arrow

ओलीवादको धरातलमा टेकेर कस्तो आउला बजेट, जसले लिँदैछ ओलीको अग्निपरीक्षा

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
oli-and-budget-new.jpg.jpeg
काठमाडौं । नेपालमा नयाँ संविधान जारी भएपछिको पहिलो बजेट व्यवस्थापिका संसद्मा शनिबार अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्दैछन् । आर्थिक वर्ष २०७३–०७४ को लागि खर्च गर्ने गरी प्रस्तुत गरिएको बजेट सामू धेरै आशा र धेरै जिम्मेवारी पनि रहेको छ । साथमा जनताको मन जित्ने अवसर पनि त्यत्तिकै छ । 
 
सरकार गठनदेखि यहाँसम्मको अवस्थामा आईपुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको मन जित्ने र केही आशाको किरण रोप्ने काम गरेका छन् । धेरै ‘आश्वासनको खेती’ भनिन्छ तर आश्वासन भित्र केही काम गर्ने कोशिस पनि छन् भन्न कञ्जुस्याईं गर्नु हुँदैन । विशेषगरी, दक्षिणी सीमा नाकामा देखिएको परनिर्भरतालाई उत्तरी नाकामा पनि सारेर नाकाबन्दीको तीतो स्वाद चखाउने छिमेकी मुलुक भारतलाई विकल्पको बाटो देखाएरको र ‘नेपाली दासत्व स्वीकार्दैन’ भन्ने सन्देश दिन खोजेका ओलीको लोकप्रियताको अन्तिम परीक्षा बजेटसँग पनि जोडिएको छ । 
 
अहिले नेपालको कुनाकुनामा चिनियाँ इन्जिनियरहरू घुमिरहेका छन् जुन प्रधानमन्त्री ओलीको कार्यकालले सहजता सिर्जना गरिदिएको छ । चीनले पनि नेपाललाई आफ्नो असल छिमेकीको रूपमा विश्वास गर्ने वातावरण सिर्जना भएको छ । यसलाई निरन्तरता दिन र बोलीलाई व्यवहारमा उतार्नु मुख्य चुनौती हो । त्यसको लागि बजेटले कत्तिको आफ्नो ‘हावादारी’ भनिएको भाषणलाई व्यवहारमा लागू गराउने गरी बजेट विनियोजन गरिन्छ त्यो महत्वपूर्ण कुरा हो । साथमा संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माण स्वभाविक प्राथमिकताका क्षेत्रहरू छन् नै । 
 
प्रधानमन्त्री ओलीले पूरा आर्थिक वर्ष आफूले ल्याएका नीति तथा कार्यक्रममाथि बजेट खर्च गर्न पाउलान् नपाउलान् यो अहिले नै भविष्यवाणी गर्नु उचित नहोला । तर, प्रधानमन्त्रीले नै केही पहिले मौखिक रूपमा सरकारको मृत्युपत्र सहमति जनाईसकेको खबरले सम्भवतः बजेट कार्यान्वयनमा यो सरकारले धेरै दिन भूमिका खेल्न नपाउने हो कि भन्ने विषय आम नेपाली समाजले सहजै बुझेको विषय हो । तर, सबैको ध्यान भनेको ओली नेतृत्वको सरकारले शनिबार ल्याउने बजेटको लोकप्रियता र यसको भव्यता तिर गएको छ । 
 
सम्भवतः प्रजातन्त्रको पुनर्बहालीपछि पहिलो पटक यत्रो ठूलो राष्ट्रिय उत्सवको समयमा अर्को राष्ट्रिय उत्सव मनाईँदै छ, जुन राष्ट्रिय बजेटसँग सम्बन्धित बजेट भाषण गर्ने र गणतन्त्रको खुशियालीमा उत्सव । दुईटै शनिबार नेपालीहरूले मनाउँदैछन् । यस्तो दुई उत्सबको संगम विन्दूमा जनताले आफ्ना माग समेटिएको आभाष व्यक्त गर्न पाउन्, जनताले सीधा अपनत्व महसुश गर्नसक्ने र जनताको मनले ‘मेरो सरकारले मेरो लागि ल्याएको बजेट’ भन्न सक्ने स्थिती सिर्जना होस् सबैको चाहाना हो यो । भोलिको दिनमा यत्ति चाहेका छन् आम जनताले कि यो सरकारबाट जुन बजेट विनियोजन गरिन्छ, त्यसले साथैमा एउटा उपलब्धीको कोशेली पनि बोकेर आओस् ।
 
यो संयोग फेरि पनि परेको जुन २०५१ सालमा थियो । २०५१ सालमा पहिलो पटक बामएकताबाट बनेको सरकारले ल्याएको बजेट र त्यसको लोकप्रियताले समग्र पार्टीमा पुर्‍याएको फाईदा एमालेसामु अझै सचित्र उभिएको छ । त्यही बजेटका एक हिस्सा अर्थात् तात्कालीन गृहमन्त्री अहिले प्रधानमन्त्रीका रूपमा रहेका छन् । यस्तो संयोगमा बाम एकता पनि फेरि जोडिएको छ । 
 
त्यसको लागि पनि बामएकताको स्वाद चखाउने अपूर्व मौका यो सरकारलाई छ । त्यसैले पनि यो सरकारले केही न केही फरक र जनताले सीधा अपनत्व अनुभव गर्नसक्ने बजेट ल्याउनै पर्ने दबाब पनि सरकार समक्ष रहेको छ । साथमा, लोकप्रियताको नाममा वितरणमुखी र खर्च गर्न नसक्ने खालको बजेट ल्याईन्छ भने ओलीको लोकप्रियता बढ्ने होईन झनै विश्वसनीयता गुम्दै जानेमा पनि कुनै शंका छैन । त्यसैले ओलीवादको नारा घन्किईरहँदा ओलीवादको नाराको भविष्य डोर्‍याउने बजेट कस्तो आउला ? यसैले ओलीवादको स्थायित्वको मार्गदर्शन कोर्ने छ । ओली नेतृत्वको सरकार र ओलीको व्यक्तिगत लोकप्रियताको आधार पनि शनिबारको बजेट हो भन्ने टिप्पणी पनि चल्दै आएको ।  
 
कसरी बन्छ बजेट, बजेट निर्माणका प्रक्रियाहरू
तपाईंका चिनजानका मानिसहरू कोही अर्थमन्त्रालयमा काम गरेका छन् ? छन् भने थाहा पाउनुहुनेछ कि उनीहरूको बजेट निर्माणको समयमा व्यस्तता कति धेरै हुने गरेको छ। अर्थमन्त्रालयका विशेषगरी बजेट महाशाखामा काम गरिरहेका कर्मचारीहरू अहिले विहानदेखि बेलुकासम्म नै अफिसमा मात्रै बसेको देख्दा तपाईलाई पनि धेरै कौतुहलता जाग्न सक्छ कि आखिर यति धेरै मान्छेले के गर्छन् सिंहदरबारमा ?
 
नेपालको वार्षिक बजेट विनियोजनको लागि अर्थमन्त्रालयले कूल ३८ वटा प्रक्रिया अपनाएको हुन्छ। जसमा बजेट तर्जुमा फारम, संकलन, टेबुलेसन तथा अध्ययनदेखि व्यवस्थापिका संसद्मा अर्थमन्त्रीले बजेट पेश गर्नेसम्मका प्रक्रियामा पनि बीचमा ३६ वटा प्रक्रियाहरू रहने गरेको छ। अहिले अर्थमन्त्रालयले बजेट तर्जुमा दिग्दर्शन, २०७२ ९ छैटौं संस्करण० को अधिनमा रही बजेट निर्माण गरिने अर्थमन्त्रालयको बजेट महाशाखाले जनाएको छ। 
 
महाशाखाका एक अधिकृतले बजेट निर्माणको सबै काम सोही दिग्दर्शनको अधिनमा रहेर गरिने जानकारी दिए। उनका अनुसार सो ३८ वटा प्रक्रिया पूरा गर्नको लागि अर्थमन्त्रालयले महाशाखाका विभिन्न तहका कर्मचारीहरूको छुट्टाछुट्टै समूह बनाएर काम गर्ने गर्दछ। त्यसले गर्दा अहिले बजेटको कति नम्बरसम्मको काम सकियो भन्ने कुरा भने यकीन गर्न कठिन छ। अर्थमन्त्रीले व्यवस्थापिका संसद्मा आगामी जेठ १५ गते सार्वजनिक गर्ने बजेट बनाउन यस्तो प्रक्रिया अपनाइन्छ सिंहदरबारमा। हेर्नुहोस् एक देखि ३८ नम्बर सम्मका प्रक्रियाहरूः–
 
१. बजेट संकलन तर्जुमा फारम संकलन, टेबुलेशन तथा अध्ययन
२. बजेटको नीतिगत र कार्यक्रम माथिको छलफल राष्ट्रिय योजना आयोगमा एमटीईएफ सहित
३. अर्थ मन्त्रालयमा बजेट माथिको कार्यक्रम तथा खर्च शीर्षकगत छलफल 
४. आर्थिक सर्भेक्षण नेपाली, अन्तिम मस्यौदा तयारी
५. बैदेशिक प्राविधिक सहायताका विवरणको अन्तिम मस्यौदा तयारी 
६. बजेट सुझाव संकलन गरिसक्ने
७. व्यवस्थापिका संसद्मा पूर्व बजेट प्रस्तुतीको तयारी, 
८. व्यवस्थापिका संसद्मा पूर्व बजेट प्रस्तुतीको तयारी,
९. मन्त्रालयको लक्ष्य तथा प्रगति विवरणको अन्तिम मस्यौदा तयार पार्ने 
१०. संस्थानको प्रगति विवरणको अन्तिम मस्यौदा तयार पार्ने 
११. राजश्व परामर्श समितिको प्रतिवेदन प्रस्तुत
१२. प्राविधिक सहायताको विवरण छपाई सम्पन्न गर्ने 
१३. वैदेशिक सहायता संलग्न आयोजनाको स्रोत पुस्तिकाको मस्यौदा भिडान गर्ने 
१४. आर्थिक सर्भेक्षण, नेपाली प्रेसमा छपाईका लागि पठाउने 
१५. बजेट सम्बन्धमा सभामुखसँग छलफल
१६. व्यय अनुमान र शीर्षकगत खर्च अनुमानको अन्तिम मस्यौदा तयारी
१७. व्यय अनुमानको प्रारम्भिक मस्यौदा तयारी, त्रिवर्षीय खर्च अनुमान सहित
१८. आर्थिक सर्भेक्षण अङ्ग्रेजी अन्तिम मस्यौदा तयारी 
१९. आर्थिक सर्भेक्षण अङ्ग्रेजी प्रेसमा छपाईका लागि पठाउने 
२०. मन्त्रालयको लक्ष्य तथा प्रगति विवरणको छपाई सम्पन्न गर्ने 
२१. संस्थानको प्रगति विवरण छपाई सम्पन्न गर्ने 
२२. आर्थिक विधेयकहरूको अनुसूचीको मस्यौदा तयार पार्ने 
२३. वैदेशिक सहायता संलग्न आयोजनाहरूको श्रोत पुस्तिकालाई अन्तिम रूप दिने
२४. बजेट वक्ताव्यको प्रारम्भिक मस्यौदा तयारी
२५. आर्थिक विधेयकहरूको सूचीलाई अन्तिम रूप दिने 
२६. व्यय अनुमान सम्बन्धि किताव छपाईका लागि प्रेसमा दिने 
२७. स्रोत पुस्तिका छपाई नेपाली तथा अङ्ग्रेजी
२८. संस्थानको प्रगति विवरण सार्वजनिक गर्ने 
२९. राजश्व अनुमानका अंकहरू बजेट तथा कार्यक्रम महाशाखालाई उपलिब्ध गराउने 
३०. राष्ट्रपतिलाई जानकारी गराउँदै बजेट विवरण तयार गर्ने 
३१. राष्ट्रपतिलाई ब्रिफिङ
३२. बजेट किताव छपाई सम्पन्न गर्ने खर्च शीर्षकगत विवरण, व्यव विवरणको अअनुमान तथा त्रि–वर्षीय खर्च प्रक्षेपण
३३. बजेट वक्तव्य नेपाली छपाईकालागि पठाउने
३४. आर्थिक सर्भेक्षण सार्वजनिक गर्ने
३५. विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक, आर्थिक विधेयक र पेश्की खर्च विधेयक छपाईका लागि प्रेसमा पठाउने 
३६. राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषद्मा ब्रिफिङ
३७. बजेट वक्तव्य अङ्ग्रेजी, प्रेसमा दिने
३८. व्यवस्थापिका संसद्मा बजेट वक्तव्य प्रस्तुत  
यी माथि उल्लेखित प्रक्रियाहरूलाई व्यवस्थित ढङ्गले पूरा गर्नको लागि अर्थमन्त्रालयले आपसी कार्यतालिका बनाएर काम सञ्चालन गर्ने अर्थमन्त्रालयले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ