arrow

संसदका पनि हेडसर !

यस्तो छ यहाँसम्मको यात्रा 

logo
बाबु नेपाली, 
प्रकाशित २०७६ माघ ६ सोमबार
Agni-sapkota.jpeg

काठमाडौं । राजनीतिमा असम्भव केही छैन । त्यही असम्भवलाई सम्भव बनाउँदै लगेका छन् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य अग्निप्रसाद सापकोटाले । 

उनी पूर्व प्रधानाध्यापक । तर त्यो पेशालाई चट्टै छोडेर सशस्त्र युद्धमा होमिए । तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि मास्टरै थिए । 

एक मास्टरले अर्को मास्टरलाई नसघाउने कुरै भएन । त्यस्तै भयो । प्रचण्डलाई दुःख पर्दा होस् वा पीडामा हुँदा होस् सिन्धुपाल्चोके सापकोटाले रिफ्रेस गराउन सिकुटेदेखिका शान्त स्थानमा लगिहाल्थे । 

गत पुसमा पनि लगेका थिए । पुस ४ देखि सभामुखका लागि संसद खुलेको थियो । तर असोज १४ देखि नै प्रचण्डको मनमा अग्नि थिए । 

कृष्णबहादुर महरा यौनकाण्डमा मुछिएपछि प्रचण्डका प्रियपात्र अग्निले नै त्यो पद सम्हाल्ने अनुमान थियो । 

किनकि भागबण्डामा सभामुख पद पूर्व माओवादीलाई परेको थियो । केपी शर्मा ओलीका पूर्व एमालेका पक्षधरहरु अब पनि के को भागबण्डा भन्दै आएका थिए । 

तर प्रचण्डले अडान छाडेनन् । अग्नि पनि बालुवाटार नजिककाहरु भ्रम छर्न माहिर भएको आरोप लगाउँदै आएका थिए । 

सभामुखमा किचलो बढ्यो । संसद बैठक सरेको सर्यै भयो । तर पनि न प्रचण्ड गले न अग्नि । 

ओलीले एकसे एक पूर्व एमालेका नेताहरु तेस्र्याए । एमालेबाटै उपसभामुख भएकी शिवमाया तुम्बाहाम्फे पनि ओलीको नजरमा परिसकेकी थिइनन् । किनकि सुवास नेम्वाङको विकल्प उनले खोज्दै खोजेनन् । 

पूर्व एमालेकी उपाध्यक्ष तथा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी अनावश्यक राजनीतिमा छिरेकी थिइन् ।  

उनले महिला भएका नाताले तुम्बाहाम्फेलाई नै सभामुख बनाउनु पर्ने अडान राख्दै आएकी थिइन् । 

ओलीले पहिलो प्राथमिकतामा नेम्वाङ र दोस्रोमा तुम्बाहाम्फेलाई राखेका थिए । उनी कुनै हालतमा माओवादीलाई सभामुख दिने पक्षमा थिएनन् । 

तर अन्तिममा उनले घुँडा टेक्नै पर्यो । बालुवाटारमै आइतबार बिहान जवरजस्तीको हाँसो हाँसेरै प्रचण्डलाई सभामुख अग्निको हातमा सुम्पे । 

अग्निलाई सजिलै सभामुख दिएका थिएनन् । त्यसको लहरो एमसीसी सहजै संसदबाट पारित गर्नुपर्नेसम्मको सर्तमा गएको थियो । 

प्रचण्ड राजी भए । आफ्ना मास्टरलाई सभामुख बनाउन पाउँदा उनी दंग भए । अग्नि पनि दंग भए । 

सोमबार संसद बैठक बस्दैछ । कुनै अप्रिय घटना नभए अबको सभामुख अग्निप्रसाद सापकोटा नै हुन् । 

उनका विद्यालयका सहकर्मी शिक्षकका अनुसार सापकोटा नरम अवतारमा कडा स्वभावका प्रधानाध्यापक हुन् । उनी स्पष्टसंग सीधै कुरा गर्थे । निर्णय पनि सीधै गर्थे । उनी मिजासमा पनि मिजासिला शिक्षक थिए । 

सहीलाई सही र गलतलाई गलत भन्ने ल्याकत राख्थे र राख्छन् पनि । यही ल्याकत संसदमा राखेर संसदको गरिमा बढाउने हो भने उनी पनि स्मरणमा रहने छन् । 

उनीमाथि आपराधिक चरित्र पनि लुकेको दावी छ । २०६२ साल बैशाख १६ गते काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप सापकोटामाथि छ । 

उक्त मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ । अर्जुनकी श्रीमती पूर्णिमायाले दर्ता गरेको मुद्दाको टुंगो नलागेको हो । 


यस्तो छ उनको यहाँसम्मको यात्रा–

जन्म मिति र स्थानः २०१४ फागुन २४, सिन्धुपाल्चोक, कुविण्डे गाउँ
आमाको नामः तिलमाया सापकोटा
बुबाको नामः धनपति सापकोटा
स्थायी ठेगानाः चौतारा साँगाचोकगढी नपा वडा नं ४, सिन्धुपाल्चोक
शैक्षिक योग्यताः स्नातक, त्रिभुवन विश्वविद्यालय
पारिवारिक स्थितिः श्रीमती, तीन छोरा

पेशा र अनुभवः

१५ वर्ष अध्यापन, (७ वर्ष माध्यमिक विद्यालयको प्रधानाध्यापक)

पार्टी सदस्यता मिति र पार्टीको नामः

विसं २०३५ साल नेकपा (चौथो महाधिवेशन)

पार्टी जिम्मेवारीः

स्थायी समिति सदस्य, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

राजकीय जिम्मेवारीः
विसं २०६४ – चैत्र २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निकटतम प्रतिद्धन्द्धीभन्दा २० हजार बढी मत (३०,१७५) ल्याइ निर्वाचित । देशभरि सर्वाधिक मत ल्याउने सातौं उम्मेद्वार । संविधानसभा सदस्यका रुपमा संविधान निर्माणमा सक्रियतापूर्वक क्रियाशाील ।
विसं २०६८ – वैशाख २२ गते नेपाल सरकारको सूचना तथा संचार मन्त्री
विसं २०७० – सिन्धुपाल्चोक–२ वाट दोस्रो पटक संविधान सभा सदस्यमा निर्वाचित तत्कालीन बागमती अञ्चलबाट तत्कालीन एकीकृत नेकपा (माओवादी) बाट विजयी एकमात्र सांसद ।

विसं २०७३ –नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्री
विसं २०७४ – प्रतिनिधि सभा सदस्यमा विजयी, सिन्धुपाल्चोक–१, लगातार तीनपटक संसद सदस्यमा विजयी (ह्याट्रिक)

संक्षिप्त राजनीतिक जीवन
विसं २०२९ – सालमा विद्यार्थी संगठनमा आवद्व,

विसं २०३५ – पार्टी सदस्यता (नेकपा चौथो महाधिवेशन),

विसं २०३७ – शिक्षक संर्घष समितिको सदस्य (नेराशिसं) जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै ने।रा।शि।सं को केन्द्रीय महासचिव र उपाध्यक्ष,

विसं २०४८ – मा शिक्षकवाट राजीनामा दिई पूर्णकालीन राजनीतिमा सकृय, २०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य,

विसं २०५१ – मा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य, २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य, २०५२ माघदेखि भूमिगत,

विसं २०५२ – फागुनवाट शुरु जनयुद्वको नेतृत्वमा, पूर्वी उपक्षेत्रिय व्यूरो इन्चार्ज, २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनवाट पोलिट्व्युरो सदस्यमा निर्वाचित,

विसं २०५८ – पार्टीवाट गठन गरिएको ३ सदस्यीय वार्ता टोलीमा रही सरकारसँग वार्तामा सहभागी,

विसं २०६२ – चैत्र १४ गते सिन्धुपाल्चोक ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले हेलिकप्टरबाट प्रहार गरेको गोली ३ ठाँउमा लागि गम्भीर घाइते

विसं २०६२–२०६३ – दोस्रो जनआन्दोलनमा उपत्यका वरिपरिका जनतालाइ जनआन्दोलनमा परिचालनको नेतृत्व

विसं २०६९ – साल माघमा भएको एकीकृत नेकपा (माओवादी) को हेटौडा महाधिवेशनवाट पोलिट्व्युरो सदस्य

विसं। २०६९ – साउनमा एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ता

विसं २०७१ – मा भएको विराटनगर सम्मेलनवाट स्थायी समिति सदस्य

विसं २०७३ – नेकपा (माओवादी केन्द्र) को कार्यालय सदस्य

विसं २०७५ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य (विवरण सापकोटाका भतिज रेवती सापकोटाको फेसबुकबाट)


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ