arrow

फेरि हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिने भानुभक्तको तयारी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ माघ ११ आइतबार
bhanubhakta-dhakal-minister.jpg

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले फेरि पनि हिमालय एयरलाइन्सलाई नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिने तयारी थालेको छ । 

पर्यटन मन्त्री भानुभक्त ढकाल यसका लागि सक्रिय भएको स्रोतले बताएको छ । उनले यसको प्रक्रिया थालिसकेका छन् । हिमालय एयरलाइन्सले ग्राउन्ड ह्याण्डलिङका लागि चाहिने अत्यावश्यकीय सामग्रीहरु लिने प्रक्रियामा रहेको बताइएको छ । 

उसले बसहरु, ब्यागेज र सम्बन्धित सामग्रीहरु चीनबाट ल्याउने तयारी गरेकोसमेत बताइएको छ । हिमालय एयरलाइन्समा ६५ प्रतिशत तिब्बतियन एयरलाइन्स र ३५ प्रतिशत यति ग्रुपको सेयर रहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग यति ग्रुप नजिक रहेकै कारण यो प्रक्रिया पुनः थालिएको हो । 

यसअघि पर्यटन मन्त्री रहेका बेलामा योगेश भट्टराईले सरकारी लगानीको एकमात्र एयरलाइन्स नेपाल एयरलाइन्सलाई बेच्ने तयारी स्वरुप यो प्रक्रिया थालेका थिए । पहिलो चरणमा उनले ओलीको निर्देशनमा यति समूह र चिनियाँ समूहको लगानीको हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङ सर्भिस (भूमिस्थ सेवा) संचालनको अनुमति दिएका थिए । 

व्यापक विरोध भएपछि तत्कालीन अवस्थामा सरकार तत्कालका लागि पछि हट्न वाध्य भएको थियो । तर प्रक्रिया रद्द भएको थिएन । त्यो समयमा मन्त्री भट्टराईले स्पष्टिकरण नै दिनुपरेको थियो । राजनीतिक प्रभावमा पारेर भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सले गर्दै आएको उक्त भूमिस्थ सेवाको व्यापार खोस्दै यति समूहको हिमालय एयरलाइन्सलाई दिएका थिए । 

प्राधिकरणले गत असोज ४ गते तत्कालीन मन्त्री भट्टराईको मन्त्रिस्तरीय निर्णयबाट हिमालयलाई भूमिस्थ सेवा संचालनका लागि प्रमाणपत्र दिएको थियो । यसअघि नेपाल एयरलाइन्सले यो व्यापारबाट वार्षिक ५ अर्बसम्म कमाइ गर्ने गर्दथ्यो । अब भने यही कारणले नेपाल एयरलाइन्सलाई वार्षिक ५० करोड रुपैयाँसम्म नोक्सान हुने एयरलाइन्सका एक वरिष्ठ कर्मचारीले बताए । 

यसअघि कतार एयरवेजले पनि मागेको थियो । तर दिइएको थिएन । अहिले दिनुमा यसबाट फाइदा हुन्छ भने नेपाल एयरलाइन्स डुबे डुबोस् भनेरै निजीलाई पोस्नका लागि ठूलो खेल खेलिएको उनले बताए । 

जीर्ण अवस्थामा पुगेको नेपाल एयरलाइन्सलाई टिकाउने एकमात्र माध्यम यही ग्राउन्ड ह्यान्डलिङ सर्भिस थियो । यो पनि खोसिएसँगै अब नेपाल एयरलाइन्स टाँट पल्टिने र यही बहानामा नेपाल एयरलाइन्स नै हिमालय एयरलाइन्सलाई बेचेर एकछत्र राज गर्ने योजनामा रहेको पर्यटन क्षेत्रका जानकार स्रोतको दावी छ ।

यसमा करोडौंको खेल भएको आशंका गरिएको छ । राष्ट्रिय ध्वजावाहक निगमलाई डुबाउने खेल खेलेर तत्कालीन अवस्थामा तत्कालीन मन्त्री भट्टराईले आफ्नो करियरलाई पनि दाउमा राखेको विश्लेषण भएको थियो । अहिले भने उनले मन्त्री पदबाटै राजीनामा दिएका छन् । 

ओलीले चालेका कदमप्रति उनी असन्तुष्ट छन् । सिंगो ओली सरकारविरुद्ध प्रचण्ड–नेपाल पक्ष लागिरहँदा संघर्षसमितिका उपसंयोजक एवं प्रवक्ता योगेश भट्टराई सडकबाट संघर्ष गरिरहेको छ । 

भट्टराईलाई यतिबेला सत्यतथ्य बाहिर ल्याउन दवावसमेत परेको छ । निगमको संचालक समितिमा हिमालय एयरलाइन्स र यति एयरलाइन्समा लगानी गर्नेलाई समेत संचालक बनाइएपछि यसको चलखेल सुरु भएको थियो । 

नेपाल एयरलाइन्सले अहिले दिँदै आएको ग्राउन्ड ह्यान्डलिङ सर्भिसको सेवा आगामी जेठबाट सकिँदै छ । सोही समयमा हिमालयलाई पनि केही एयरलाइन्स कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ सर्भिस दिन पाउने गरी यो खेल खेलिएको स्रोतको दावी छ । 

यसैबीच सरकारले यति समूहलाई दोस्रो अन्तर्राष्ट्रिय उडानको लाइसेन्स दिएको छ । २०६४ सालमा यती समूहले फ्लाई यतिको नाममा पर्यटन मन्त्रालयबाट लाइसेन्स लिएको थियो । 

त्यही लाइसेन्सबाटै तिब्बती एयरलाइन्सको सहकार्यमा २०७१ सालमा हिमालय एयरलाइन्स स्थापना गरिएको थियो । हाल हिमालयले ४ वटा जहाजमार्फत १० वटा गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

यता नेपाल वायुसेवा निगम कर्मचारी संघले नेपाल वायुसेवा निगममा काल पल्केको भन्दै यसलाई बचाउन आग्रह गरेको छ । संघले निगमको गौरवमय इतिहास र संघको ऐतिहासिक पृष्ठभूमिलाई आत्मसात् गर्दै निगम रक्षार्थ सम्पूर्ण स्वाभीमानी कर्मचारी, सुभेच्छुक र समर्थकहरुलाई निगम रक्षार्थ–निगम बचाउ अभियानमा गोलबद्ध हुन अपीलसमेत गरेको छ । 

यसअघि पनि कर्मचारी संघले विरोध गरेको थियो । 

यो पनि पढ्नुहोस्–

नेपाल एयरलाइन्स हिमालय एयरलाइन्सलाई बेच्ने तयारी, पहिलो चरणमा खोसियो ग्राउन्ड ह्यान्डलिङको जिम्मा

पर्यटन मन्त्री भट्टराईको निर्देशनप्रति कर्मचारी सशंकित, हिमालयलाई जिम्मा स्थगन हो स्थगित हैन

वायुसेवा निगमका कर्मचारीले तलब पाएनन्, एयरलाइन्स डुबाउने षडयन्त्र



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ