arrow

मास्क र सेनिटाइजर झै कोभीड वीमा अनिवार्य गर्न सांसद दिव्यमणीको सुझाव

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ६ शनिबार
dibyamani.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद दिव्यमणी राजभण्डारीले कोरोनाबाट बच्न मास्क, सेनिटाइजर र सावुन पानीले हात धुने कार्यलाई अनिवार्य गरे झै कोभीड वीमालाई पनि अनिवार्य गर्न सुझाएका छन् । कोरोनाबाट बच्ने प्रयास गर्दा गर्दै पनि भइहालेमा कोभीड विमाले उपचारमा सहयोग हुने भएकाले वीमा अनिवार्य गर्न उनको सुझाव छ । 

सांसद राजभण्डारीले सरकार, वीमा समिति, वीमा कम्पनी र आम नागरिकमा बढी प्रभाव भएका राजनीतिक दल तथा नागरिक संस्थाहरुले संयुक्त रुपमा अभियानकै रुपमा वीमा कार्यक्रमलाई तल्लो तहसम्म विस्तार गर्नुपर्ने बताए । राजनीतिक दल, नागरिक समाज, व्यवसायीक संस्थाहरु र नागरिक संस्थाहरुले कोरोनाबाट बच्न स्वास्थ्य सामग्री र जनचेतना जगाउनमा काम गरे जस्तै कोरोना भइहाले आर्थिक रुपमा व्यक्तिलाई भार नपर्ने उपायको रुपमा रहेको कोभीड वीमामा सबैले ध्यान केन्द्रीत गर्नुपर्ने राजभण्डारीले बताए । 

कोभीड वीमा भएका व्यक्तिलाई कोरोना भइहाले विरामी भएकै अवस्थामा वीमा गरेवापतको रकम उपलव्ध गराइन्छ । कोरोना प्रभाव बढेसँगै हालसम्म नेपालभरका जीवन वीमा र गैरजीवन वीमा कम्पनीहरुले करिव ७ लाख २५ हजार जनाको कोभीड वीमा गरेका छन् । अहिले विभिन्न कम्पनीहले दुईवटा योजना अन्तर्गत कोभीड वीमा गराइरहेका छन् । व्यक्तिगत वीमा एक लाख रुपैयाँको गराउँदा १ हजार रुपैयाँ वीमा शुल्क लाग्ने गरेको छ भने पारिवारिक गराउँदा ६ सय रुपैयाँ एक जनाको शुल्क कम्पनीहरुले लिदै आएका छन् । सोहि वीमा ५० हजारको गराउँदा व्यक्तिगत हकमा ५ सय वीमा शुल्क लाग्छ भने परिवारको सामुहिक गराउँदाको शुल्क ३ सय रुपैयाँ कम्पनीहरुले लिदै आएका छन् ।  

सांसद राजभण्डारीले सरकारी अधिकारीहरुलाई वीमा योजनालाई प्रभावकारी बनाउन आफ्नो ठाउँबाट अझ प्रभावकारी भूमिका खेल्न आग्रह गरे । उनले सबै नागरिकलाई उपचार गर्न नपाएर मर्ने अवस्थाबाट बचाउन पनि वीमालाई अनिवार्य गर्नुपर्ने उल्लेख गर्दै त्यसलाई कसरी प्रभावकारी बनाउने त्यसतर्फ कार्ययोजना बनाएर लाग्न उनले कर्मचारी नेतृत्वलाई सुझाव दिए । 

सरकारलाई कोभीड वीमा गराउने कम्पनीहरुलाई पनि विश्वासमा लिएर काम गर्न सुझाव दिदै राजभण्डारीले कोभीडको जोखिम बोक्ने व्यवसायीहरुको माग अनुसार पूनर्वीमाको व्यवस्थाका लागि सहजीकरण गर्न आग्रह गरे । कोभीड वीमाको फाइदाको बारेमा हर सचसेत नागरिकले प्रवर्द्धन गर्न पनि उनले अपिल गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ