्रष्टाचार गर्ने केदार पनेरु भएको अर्थका कर्मचारी नै बताउँछन् ।  तर, अख्तियारले उनलाई छुन किन सक्दैन । नेकपाका नेताहरुसँग घनिष्ट सम्बन्ध भएका र चन्दा खोजिदिने भएकाले पनेरुको सम्पत्ति छानबिन हुन सकेको छैन । पनेरु एयरपोर्ट भन्सार, राजस्व अनुसन्धान विभाग हुदै रसुवा भन्सारको ३ बर्ष प्रमुख हुदा उनले भन्सारछली गरी ब्यापारीबाट करोडौं रुपैयाँ आर्जन गरेका थिए । एडिडासका जुत्तादेखि विभिन्न ब्रान्डेड सामान चीनबाट ल्याउने ब्यापारीले भन्सार प्रमुख पनेरुसँग सेटिङ गरी न्यून बिजकीकरण गरी सामान भित्र्याउने गरेका थिए । ब्रान्डेड सामान ल्याउने तर कम मूल्यांकन गरी भन्सार तिर्ने ब्यापारीहरुसँग पनेरुले एक ट्रक बराबर दसौं लाख घुस लिने गरेको आरोप छ । 

रसुवा भन्सारको प्रमुख हुँदा उनले नक्कली कस्मेटिकका कारोबारीहरुसँग सेटिङ गरी एक कन्टेनर बराबर ३० लाख रुपैयाँ घुस लिने गरेका थिए । चर्चित कस्मेटिक ब्रान्ड युनिलिभर, ल्याक्मे, निभिया जस्ता ब्रान्डका नक्कली सामान चीनमा उत्पादन गरी नेपालमा भित्रने गरेका थिए । युनिलिभरको कार्टुनमै चीनबाट नक्कली सामान भित्र्याउनेहरुको सेटिङ भन्सार प्रमुख पनेरुसँग थियो । मासिक १० अर्ब भन्दा बढी मुल्यको कस्मेटिक भित्रने गरेका थियो ।

पनेरुले न्युन बिजकीकरण गर्नेदेखि नक्कली कष्मेटिकका सामानबाट करोडौं घुस असुली गरे । त्यतिले मात्र नपुगी उनले रसुवा भन्सार नजिक प्रहरीका लागि २ वटा छाप्रा बनाएर १ करोड २० लाखको बिल पेश गरी भ्रष्टाचार गरेका थिए । जम्मा ३१ लाख खर्च भएको टहराको बिल उनले १ करोड २० लाखको बनाएर ८९ लाख भ्रष्टाचार गरेको अहिले पनि रसुवा भन्सारमा चर्चाको बिषय हुँदैआएको छ । रसुवा भन्सार कार्यालयको भवनको छानामा जस्ता हालेको ६८ लाख बिल भौचर पेश गरी भुक्तानी लिएका थिए ।

कार्यालयमा जस्ता हालेको २१ लाख मात्र खर्च भएको थियो । यसरी जस्ताको टहरा बनाउँदै उनले १  करोडभन्दा बढी भ्रष्टाचार गरेका थिए । पत्याउनै नसकिने रकम खर्च गरी टहरा बनाएको बारेमा महालेखा परीक्षकको कार्यालयको टोलीले गरेको लेखापरीक्षणमा बेरुजु निकाल्न लागेको थियो । तर बेरुजु निकाल्ने भएको सूचना पाएपछि पनेरुले महालेखा परीक्षक टंकमणि शर्मालाई पनि भेटी चढाएर मिलाएको आरोप उनीमाथि छ। राजस्व अनुसन्धान विभागदेखि रसुवा भन्सारको प्रमुख हुँदासम्म उनले आर्जन गरेको अकूत सम्पत्ति ससुराली खलकका विभिन्न ब्यक्तिका नाममा लुकाएका छन् । केही मारवाडी ब्यापारीलाई पनि पनेरुले लगानी गरेका छन् । एयरपोर्ट भन्सारमा भन्सार अधिकृत हुँदा पनेरु तीनकुनेस्थित ससुरालीमै बस्थे । राजस्व अनुसन्धान विभागमा सरुवा भएपछि गाडी सुविधा पाए । त्यसपछि उनी नैकापबाटै कार्यालय आवतजावत गर्न थाले ।

राजस्व अनुसन्धान विभागको महानिर्देशक महेश दाहाल भए पनि डिफ्याक्टो महानिर्देशक उनै थिए । उनले नै सबै सेटिङ मिलाउने काम गर्दै आएका थिए । अख्तियारले ५ हजार घुस लिने कर्मचारीलाई पक्राउ गर्ने तर भ्रष्टाचार गरी करोडौं आर्जन गर्ने पनेरुजस्तालाई छुन समेत सकेको छैन । पनेरु हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छन् । उनले संघीय मामिला मन्त्रालयमा १ बर्षअघि समायोजन महाशाखाको प्रमुखका रुपमा समेत काम गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ