arrow

तीनकुनेस्थित हरित सामुदायिक कृषि बजारमा माछापुच्छ्रे बैङ्कको क्युआर कोड सेवा

logo
प्रकाशित २०७७ माघ २१ बुधबार
mbl-agriculture-qr-code.jpg

काठमाडौँ। डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैङ्क लिले राजधानीको तीनकुने स्थित हरित सामुदायिक कृषि बजारमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ। बुधबार बिहान नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले तीनकुने स्थित हरित सामुदायिक कृषि बजारमा क्युआर कोडमार्फत भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन्।

उक्त क्युआर कोड सेवा सुरु भएसंगै हरित कृषि बजारमा तरकारी तथा फलफूल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैङ्कको मोबाइल बैङ्किङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल सञ्चालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन्।

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कृषि बजारमा माछापुच्छ्रे बैङ्कले सुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताउँदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने हुँदा भविष्यमा आफ्नो व्यापार व्यवसायको वृद्धिको ऋण लिन व्यवसायीलाई सहज हुने कुरा बताए। साथै उनले नेपाल राष्ट्र बैङ्क डिजिटल कारोबारलाई अझ प्रभावकारी बनाउन थप कार्यक्रमहरू ल्याउने योजनामा रहेको समेत जानकारी गराए।

उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैङ्कका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले तरकारी तथा फलफूल बजारमा सुरु गरिएको क्युआर कोड सेवाले डिजिटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्‍याउने माछापुच्छ्रे बैङ्कको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे।

त्यसैगरि सोही कार्यक्रममा बोल्दै हरित कृषि सहकारी संस्था लिका प्रमुख कार्यकारी अधिकृत कोमल बरालले माछापुच्छ्रे बैङ्कले सुरु गरेको क्युआर कोड सेवाले तरकारी तथा फलफूल व्यवसायी तथा उपभोक्तालाई डिजिटल बैंकिङ्गको पुहुच पुर्‍याउने विश्वास व्यक्त गरे।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले तरकारी किनेर क्युआर कोड मार्फत उक्त तरकारीको रकम भुक्तानी गरी क्युआर कोड सेवाको शुभारम्भ गरेका थिए।

सो बजारमा रहेका कुल १५३ तरकारी स्टलमध्ये १०० वटामा माछापुच्छ्रे बैङ्कको क्युआर कोड सेवा सुरु भइसकेको छ। स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैङ्कले मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाइन मार्फत खाता एवं मुद्दती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहक माझ ल्याइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ