गोकुल बाँस्कोटाको घरमा बम विस्फोटबारे यसो भन्छन् डीएसपी गिरी
प्रकाशित २०७६ फागुन २८ बुधबार
1.4k
Shares
काठमाडौं। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ घुस मागेको अडियो टेप सार्वजनिक भएपछि राजीनामा दिन वाध्य भएका पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट भएको छ ।
भक्तपुरको लोकन्थीलीस्थित मध्यपुरठिमी नगरपालिका–१ मनोहरामा रहेको उनको निर्माणाधीन घरमा विष्फोट भएको हो ।
बिहान ८ बजेको बम विष्फोट भएको भक्तपुर प्रहरी प्रवक्ता दीपक गिरीले हाम्राकुरालाई बताए ।
उनका अनुसार बम विस्फोटबाट बाँस्कोटाको बन्दै गरेको घरको पर्खाल भत्किएको छ । झ्यालका सिसाहरु फुटेका छन् ।
त्यसैगरी संगै रहेका दुई वटा घरका शिशा पनि फुटेका छन् । एउटा मारुती भ्यानमा क्षति पुगेको छ ।
उनले बम विस्फोट कसले गराएको भन्ने पत्ता लागि नसकेको भन्दै अनुसन्धान सुरु भइसकेको बताए ।
अहिलेसम्म कोही पक्राउ गरिनसकेको पनि उनले बताए ।
बाँस्कोटा भने बालकोटमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा बस्दै आएका छन् ।
उनको पहिले एक तलाको घर थियो भने अहिले पुरानो घरमा तला थपिएको छ ।