- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गौरीघाट । बाग्मती श्री शिवजीले प्रसन्न भएर हांस्नुहुंदा निस्केको जल हो भन्ने बुढापाकाहरूको विश्वास रहेकोछ । बाग्मतीको जलपान गर्नाले, स्नान गर्नाले मानिसको बुद्धिमा विकास आउने, स्मरण शक्ति बढ्ने आदि कुराहरू प्रति वुढापाकाहरू विश्वास गर्दछन् । श्रीपशुपतिनाथ परिसरमा रहेको वासुकी गुफामा तपस्यारत श्री श्यामचैतन्य बाबा आफ्नो जीवनको झण्डै उत्तराद्र्धसम्म बाग्मतीकै पानी प्रयोग गर्नुहुन्थ्यो ।
वाग्द्वारको मुहान नजिक श्रीनारायणगिरी, रामानन्द नामभएका महात्मा पनि बस्नुभएको थियो । ढुंगाको छानो र ढुंगाकै पर्खालभएको बेग्लाबेग्लै कुटीमा उहाँहरु बस्नुभएको थियो । त्यहां एउटा धर्मशाला पनि रहेछ जसमा जुल्फे नाम गरेका लामा आफ्नो धर्मपत्नी सँगै बस्दथे ।
श्रीनारायणगिरी त्यस ठाउँ छोडेर भारतको उत्तराञ्चलको पाण्डुकेश्वरमा करीव ४ वर्षअघि तथा श्रीरामानन्दले करीव ४५ वर्ष अघि आफ्नो देह विसर्जन गर्नुभएको थियो । हाल त्यही क्षेत्रमा श्री टोड्के बाबा, ओम बाबा आदि बस्नुभएको छ ।
लगभग ४ दशक अघिसम्म वागमती किनारमा बसोबास गर्ने हामी बासिन्दाहरू आफ्नो आवश्यकता पूरा गर्दथ्यौं । हाल आएर त्यही पवित्र जलमा हात पनि हाल्न नसकिने र नदिको बायां दायां हिंड्दा नाक थुनेर हिंड्नु पर्ने स्थिति आएको सर्वसाधारणको अगाडि छर्लंग भएकैछ । बाग्मतीको सफाईको जतिसुकै प्रचार गरेपनि गुहेश्वरी, गौरीघाट क्षेत्रको वागमतीको स्थितिहेर्दा काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भन्ने उखान चरितार्थ हुन्छनै ।
शिवपुरी पर्वतः योगी महात्माहरुको तपोभूमी
वाग्मतीमा त झन् ढल मिसिएर र फोहोर फांकेर कुरुप बनाइंदैछ । वाग्मतीको जलले गुह्येश्वरी, हनुमान, गौरी शीला स्नान गराईएको तथा आर्यघाटबाट जल भरेर आराध्यदेव श्री पशुपतिनाथमा स्नान गराइने चलन रहेको त अव सबै स्मृतिमामात्र सीमित हुन गएका छन् । पुस महिनाको आइतवार त्यही वाग्मतीको जलमा स्नान गरेर सूयंघाटमा रहेको सूर्यको मूर्तिमा पूजागर्ने चलन थियो, त्यो पनि शायद लोप भएर गइसक्यो ।
कुनै कविले वाग्मतीको महत्व दर्शाइ रचना गर्नुभएको नेपालीमा स्तुति तल उल्लेख गरेकोछु ।
श्री वाग्मती भगवती नरसिंह वाणी,
हे अम्बिके जय हवस् अमृताम्बुबाहिणी ।
संसारको ताप र पापनाशिनी,
लेउ शिवे शरणमा तिमी हामीलाई ।
सद्बुद्धि देउ जननि तिमी हामीलाई,
यो जीवनि सुखमयी र चीरायु राखी,
यस्तै सुकर्म गरदै दिन यो बिताउं
आखीर यो तन पनि तिमी मै बिसाउं ।
यो प्राण पंक्षी जब जान तयार हुन्छ,
तिम्रो किनार जलको यही आश गर्छ,
स्वस्थै भयर तनमन् हरीमाथि दिंदै,
श्रीराम राम जपदै तन यो छुटोस् है ।
यस प्रकारको महत्व दर्शाइएको वाग्व्दारबाट निस्केकी वाग्मतीको स्तुतिको मर्म अनुरुप सफा सुग्घर भइदिए र अन्तिम समयको विरामीलाई मिनरल वाटरबाट पानी पिउन दिइने वर्तमान अवस्था चांडै नै समाप्त भइदिए सुनमा सुगन्ध हुने थियो भने सबैको चाहना हुनु स्वाभाविकै हुन जान्छ । (अस्तु)
(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् ।) इमेल :aamodita@gmail.com